हिन्दु महासंघको प्रचार बिथोलिएपछि पोखरामा मोटरसाइकल र्‍याली प्रतिबन्ध

समाधान संवाददाता २०७६ जेठ १० गते १८:१४

समाधान संवाददाता

विश्व हिन्दु महासंघ नेपालले शुक्रबार निकालेको मोटर साइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । महासंघको शनिबारदेखि पोखरामा सुरु हुने साताै राष्ट्रिय महासभा (महाधिवेशन) तथा विशाल धार्मिक सभाको प्रचारका लागि शान्तिपूर्ण मोटर साइकल र्‍याली निकालिएको थियो ।

प्रहरीको अवरोधपछि चिप्लेढुंगा मानवअधिकारचोकबाट सिद्धार्थचोक हुँदै जाने र्‍याली पोखरा सभागृहमा पुगी समापन भएको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक कमल शाह नेतृत्वको प्रहरी टोलीले मोटरसाइकल र्‍यालीलाई सिद्धार्थचोक र महेन्द्रपुलतर्फ जान रोकेको थियो ।

Advertisement

मोटरसाइकल र्‍याली संयोजक अशीलकुमार शाहीले प्रहरीले अवरोध गरेपछि र्‍यालीले पोखरा महानगरको पुरै भागको परिक्रमा गर्न नपाएको बताए । विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले प्रहरी हस्तक्षेपकोे विरोधमा जिल्ला प्रशासन कार्यालय कास्कीका डेढ घन्टा धर्ना दिएको जानकारी दिए ।

उनले बिहान ९ बजेदेखि साढे १० बजेसम्म धर्नाको क्रममा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले अबदेखि कुनै पनि समूहलाई मोटर साइकल र्‍याली निकाल्न नदिने प्रतिबद्धता जनाएपछि १ बजे गर्ने भनिएको धर्नालाई स्थगित गरिएकोे बताए ।

Advertisement

गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीले हिन्दु र राजावादीलाई जुुलुस प्रदर्शन गर्न नदिने निर्णय गरेको छ । मोटरसाइकल र्‍यालीलाई किन अवरोध गरेको भन्ने बारेमा प्रहरी प्रशासनले प्रष्ट जवाफ नपाएको महासंघका जिल्ला अध्यक्ष खरालले बताए । उनले जेठको ११ र १२ गते पोखरामा हुने महाधिवेशनमा ६५ जिल्लाका ७ सय प्रतिनिधिले भाग लिने जानकारी दिए ।

महाधिवेशनको सन्दर्भका शनिबार चिप्लेढुंगाबाट पोखरा सभागृहसम्म धार्मिक शोभायात्रा निकालिनेछ । विशाल धार्मिक सभालाई सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती लगायतले सम्बोधन गर्ने अध्यक्ष खरालले बताए ।

तपाईको प्रतिक्रिया