मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

रासस, काठमाडाैं
पश्चिमी वायुको प्रभावले आज बिहिबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
उनका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी मेघ गर्जनसँगै जोडिएर आउने गर्छ। प्रिमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने गर्छ।
राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
यसैगरी शनिबार देशका पूर्वी भूभागमा पूर्ण बदली रहने तथा मध्य पश्चिम क्षेत्रका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। अपरान्हपछि देशका पूर्वी भूभागमा मेघ गर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहने छ।
त्यस्तै, आज सबभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ।
तपाईको प्रतिक्रिया