घरपझोङका बालविकास शिक्षिकालाई मन्टेश्वरी तालिम

समाधान संवाददाता २०७६ जेठ १२ गते १५:२९

सुन्दरकुमार थकाली
मुस्ताङ

मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा मन्टेश्वरी तालिम सुरु भएको छ ।गाउपालिकाको ५ वटै वडा समेट्नेगरी बिभिन्न बालविकास केन्द्रमा पढाउने शिक्षिकालाई मन्टेश्वरी संम्वन्धि पहिलोपल्ट तालिम आयोजना भएको हो ।

बालविकास केन्द्रमा पढ्ने स–साना बालवालिकाको शिकाई उपलब्ध सहज बनाउने उद्देश्यले घरपझोङ गाउँपालिकाले स्थानीय स्तरमा मन्टेश्वरी तालिमको आयोजना गरेको हो । यसका लागि ओम बिकास तथा देउकुमारी स्मृति प्रतिष्ठान तथा फुलबारी मन्टेश्वरी कटेज एण्ड प्रि–एन बेसिकले प्राविधिक सहयोग गरेका छन् ।

Advertisement

बालवालिकालाई समय सापेक्षिक गुणस्तरीय शिक्षा दिलाउन घरबाहेक पहिलो पाठशालाको रुपमा बालविकास केन्द्रलाई लिईन्छ । २ वर्ष देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई शिक्षा प्रदान गर्नु पनि उक्तिकै कठिनाई रहन्छ । काँचो माटो भनिने भर्खरै सिक्ने उमेर भएका बालबालिकालाई सही आकार ,स्पष्ट बुझ्ने र सहज सिकाईका लागि स्थानीय स्तरका शिक्षिकालाई मन्टेश्वरी शिक्षा उपलब्ध गराईन लागिएको हो ।

मन्टेश्वरी तालिमको प्रशिक्षकका लागि मुस्ताङ आउनेमा बिगत १९ वर्ष देखि प्रशिक्षक तथा बालबालिका शिक्षिका रुपमा अनवरत काम गर्दै आईरहेकी मेडिट मन्टेश्वरी शिक्षक तालिम ईन्टिच्युट नदीपुरकी संस्थापक अध्यक्ष एवं प्रशिक्षक अरुणा शेरचन र फुलबारी मन्टेश्वरी कटेज एण्ड प्रि–एन बेसिक नदीपुर मन्टेश्वरीकी प्रिन्सिपल एवं सहायक प्रशिक्षक महिमा प्रिती शेरचन छन् । सहायक प्रशिक्षक शेरचनले यू।के।मा २ वर्षको मन्टेश्वरी कोर्ष पुरा गरिसकेकी छिन् ।

Advertisement

३ दिन सम्म संञ्चालन हुने तालिममा गाउँपालिका भित्रका १२ वटा बालविकास केन्द्रको सहभागिता रहेको छ । यसअघि मन्टेश्वरी तालिमको औचित्य माथि प्रकाश पार्दै ओम विकास तथा देउकुमारी फाउन्डेसनकी संस्थापक अध्यक्ष सवि गौचन शेरचनले बालबालिकाहरुको प्रारम्भिक शिक्षाका लागि शिकाई अभ्यास सहज गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको बताईन् ।

उनले २ वर्ष देखि ६ वर्ष सम्मका बालबालिकालाई कसरी अध्यापन गराउने भन्ने विषयमा प्रशिक्षक मार्फत जानकारी दिलाईने जनाईन् । यस्तै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले बालशिक्षा मैत्री बनाउन यसप्रकारको तालिम फलदायी रहने बताए ।

गाउपालिकाले बालबालिकाको शिक्षामा जोड दिएर तालिम संञ्चालन हुनु राम्रो संकेत भएको उल्लेख गर्दै उनले आगमी दिनमा अन्य स्थानीय तहमा पनि यसप्रकारको तालिम अवसर जुटाएर बालविकास केन्द्रको शिक्षालाई प्रभावकारी तुल्याउनु पर्ने सुझाए ।मन्टेश्वरी तालिमको संञ्चालन यूवा तथा खेलकुद शाखा प्रमुख हेमलाल शर्माले गरेका थिए ।

गाउपालिकाद्धारा आयोजित मन्टेश्वरी तालिममा सहभागी प्रत्येक बालविकास केन्द्रका बिद्यालयलाई प्राविधिक सहयोगकर्ताले शैक्षिक पठन पाठनमा आवश्यक पर्ने ५ हजार मुल्य बराबरको शैक्षिक सामाग्री प्रदान गर्ने ओम बिकास तथा देउकुमारी फाउन्डेसनकी अध्यक्ष सबी गौचनले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया