मर्यादित महिनावारी आजको आवश्यकता

क्षेत्रकुमारी केसी
संयुक्त राष्ट्रसंघको महासभामा सन् १९४८ मा गरिएका महिला विरुद्ध हुने सबै खाले भेदभाव विरुद्धको महासन्धिमा विश्वका धेरै राष्ट्रले हस्ताक्षर गरिसकेका छन् । ती राष्ट्रमध्ये नेपाल पनि हस्ताक्षर गरी सबै खाले भेदभाव हटाउनेमध्ये १ हुँदाहुँदै पनि नेपालमा महिलाका लागि बोक्सी र महिनावारी सम्बन्धित रुढी अझैं पनि कायमै छ ।
महिनावारी पुरुष र महिलाबीचको भिन्नता छुट्याउने एउटा प्रमुख कडी हो । एउटी महिला आफ्नो सफल जीवनयापनका लागि आफ्नो जीवनकालमा ३०–४० वर्ष महिनावारी भइ जीवन व्यतीत गरिरहेकी हुन्छिन् । यस्तो महत्वपूर्ण विषयवस्तु हुँदाहुँदै पनि संसारका धरै ठाउँमा महिनावारीलाई त्यति महत्व दिइएको छैन ।
युरोपियन लगायत विकसित मुलुकमा महिनावारीको आधारभूत आवश्यकताको बारेमा सचेतना भइसकेको भएर होला महिला कर्मचारी र किशोरी अफिस÷स्कुलमा नआउँदा त्यहाँका सरोकारवाला बौद्धिक सर्कलमा महिनावारीको बहस चलेकै हुन्छ । नेपाली मिडियामा विकसित मुलुकमा महिलालाई ३ दिन महिनावारी बिदा दिने विषयमा समयसमयमा छलफल चलाइन्छ ।
तर पनि विश्वका ५ राष्ट्र– इन्डोनेसिया, ताइवान, जापान, दक्षिण कोरिया र भारत (थोम्सन रिउटर फाउन्डेसन) ले क्रमश १ देखि २ दिन महिनावारी बिदा दिइएको पाइन्छ । महिनावारी बिदा लिनु कत्तिको न्यायोचित छ, यो कुरा पनि ती बिदा पाउने देशका महिलाको भोगाइमा आधारित हुन्छ । कतिपय देशमा यस बिदालाई फरक नजरले हेर्दै महिला कामदारले महिनावारी बिदा नै नलिएका उदाहरण पनि भेटाइएका छन् ।
नेपालको परिप्रेक्षमा भने महिनावारीलाई असाध्यै तल्लो स्तरबाट हेर्ने गरिन्छ । यहाँ चलिआएका सामाजिक, धार्मिक, पारम्परिक रुढीहरूले गर्दा महिनावारी समस्या मर्यादित नभएको अवस्था छ । मानिस जन्मेदेखि मृत्युसम्म समाजपिच्छे गरेर ४५ भन्दा बढी सामाजिक रुढीहरू महिनावारीको बेलामा नेपाली महिलाले सामना गर्नुपर्छ । नेपाल प्रजनन स्याहार केन्द्रको तथ्यांक अनुसार दैनिक झन्डै ३ लाख महिला र किशोरी महिनावारी हुन्छन् ।
ती सबै महिनावारी भएका जनले कुनै न कुनै सामाजिक रुढीहरू र अत्यन्त नरकीय जीवनशैली छाउगोठमा बिताउन बाध्य हुन्छन् । फलस्वरूप कुपोषण, प्रजनन समस्या, मानसिक तनाव, डिप्रेसन, आत्महत्या र छाउगोठबाट हुने दुर्घटना जस्ता समस्याबाट ग्रस्त भइ आफ्नो पढाइ र दैनिकीसमेत छोडेका घटना धेरै भेटिन्छन् ।
हाम्रो समाजको ढाँचामा एउटी बच्चा तोते बोलीबाट प्रस्ट बोलीमा प्रवेश गर्नासाथ उसलाई महिनावारीमा बार्ने रुढी बारेमा सिकाइन्छ । अब उसलाई डर, लाज र पीडा हुन थाल्छ । छाउको अज्ञात ठाउँको भयले बालापनको मानसिकतामा परेको नकारात्मक प्रभावले आफ्नो चौतर्फी समग्र विकासका लागि अवरोध भएको महसुस गर्छे ।
महिलाले छाउगोठ र सामाजिक रुढी साथै अर्को अझ फरक ढंगले महिनावारीको पीडा भोग्नु परेको छ । नेपालमा बनेका भौतिक संरचना र सम्बन्धित निकायले सरकारी वा गैरसरकारी कार्यालयमा महिलामैत्री शौचालय निर्माण गरेका छैनन् । अझैं पनि कति अफिसमा साझा शौचालय र अपुग शौचालय छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार महिला शौचालय पुरुषका लागि भन्दा डबल हुनुपर्छ ।
