तिर्खा २५ गतेसम्म मञ्चन हुने

समाधान संवाददाता २०७६ जेठ १२ गते १३:१५

समाधान संवाददाता
पोखरा

पोखरामा नाटक तीर्खा मञ्चन जारी छ । पोखरा थियटरको सातौं प्रस्तुति तीर्खा जेठ २५ गतेसम्म पोखरा थियटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । बिहीबारबाट मञ्चन सुरु भएको हो ।

नाटक ‘तीर्खा’ सन १९२४ मा न्यु ईंगल्यान्डको ग्रामीण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । मातृत्व अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ ।

झण्डै शताब्दीअघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरले जनाए । यो नाटकको परिकल्पनासमेत चे शंकरले गरेका हुन् ।

नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ ।

नाटक अमेरिकी नाटककार युजिन ओनिलले लेखेका हुन् । उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टी आदि नाटक लेखेका छन् ।

नाटक ‘तीर्खा’ १६ वर्षभन्दा माथिको उमेरलाई मात्र देखाइने थियटरले जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतिले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जनाए । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सोको रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने थियटर अध्यक्ष परिवर्तनले जनाए ।

तपाईको प्रतिक्रिया