मापदण्ड नपुगेका क्रसर साउनबाट बन्द हुने

समाधान संवाददाता २०७६ जेठ १२ गते १३:०५

कृष्ण न्यौपाने
दमौली

मापदण्ड नपुगी सञ्चालन गरिएका जिल्लाका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति तनहुँको निर्णय अनुसार मापदण्ड नपुर्‍याउने तथा नपुगेका उद्योगसाउन १ गतेदेखि पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

समिति अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा सञ्चालित क्रसर उद्योगको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट अनुगमन गरी विवरण तयार गर्न र मापदण्ड नपुगेका उद्योगलाई पत्राचार गरी आगामी असार मसान्तसम्म मापदण्ड पूरा गर्न आग्रह गरिएको जानकारी दिए ।

Advertisement

मापदण्ड पूरा गर्नका लागि सम्बन्धित स्थानीय तहको सहमतिमा स्थानान्तरण गर्नका लागि पत्राचार गरिएको छ । उनले भने, ‘मापदण्ड पूरा गर्नका लागि असार मसान्तसम्मको समय दिएका छाैं, उक्त अवधिसम्म मापदण्ड पूरा नगरे पूर्ण रुपमा बन्द गर्ने छौं ।’

गण्डकी प्रदेश सरकारबाट जारी भएको ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ को सम्बन्धमा जिल्लाका क्रसर उद्योग व्यवसायीलाई अनुगमन समितिले २०७५ माघ २५ गते मापदण्ड पूरा गर्न आग्रह गरेको थियो । छलफलमा व्यवसायीले ३ महिनाभित्र मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले वैशाख उद्योगको गुणस्तर कायम गर्दै विद्यमान कानुनी व्यवस्थाको परिपालना सम्बन्धमा प्रभावकारी रुपमा अनुगमन तथा नियमनको लागि निर्देशन दिएको थियो । जिल्ला समन्वय समिति तनहुँका सूचना अधिकारी अनिल खनाल नियमानुसार उद्योग दर्ता नगरी तथा निर्धारित मापदण्ड पूरा नगरी सञ्चालन तयारी भएका वा हुन सक्ने क्रसर उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र सम्बन्धित स्थानीय तहले सञ्चालनमा रोक लगाउन सबै पालिकालाई निर्देशन दिइएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीमा दर्ता भई ११ वटा क्रसर उद्योग जिल्लामा सञ्चालित छ । जिल्ला समन्वय समितिमा भने १५ वटा क्रसर उद्योगले विवरण बुझाएका छन् । ‘४ वटा उद्योग कम्पनीमा दर्ता गरी बिनाअनुमति सञ्चालन भइरहेको पाइएको छ,’ खनालले भने ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभित्र ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन, क्रसिङ र विक्री वितरण, क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि बनाएको छ । कार्यविधि अनुसार नयाँ क्रसर र सञ्चालनमा आइसकेका क्रसर उद्योगले १० बुँदे मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

कार्यविधि अनुसार क्रसर उद्योग नदी, खोला वर्षातमा बग्ने सीमा किनारभन्दा ५ सय मिटरभित्र सञ्चालन र स्थापना गर्न पाइँदैन । कार्यविधिको अनुसूची ४ मा क्रसरको मापदण्ड तोकिएको छ । अनुसूची अनुसार तालतलैया र ऐतिहासिक धार्मिक महत्वका पोखरी तथा घाटक्षेत्रको १ हजार ५ सय मिटरभित्र पनि क्रसर चलाउन मिल्दैन । हाइटेन्सन लाइनको ५ सय मिटरभित्र, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक र पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायको २ किलोमिटर क्षेत्रभित्र क्रसर सञ्चालन गर्न नपाइने कार्यविधिमा उल्लेख गरिएको छ ।

राष्ट्रिय वन, निकुञ्ज, आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षण तथा चुरे क्षेत्र र अन्य संवेदनशील क्षेत्रबाट उत्खनन् गर्दा डोजर, स्काभेटर, लोडर प्रयोग गर्न नपाइने र अन्य क्षेत्रको हकमा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांन प्रतिवेदनमा तोकिएका उपकरणमात्र प्रयोग गर्न पाइने व्यवस्था छ ।

पक्की एवं झोलुंगे पुल र राजमार्ग क्षेत्रमा ५ सय मिटर तथा अन्तर्राष्ट्रिय सीमानाको १ किमी क्षेत्रभित्र पनि क्रसर खोल्न नपाइने मापदण्ड छ । प्रदेश सरकारले बनाएको कार्यविधि प्रदेशका सबै जिल्ला समन्वय समिति र स्थानीय तहमा पठाइसकिएको छ ।

तपाईको प्रतिक्रिया