उपल्लाे मुस्ताङकाे चराङमा आँखा शिविर

समाधान संवाददाता २०७६ जेठ १२ गते ११:५१

समाधान संवाददाता, जोमसोम

उपल्लो मुस्ताङको चराङमा बृहत आँखा शिविर भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको आयोजना तथा तिलगगा आँखा प्रतिष्ठान केन्द्र काठमाडौंको सहयोगमा शुक्रबार आँखा शिविर सञ्चालन भएको हो । शिविरमा १ सय ९३ जना बिरामीले स्वास्थ्य लाभ लिएका छन् ।

शिविरमा २२ जनाको आँखाको शल्यक्रिया भएको छ । लोमान्थाङ गाउँपालिकालाई समेत पायक पर्ने गरी शिविर सञ्चालन गरेको लो—घेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

Advertisement

उनका अनुसार शिविरका लागि आउने चिकित्सकसहितको टोलीलाई यातायात खर्च, आवास खर्च र अन्य व्यवस्थापनमा सहयोग पुर्‍याएको अध्यक्ष बिष्टले बताए । गाउँपालिकाले दुरदराजका गाउँबाट आउने बिरामीको सुविधाका लागि खानपान तथा आवासको प्रबन्धसमेत गरेको बिष्टले बताए ।

गाउँपालिका अध्यक्ष बिष्टले घरदैलोमै गुणस्तरीय शिक्षा र स्वास्थ्य भन्ने उद्घोषसहित गाउपालिकाकै आर्थिक स्रोतमा आखा शिविर भएको उल्लेख गरे । उनका अनुसार शिविरमा लोमान्थाङ गापाको करिब ९ वटा र लो–घेकर गापाको करिब ११ वटा गाउँका बासिन्दाले स्वास्थ्य लाभ लिएका छन् । शिविर व्यवस्थापनमा चराङ आमा समूहकी अध्यक्ष माया बिष्ट र बुद्धशान्ति युवा क्लबका अध्यक्ष टसीधावा गुरुङको अगुवाइमा आमा समूह र क्लबका सदस्यले स्वयंसेवा गरेका थिए ।

Advertisement

तिलगगा आँखा प्रतिष्ठान केन्द्र काठमाडौंले बर्सेनि मुस्ताङमा यसप्रकारको स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । यसपालि प्रतिष्ठानकी कार्यकारी अधिकृत एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रीता गुरुङसहित ५ जनाको चिकित्सक टोली मुस्ताङ आएको हो । निःशुल्क आँखा जाँच, शल्यक्रिया र औषधिको व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ ।

यसअघि मुस्ताङ सदरमुकाम जोमसोम अस्पतालमा भएको आँखा शिविरमा ४सय ९८ जना ओपिडी जाँच र ३० जनाको शल्यक्रिया भएको जोमसोम सामुदायिक आँखा केन्द्रकी संयोजक रुमिला नेपालीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया