‘गैसस महासंघ नागरिकको प्रतिनिधिमूलक संस्था’

समाधान संवाददाता २०७६ जेठ १२ गते १२:३०

समाधान संवाददाता, जोमसोम

गैर सरकारी महासंघ नेपालका अध्यक्ष जीतराम लामाले गैससहरु नागरिक समुदायको प्रतिनिधिमूलक संस्था भएको बताएका छन् । नागरिकको पहुँच सवल नभएसम्म नेपाली समाज अग्रगामी दिशातर्फ अघि नबढ्ने दाबी उनले गरे ।

महासंघको आयोजना तथा मुस्ताङ शाखाको समन्वयमा शनिबार भएको ‘नेपालमा नागरिक संस्थाहरुका लागि सबल वातावरण निर्माण’ सम्बन्धी आचार संहिता समीक्षा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष लामाले यस्तो बताएका हुन् ।

Advertisement

सरकारले गर्ने गरेका पूर्वाधार विकास निर्माण तथा जनसरोकारका पक्षमा गैसस महासंघले समन्वयात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष लामाले गैसस महासंघ पारदर्शिता, व्यवस्थित र संस्थागत मूल्य मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले गैससले ३ तहका सरकारसँग मिलेर कार्य सम्पादन गर्नुपर्ने सुझाए ।

अध्यक्ष लामाले सरकारका राम्रा कामको प्रचार–प्रसार र नराम्रा कामको टिप्पणी गरेर जवाफदेही बनाउने समानान्तर सरकार महासंघ भएको दाबी गरे । संस्थाका महासचिव राम सुवेदीले गैसस महासंघ सरकारले गरेका कामहरुको प्रोत्साहन र निगरानी गर्ने महासंघ छायाँ सरकार भएको बताए । उनले निजी क्षेत्रबाट सञ्ञ्चालित संघसंस्था सबल नभएसम्म समाजमा सुशासन कायम नहुने विचार राखे ।

Advertisement

जिल्ला समन्वय समितिकी प्रमुख छिरिङल्हामो गुरुङले समाज र राष्ट्रलाई अग्रगामी दिशातर्फ उन्मुख गराउन गैसस महासंघको भूमिका महत्वपूर्ण हुने बताए । घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले गैससका हकअघिकारको सुनिश्चिता र क्षमता अभिवृद्धिका लागि महासंघ केन्द्रले अग्रसरता देखाउनुपर्ने खाँचो औंल्याइन् । उपाध्यक्ष गुरुङले मुस्ताङमा विकास र समृद्धिका गैससले प्रशंसनीय कार्य गर्दै आइरहेको उल्लेख गरिन् ।

गैसस केन्द्रीय उपमहासचिव अर्जुन भट्टराईले महासंघमा ६ हजार ३ सय ५० संघसंस्था आवद्ध रहेको जानकारी दिए । गैसस महासंघ २०४८ सालमा गठन भएको हो भने मुस्ताङमा २०६१ सालमा शाखा गठन भएको हो । शाखाकी अध्यक्ष दुर्गादेवी रसाइलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शाखाका सचिव पेमाछेतेन विकले गरेका थिए ।

तपाईको प्रतिक्रिया