सार्वजनिक सुनुवाईमा सर्वसाधारणकाे गुनासाेः जनप्रतिनिधिले नै जग्गा मिचे

समाधान संवाददाता २०७६ जेठ १० गते ११:३९

समाधान संवाददाता
पर्वत

पर्वतको जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाई तथा घुम्ती शिविर आयोजना गरिएको छ । जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिविर सञ्चालन गरिएको हो ।

कार्यक्रममा जलजला गाउँपालिकाका विकास निर्माण, गाउँ कार्यपालिकाका निर्णय र कार्यान्वयन, प्राकृतिक स्रोत साधन प्रयोगमा देखिएका समस्या, शिक्षा, स्वास्थ्य, विद्युत लगायत विषयमा सर्वसाधारणले गुनासो गरेका थिए ।

Advertisement

सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणले नगरपालिकाले पास गरेको शिक्षा ऐन बाझिएको, सार्वजनिक जग्गा मिचिएको, जनप्रतिनिधिले नै सर्वसाधारणको जग्गा कब्जा गरेको, नदीजन्य पर्दाथको अवैध उत्खनन भएको तर पालिकाले त्यसलाई बढावा दिएको, उपभोक्ता समिति गठन गर्दा फरक राजनीतिक दललाई सिफारिस नदिइएको, प्रदेशबाट आएको बजेट फिर्ता गएको, लक्षित वर्गको बजेट कार्यान्वयनमा पारदर्शिता नभएको लगायतका गुनासा गरे ।

शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र वितरण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाना नामावली संकलन, जिल्ला प्रहरी कार्यालयबाट समुदाय र प्रहरी साझेदारी कार्यक्रम, अपांग र ज्येष्ठ नागरिक परिचयपत्र वितरण, उद्योग दर्ता, कर संकलन लगायतका सुविधा दिइएको थियो ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर शर्मा पौडेलले स्थानीय तहका काम कामकारबाही प्रभावकारी बनाउन आवश्यक भएकाले पालिकाका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने काम भइरहेको सुनाए ।

नदीजन्य पर्दाथको उत्खनन र प्रयोग स्थानीय तहले तयारको गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गर्ने र अनुगमन गर्ने अधिकारमात्रै समन्वय समितिलाई भए पनि कार्यान्वयन गर्ने काम स्थानीय तहकै भएको उनले बताए । संघ र प्रदेश सरकारले जिल्लाको विकास निर्माणका लागि विगतका तुलनामा दसौं गुणा बढी बजेट पठाएको बताउँदै स्थानीय तहको बजेट पारदर्शी र प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिए ।

जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले संघीयताको मर्म अनुसार काम नभएको बताउँदै संघ र प्रदेशले स्थानीय तहको काममा अनावश्यक हस्तक्षेप भएका कारण काम गर्न कठिनाइ भएको उल्लेख गरे ।

गाउँपालिकाले सबै योजना कार्यान्वयन पारदर्शी र व्यावहारिक भएको बताउँदै कहीँ कतै गलत भएको भए अनुगमन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले उपभोक्ता समिति गठन तथा योजनाको छनोट र कार्यान्वयन गर्ने काममा कुनै भेदभाव नभएको दाबी समेत गरे ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनताको घरदैलोमा नै सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताए । उनले जनताका सेवक भएका कारण कर्मचारीले बिना भेदभाव काम गर्नुपर्ने उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले यस आर्थिक वर्ष सञ्चालन गरेका कामको प्रगति विवरण पेस गरेका थिए । सबै सडक ७ मिटर मापदण्ड कार्यान्वयनमा रहेको , शिक्षकको तलब मासिक भुक्तानी, ६ सय ४० मिटर बाटो ढलान गरिएको, प्राथमिक तहमा अंंग्रेजी माध्यममा शिक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । चालु आर्थिक वर्षमा १ सय ४२ योजनाको सम्झौता भएकोमा ७४ योजना फरफारक भएको तथा ६८ योजना कार्यान्वयनकै चरणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया