कुश्मामा अनलाइन घटना दर्ता सुरु

समाधान संवाददाता २०७६ जेठ ९ गते १४:१८

रामकृष्ण लामिछाने
कुश्मा

कुस्मा नगरपालिकाले नगरका सबै १४ वडामा अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । पञ्जीकरणको ‘सामाजिक सुरक्षा र व्यक्तिगत घटना व्यवस्थापन सूचना प्रणाली’ को साइटमा रहेका सूचनाहरु हेर्न पाउँछन् । अनलाइन प्रणालीमा दर्ता भएका व्यक्तिगत घटना जोकोहीले हेर्न पाउने कुश्मा नगरपालिकाका आइटी अफिसर राजीब रिमालले बताए ।

स्थानीय निकायमा गर्नुपर्ने घटना दर्तालाई सरकारले अनलाइन प्रणालीमा लाने निर्णय गरेको थियो । अनलाइन पञ्जीकरणको शुभारम्भ कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशाीले वडा नम्बर ३ दुर्लुङबाट गरेका छन् । व्यक्तिगत घटना दर्ता अनलाइनबाटै गर्न सकिने प्रविधि कुस्मा नगरमा लागु भएको छ ।

Advertisement

गाविस तथा नगरपालिकाका वडा कार्यालयको सूचना पाटीमा टाँसिएको अनलाइन दर्ता प्रणालीको आइपी ठेगानाबाटै कुनै पनि व्यक्तिले अनलाइनमा दर्ता भएका घटनाको सम्पूर्ण विवरण हेर्न सक्छन् । यो प्रणाली अन्तर्गत आफ्ना व्यक्तिगत घटना दर्ताका लागि जनताले अनलाइनबाटै आफ्ना विवरण भर्न सक्छन् । अनलाइनमा विवरण भरेपछि त्यहीँबाट टोकन लिन सकिन्छ । त्यो टोकन लिएर वडा कार्यालय पुगेपछि वडा कार्यालयले अनलाइनमा रहेको डाटाका आधारमा प्रमाणपत्र उपलब्ध गराउँछ ।

अनलाइन घटना दर्ता प्रणालीको सूचना प्रविधि हेरिरहेका महेश रिमालले यो तथ्यांक सुरक्षित र गोप्य रहने बताए । उनले सर्वसाधारणका लागि र वडा कार्यालयका लागि छुट्टाछुट्टै साइन इन गर्ने प्रविधि रहेको उनले बताए । वडा कार्यालयका अधिकारीले युजरनेम र पासवर्ड हालेपछि मोबाइलमा एउटा कोड पठाइन्छ र त्यो कोड हालेको ५ मिनेटपछि साइनइन हुन्छ ।

Advertisement

सर्वसाधारणका लागि भने आइपीबाट अटोमेटिक साइन इन गर्न सकिने सुविधा उपलब्ध छ । यस आइपी टाइप गरेर इन्टर हान्ने बित्तिकै सिस्टमले अटोमेटिक युजरनेम र पासवर्ड राख्दिन्छ र साइटमा अटो लग इन हुन्छ । लग इन भएपछि देखिने जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका सबै फारम आफैंले भर्न सकिन्छ । यसमा कुनै व्यक्तिले अनलाइनबाट घटना दर्ता गर्न त पाउँछ नै त्यसमा थप उसले अरुको डाटा सम्पादन गर्न समेत पाउँछ । जन्म, विवाह, मृत्यु, पारपाचुके वा कुनै पनि घटनाको लिस्टमा गएर डाटा हेर्न सकिन्छ ।

यो प्रविधिको सफ्टवेयरको आइटी शाखाले सबै व्यवस्थापन गर्नेछ । नगरपालिकाका प्रत्येक वडामा पञ्जीकरण विभागले सफ्टवेयरसहितको कम्प्युटर, प्रिन्टर र युपिएस निशुल्क उपलब्ध गराउनेसमेत जनाएको छ ।

तपाईको प्रतिक्रिया