दुर्लभ रक्तदाता समिति गठन

समाधान संवाददाता २०७६ जेठ १२ गते ११:४६

समाधान संवाददाता, पोखरा

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा पोखराले दुर्लभ मानिएका नेगेटिभ रक्त समूह भएकाको भेला गरेको छ । रक्तदाता भेलासँगै छलफल गरिएको कार्यक्रममा नेगेटिभ ब्लड ग्रुप भएका संगठितसमेत भएका छन् । ‘रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस्, ज्यान जोगियोस्, आपत् परेकाले नयाँ जीवनको अनुभूति गर्न पाउन’ भन्ने अभिप्रायले शनिबार नेगेटिभ रक्त समूह भएकाबीच भेला गरिएको समूहले जनाएको छ ।

भेलाबाट दुर्लभ रक्तदाताको ७ सदस्यीय समिति गठन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका यमुना केसी सदस्य सचिव रहेको समितिमा ए नेगेटिभ रक्त समूह भएकाबाट सागर पौडेल, बी नेगेटिभ रक्त समूह भएकाबाट नेत्र ढकाल, ओ नेगेटिभ रक्त समूह भएकाबाट उमेश शाह, एबी नेगेटिभ समूहबाट श्रीधर आचार्यलाई चयन गरिएको छ । यस्तै दाह्री ग्याङबाट वीरेन्द्र पराजुली र उपशाखाकोतर्फबाट नेपाल रेडक्रस सोसाइटी उपशाखा ३२ का सभापति किसान परियार रहेका छन् ।

Advertisement

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति दण्डराज पौडेलले दुर्लभ रक्तदाताको समिति गठन भएकोमा खुसी व्यक्त गरे । उनले रक्तदान हुन नसके जीवन बचाउन संभव नभएको भन्दै समितिले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भेलामा उपसभापति कृष्ण तिमिल्सिना, क्षेत्रीय रक्त सञ्चार सेवाका प्रमुख ध्रुवमणि लामिछाने, दुर्लभ रक्त समूहका कृष्णबहादुर क्षेत्री, रक्त सञ्चार सेवाका प्राविधिक प्रमुख अर्जुन ज्ञवाली, पत्रकार आरजू विष्ट सल्यानी, आकस्मिक रक्तदान युनिटका नेत्र ढकाल, रेडक्रस पोखरा ३२ का उपशाखा सभापति किसान परियार, ६५ औं पटक रक्तदान गरेका जितेन्द्रमान शाक्य लगायतले बोलेका थिए ।

Advertisement

५६ जना नेगेटिभ र दुर्लभ रक्त समूह भएका ७८ जना रक्तदाता सहभागि कार्यक्रममा समाजमा छरिएर रहेका दुर्लभ रक्त समूह भएका रक्तदाताहरु एउटा समितिमा आएर काम गर्दा प्रभावकारी हुने उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया