विश्व हिन्दु महासंघको महाधिवेशन सुरु

समाधान संवाददाता २०७६ जेठ १२ गते १२:०५

समाधान संवाददाता
पोखरा

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शानका साथ र सभ्य भएर बाँच्न सिकाउने हिन्दु धर्म सबै भन्दा पुरानो धर्म भएको बताएकी छन् । उनले हिन्दु धर्मले सबै धर्माबलम्बीहरुलाई समेटेको उल्लेख गरिन् ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको सातौं राष्ट्रिय महासभा (महाधिवेशन) तथा विशाल धार्मिक सभाको शनिबार उद्घाटन गर्दै कार्कीले हिन्दु धर्म समयसापेक्ष युग सुहाँउदो र विज्ञानसम्मत धर्म भएको दाबी गरिन् ।

Advertisement

‘सही आचरणमा रहनु र आदर्श जीवनको पालना गर्नु नै धर्म हो,’ उनले भनिन्, ‘नेपाल विश्वका विद्धानहरु वैदिक धर्मसास्त्र वेद उपनिषदको अध्ययन अनुसन्धान गर्न आउने मुलुक भएकोले धर्मको रक्षा गर्नु जरुरी छ ।’ परापूर्वकालदेखि नेपाल सनातन हिन्दु राष्ट्र भएको उल्लेख गर्दै उनले देवहरुको देव महादेवको वासास्थान रहेको देश नेपाल भएको बताइन् ।

लुम्बिनी गौतम बुद्धको जन्म भएको चर्चा गर्दै उनले नेपालमा सनातन हिन्दु र बुद्ध धर्म परम्परागत रुपमा मानिदै आएको उल्लेख गरिन् । उनले ८० प्रतिशत हिन्दु भएको नेपालमा महिला र बाल बालिकामाथि हत्या र हिंसाका घटना बढ्नु चिन्ताको विषय भएको धारणा राखिन् । मन्दिर, मुर्ति बनाउने र पूजा पाठमा गर्नु मात्र धर्म नभएको दाबी गर्दै उनले धर्म पैसा खर्च गरेर पाउने विषय नभएको उल्लेख गरिन् । उनले ऋषि मुनिले अन्याय अत्याचार पाप नगर्नु भने पनि पछिल्लो समयमा भइरहेको बताइन् ।

Advertisement

समाजलाई सभ्य र समुन्नत बनाउन पर्ने केही समय यता हाम्रो समाज गलत बाटो तर्फ गइरहेको दाबी गर्दै उनले परम्परा, धर्म, संस्कृति र मान्यतामा विचलन आएको उल्लेख गरिन् । उनले भौतारिएका युवाहरुलाई संस्कार संस्कृतिको बारेमा प्रशिक्षित गरेर सही दिशा निर्देश गर्नु पर्ने सुझाव दिइन् ।

पूर्व सभामुख तारानाथ रानाभाटले नेपाललाई हिन्दु राष्ट्र पुनस्थापनाको लागि जिल्लातहमा सचेतना अभियान चलाउन विश्व हिन्दु महासघंलाई सुझाव दिए । धर्म निरपेक्षताको घोषणाले नेपालको सार्वभौम सत्ता र अखण्डतामाथि प्रहार भएको दाबी गर्दै उनले जनतालाई नजगाएसम्म नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न नसकिने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनले जनताले चाहे धर्म निरपेक्षतालाई सापेक्षतामा रुपान्तरण गर्न सकिने दाबी गरे । उनले हिन्दु धर्म निश्चित जातले मान्ने धर्म नभएर राष्ट्रको पहिचान, प्रतिष्ठा र जनताको एकतासँग जोडिएको सवाल भएको धारणा राखे । आफूले धर्मको महलमा किराँत लेखे पनि हिन्दु राष्ट्र कायम गर्न लागि परेको उल्लेख गर्दै उनले धार्मिक द्वन्द्व बढाउन धर्म परिवर्तन गराउने लगायतका कार्य भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले २०६३ जेठ ४ गते सांसदलाई वितरण गरेको दस्तावेजमा धर्म निरपेक्षता नलेखिएको भए पनि एकाएक षढ्यन्त्रपूर्वक त्यस्तो घोषणा गरिएको जानकारी दिए ।

धार्मिक सभामा जगत्गुरु बाल सन्त मोहनशरण देवाचार्य, नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, डा. चिन्तामणि योगी, रामानन्द सरस्वती, पत्रकार देवप्रकाश त्रिपाठी, विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारी, महासचिव भरतराज पौडेल, कास्कीका अध्यक्ष शंकर खराल लगायतले बोलेका थिए ।

२ दिनसम्म चल्ने महाधिवेशनमा ६५ जिल्लाका ७ सय प्रतिनिधिले भाग लिएका छन् । महाधिवशनको उद्घाटन समारोह सुरु हुनु भन्दा अगाडि चिप्लेढुंगाबाट पोखरा सभागृहसम्म धार्मिक शोभायात्रा निकालिएको थियो ।

तपाईको प्रतिक्रिया