धेरै महिला कर्मचारी र छात्रा धेरै भएको संस्थामा शौचालय अपुग छन् भने अर्कोतर्फ शौचालयमा प्रशस्त पानी, हात धुने साबुन र महिनावारी व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको हुँदैन । अझ स्कुल र कलेजमा स्यानेटरी प्याडको समेत व्यवस्था नभएको हुँदा धेरै किशोरी आफ्नो पढाइ र परीक्षा छोड्न बाध्य हुन्छन् । न ती छात्राले महिनावारी भयो भनेर खुलेर भन्न सक्छन्, न त आवश्यक सामग्रीको आफै जोहो गर्न सक्छन् ।
फलस्वरूप २–३ दिनसम्म आफ्नो पठनपाठन नै छोड्न बाध्य हुन्छन् । समाजले सजिलै मर्यादित महिनावारीलाई स्वीकार गरेकै छैन । अझैं पनि पसलेले स्यानेटरी प्याड दिँदा पेपरले बेरी लुकाएर दिन्छन् । यस्तो संकुचित विचार बोकेको समाजका किशोरीको भविष्यको बारेमा सोच्ने र उनीहरूमा पर्ने शारीरिक र मानसिक असरबाट हुने दुर्घटनाबाट जोगाउनु हाम्रो दायित्व हुन्छ ।
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस ‘मे २८’ ले पनि सुरुबाटै मर्यादित महिनावारीको बारेमा कार्यक्रम र बहस चलाइरहेको छ । यो दिवस मनाउनुको इतिहास छुट्टै प्रकारको छ । यो दिवसको बारेमा सुरुआत गराउनुपर्ने महिला र स्वास्थ्यअन्तर्गतका सम्बन्धित निकायले हो । तर जर्मनीको खानेपानी तथा सरसफाइमा काम गर्ने संस्था ‘वास’ ले सन् २०१४ मे २८ गतेका दिनबाट महिनावारी स्वच्छता दिवस भनी मनाउन सुरु गर्यो ।
हालसम्म विश्वका १ सयभन्दा बढी देशले यो दिवस मनाउँछन् । नेपालले भने यसलाई सन् २०१७ बाट मनाउन सुरु गर्यो । यस वर्षको नारा ‘इट इज टाइम फर एक्सन’ हो । नारा जेसुकै भएतापनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको बारेमा नेपालका महिलावादी अभियन्ता, राजनीतिज्ञ, महिला कर्मचारी, पत्रकार र अधिकारकर्मीलाई थाहा भए जस्तो देखिँदैन । महिनावारी नै महिलाको चौतर्फी विकासको बाधक हो भन्ने अनुभूति भएको भए यसका बारेमा गम्भीर बहस र छलफल हुन्थ्यो । तर यहाँ यसको बारेमा स्वयं महिला नै संवेदनशील देखिँदैनन् ।
तैपनि नेपालजस्तो विकासोन्मुख राष्ट्रले अन्य विकसित राष्ट्रले प्रदान गरेको सुविधा दिन नसके पनि कम्तीमा महिनावारीमा चाहिने न्यूनतम आवश्यकताको पूर्ति गर्नसके मर्यादित महिनावारीलाई टेवा पुग्न सक्ने अनुमान गर्न सकिन्छ । चीन, जापान र दक्षिण कोरियामा जस्तै गरी हरेक क्षेत्रमा महिलालाई सशक्त बनाउनसके देश समृद्धितर्फ अगाडि लम्कन्छ । तर २१ औं शताब्दीमा आइपुग्दासम्म महिलालाई यस्तै सामाजिक रुढीमा अल्झाई राख्दा यसले महिला आफैं, परिवार, समाज र देश विकास, शान्ति सुव्यवस्था, मानव अधिकार, रोजगार, सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सरसफाई र वातावरणमा समेत दीर्घकालीन असर पर्न सक्छ । यसबाट देशलाई जोगाउन हामी महिलाले नै आफ्नो पीडा र समस्यालाई उजागर गर्दै समाधानको बाटो खोज्नुपर्छ ।
हामी महिलाले नै अमेरिकाबाट सुरु भएको ह्यासट्याग ‘मिटु’ (म पनि पीडित हुँ) है भन्ने अभियान जस्तै समाजका हरेक महिलामा चेतना वृद्धि गर्दै निकाल्न सकियो भने मर्यादित महिनावारीको वातावरण बन्न सक्छ । यसरी मर्यादित महिनावारीको पूर्ण व्यवस्थापन गर्नसके कुपोषण, रक्तअल्पता, प्रजनन् समस्या र मानसिक समस्याबाट छुटकारा पाउनुका साथै वातावरणमैत्री समाज स्थापना गरी दीगो विकासको लक्ष्य पूरा गर्न सकिएला । यसका लागि मर्यादित महिनावारीको वातावरण सिर्जना गर्न व्यक्ति, समाज र राज्यबाट पहल होस् ।
केसी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ अधिकृत हुन् ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया