सुखद् समाचारः रोशनलाई आमाको नामबाट नागरिकता

समाधान संवाददाता
पोखरा ९, पृथ्वीचोक निवासी रोशन गुरुङले आमाको नामबाट नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार उनकी आमा कन्याकुमारी गुरुङको नामबाट वंशजको आधारमा नागरिकता दिलाएको हो । प्रशासकीय अधिकृत ऋषिराज आचार्यले नागरिकतामा हस्ताक्षर गरेका छन् ।
नागरिकता पाएपछि रोशनले खुसी व्यक्त गरे । ‘केही काम गर्न पाएको थिएन,’ उनले भने, ‘अब सजिलो हुने भयो ।’ १८ वर्षीय रोशन एसइईसम्म पढेका छन् । जापानी भाषा सिक्दै गरेका उनले मिलेसम्म विदेश जाने धोको रहेको सुनाए ।
आमाको नामबाट नागरिकता पाउँ भन्दै रोशनले जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाई उच्च अदालत पोखरामा २०७५ कात्तिक ३० गते रिट दायर गरेका थिए । रिट उपर उच्च अदालतले वैशाख ४ गते जिल्ला प्रशासन कार्यालय कास्कीका नाममा परमादेश जारी गरेको थियो ।
न्यायाधीशद्वय जीवनहरि अधिकारी र विनोदप्रसाद शर्माको संयुक्त इजलासले आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो । अदालतको आदेशपछि उनलाई आमाको नामबाट नागरिकता पाउन सहज बनेको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को परार्मशमा उनले अदालतको ढोका ढकढक्याएको रिटमा बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले बताए ।
बाबु बेपत्ता भएका कारण आमाको नामबाट नागरिकता पाउँ भनी गुरुङले २०७४ कात्तिक १२ गते जिप्रका कास्कीमा निवेदन दिएका थिए । प्रशासनले बाबुको नागरिकता नभएको भन्दै निवेदन फिर्ता पठाएको थियो ।
नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा कुनै पनि व्यक्ति जन्म हँुदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था छ ।
धारा १२ मा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने भनिएको छ ।
नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा १ मा कुनै व्यक्तिको जन्म हँुदा निजका बाबुआमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्थाले बाबु वा आमालाई परिभाषित गरेको छ ।
आमाको नामबाट जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकता दिएपछि ‘नागरिकता’ साथमा देखाउँदै रोशन गुरुङ । तस्बिरः ईश्वर देवकोटा








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया