बाँदर आतंक

समाधान संवाददाता २०७६ जेठ ९ गते १५:१६

बाँदरले नसताएको गाउँ देशमा कतै छैन । बस्तीबस्तीमा बाँदर आतंक मच्चिएको छ । गएको स्थानीय तह निर्वाचनमा धेरै उम्मेदवारसँग माग बाँदर धपाइदेऊ भन्ने थियो । कास्कीको रुपा गाउँपालिकाले त बाँदर लखेट्न भनेर बजेट पहिलो वर्षमै छुट्याएको थियो । पर्वतको महाशिला गाउँपालिका र रुपाले अनि धनकुटातिरका गाउँले बाँदर समातेर चितवनका राष्ट्रिय निकुञ्जतिर पनि पुर्‍याएको खबर थियो । बाँदरले खेती खाइदिएकैले धेरै जमीन बाँझो भएका छन् । स्याङ्जा गल्याङ नगरपालिका १० डुबिन्डाँडाको बस्ती बाँदर आतंक सहन नसकेर बसाइ सरेको छ ।

पोखरा महानगरपालिकाकै ग्रामीण वडाका बासिन्दा बाँदरले अति सताएका छन् । घरघरै पसेर भातसमेत बाँदरले खाइदिँदा मान्छे हैरान छन् । मान्छेसँग बाँदर डराउन छाडेको छ । मान्छे बाँदरसँग डराउनुपरेको छ । जंगलको बास छाडेर बाँदर मानव बस्ती छेउछाउ आउँदा उसलाई सजिलै आहारा मिलेको छ । बाँदर त्यसै मानव बस्ती छिरेको होइन भन्छन्, जीवजन्तु विज्ञ ।

जंगलमा खानेकुरा नभएपछि मानवबस्तीमा बाँदर पसेको उनीहरु बताउँछन् । मानवबस्तीमा आएर खानेकुरा भेट्दा बाँदरले फुर्सद धेरै पाउँदोरहेछ । फुर्सदमा यौनक्रियाकलापमा भुल्दो रहेछ । त्यसैले बाँदरको संख्या झन् बढेको छ भन्छन्, विज्ञ । चीन, जापान लगायत मुलुकमा त बाँदरको बथानमा बढ्दै यौनउन्मादमा लाग्ने भालेको नश्लबन्दी गरिँदोरहेछ ।

Advertisement

स्याङ्जाको वालिङ नगरपालिकाले भने बाँदरलाई कर्कस लाग्ने आवाज निकाल्ने मेसिन बनाएको रहेछ । ५० रुपैयाँसम्म लाग्ने त्यस्तो मेसिनको आवाजले भने मानिस र अरु प्राणाीलाई हानी नगर्ने वालिङका मेयर दिलीपप्रताप खाँण विज्ञलाई उद्धृत गर्दै बताउँछन् । यस्तो प्रविधि भारतका केही सहरमा पनि रहेछ । हेरौं यो उपायले के कति काम गर्छ ? बाँदर बाठो प्राणी हो, आखिर मान्छेको पुर्खा न प¥यो, सितिमिति कहाँ डराउँछ र ?

नयाँनयाँ चुनौती र अप्ठेरो प्रतिरोध गर्न छिट्टै सिक्छ । तै त्यो मेसिनले काम गरे जाती नै हो । तर बाँदर व्यवस्थापनको दीर्घकालीन उपाय यो हुँदै होइन । बाँदरलाई वन नै जाती हुन्छ । पछिल्लो समय बाँदरको प्राकृतिक बासस्थान ३० प्रतिशत ह्रास भएको छ । बाँदरमा शिशु मृत्युदर ८० बाट घटेर ४० प्रतिशत भएको छ । बाँदरको संख्या बढेको छ । बाँदरलाई चाहिने आहार वनमै व्यवस्था गर्नुपर्छ । उसले मन पराउने फलपूmलका बोटबिरुवा वनमा चाहिन्छ । ता कि ऊ उतै वनमा भुलोस्, मान्छेको खेतीपाती नबिथोलोस् ।

Advertisement

तपाईको प्रतिक्रिया