लोमान्थाङमा तिजी महोत्सव

समाधान संवाददाता २०७६ जेठ १० गते १३:२८

सुन्दरकुमार थकाली
मुस्ताङ

उपल्लो मुस्ताङको लोमान्थाङमा परम्परागत ऐतिहासिक तिजी पर्वको तयारी तीब्र पारिएको छ । लोमान्थाङ गाउँपालिकाले तिजी पर्वको अवसरमा गाउँपालिका महोत्सवको तयारी थालेको छ । पर्वको आयोजना र व्यवस्थापन लोमान्थाङको छोदे गुम्बाका लामाले गर्ने छन् ।

मेलालाई धार्मिक तथा ऐेतिहासिक पूजाका रुपमा लोक्षेत्र (लोछेदिन) अन्तर्गतका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयले संयुक्त पूजाआजा गर्ने चलन छ । तिजी पर्वको महत्व दोर्जी स्युनु अर्थात बज्राकिलायाको जीवन कथामा आधारित छ । उपल्लो मुस्ताङको लोमान्थाङमा १५ ओैं सताब्दीदेखि धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा पर्व मनाइँदै आएको छ ।

Advertisement

लोमान्थाङ ५ मा अवस्थित पूर्वराजाको दरबारमा ३ दिनसम्म देखाइने पर्वमा सबै समुदाय एकै ठाउँमा भेला हुने चलन छ । प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले उपल्लो मुस्ताङ ऐतिहासिक, धार्मिक र सांस्कृतिक राजधानी भएको उल्लेख गर्दै उपल्लो मुस्ताङको मौलिक पहिचान, संस्कृति, सभ्यता, भेषभुषा, भौगोलिक विविधता, जैविक विविधता र उत्तरी कोरलानाकाको विश्वमाझ पर्यटक प्रर्वद्धन गर्न गाउँपालिकास्तरीय महोत्सवसमेत जोडिएको जानकारी दिए ।

तिजी पर्वमा लामाबाट प्रस्तुत गरिएको देवी देवताको नृत्य अवलोकन गर्ने सर्वसाधारणले विश्वशान्तिको मनोकामना पूरा हुने, प्राकृतिक प्रकोप व्यहोर्न नपर्ने र खराब आचरण तथा समाजमा व्यप्त पाप भन्ने परंम्परा पखालिने धार्मिक विश्वास रहेको छ ।

Advertisement

३ दिनसम्म चल्ने पर्वको दोस्रो र अन्तिम दिन मुस्ताङका सास्कृतिक राजा जिग्मे पलवर बिष्ट दम्पतिले अवलोकन गर्ने छन् । उपल्लो मुस्ताङको फरक भुगोल, तिब्बतीयन कलात्मक भेषभुषा र संस्कृति नियाल्न विदेशी पर्यटकको बाक्लो उपस्थिति हुँदै आएको छ ।

यसैबीच वर्सेनि सञ्चालन हुने ऐतिहासिक तिजी पर्वको सन्दर्भ पारेर लोमान्थाङ गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले संयुक्त महोत्सवको तयारी गरेका हुन् । तिजी पर्व लोमान्थाङ बजारमा र महोत्सव लोमान्थाङ १ छोसेरको जोङ गुफामा हुनेछ ।

उपल्लो मुस्ताङको विकास र पर्यटकीय प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुशील अर्यालले जानकारी दिए । उनले महोत्सवले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष र संघीय सरकारको ट्वान्टी÷ट्वान्टीलाई सहयोग पुग्ने दावी गरे ।

पर्व दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । महोत्सव तयारीका लागि सुवर्णकुमार विष्टको अध्यक्षतामा २५ सदस्यीय समिति र विभिन्न उपसमिति गठन भएको छ । महोत्सवमा याक राइडिङ, पाहुनालाई गुफाभित्रै भोजन तथा आवासको व्यवस्था मिलाईएको छ । महोत्सवमा केभ रेस्टुरेन्ट र लज, घोडा दौड, स्थानीय भेषभुषासहितको मौलिक सांस्कृतिक झाँकी, स्थानीय खेलकुद प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरिने छ ।

महोत्सव उद्घाटन गर्न रक्षामन्त्री ईश्वर पोखरेल आउने भएका छन् । आयोजकले तिजी पर्व र महोत्सवको अवलोकन गर्न करिव २० हजार आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङ आउने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया