बेगनास फिस फेस्टिबल आजदेखि

समाधान संवाददाता २०७६ जेठ १३ गते ९:०७

स्मीता अधिकारी, लेखनाथ

बेगनास तालको पर्यटन प्रवद्र्धनका लागि यस वर्षको फिस फेस्टिबल सोमबारदेखि सुरु हुँदै छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले ५ वर्ष अघिदेखि हरेक वर्ष फिस फेस्टिबल आयोजना गरेको छ । फेस्टिबलको पाँचौं संस्करण सोमबारदेखि जेठ २० गतेसम्म सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशको दोस्रो ठूलो ताल तथा महत्वपूर्ण सिमसार क्षेत्र बेगनास ताललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने स्थानीय अभियान अन्तर्गत यो महोत्सव गरिएको हो । महोत्सवले बेगनास तालमा भएका पर्यटन पूर्वाधार, कृषि उत्पादन, जैविक विविधता, स्थानीय माछा लगायतका सबै प्रकारका स्रोत साधनको उचित उपयोग र यहाँको पर्यटनलाई आर्थिक हिसाबले उत्पादनमूलक बनाउने अपेक्षा आयोजकको छ ।

Advertisement

माछा महोत्सवमा यो विगतका तुलनामा तेब्बर बढी स्टल तथा नौला कार्यक्रम राखिएका छन् । महोत्सवमा करिब ७० प्रतिशत स्टल स्थानीय कृषि उत्पादन तथा व्यापारसँग सम्बन्धित रहने छन् । बेगनास तालमा पाइने प्राय सबै थरिका माछा समेटिने गरी १ दर्जन स्टलसहित, खेलकुद अन्य मनोरञ्जनात्मक कार्यक्रमसहित यस वर्षको माछा महोत्सव सुरु हुन लागेको छ ।

महोत्सवका लागि करिब २६ लाख रुपैंयाँ खर्च र २८ लाख रुपैयाँ आम्दानी हुने अनुमान आयोजकको छ । महोत्सवको बचत रकम बेगनास तालमा लोप हुन लागेका माछा संरक्षणमा विशेष प्रयोग गरिने आयोजकले जनाएको छ ।

Advertisement

कास्कीमा ७ सय टन माछाको माग छ तर कास्कीमा वार्षिक ३ सय ५० टन माछाको उत्पादन हुन्छ । बजार मागको ५० प्रतिशतमात्र कास्कीमा उत्पादन हुन्छ । मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख अग्नि नेपालले वार्षिक ३ सय ५० टन माछा चितवन लगायत स्थानबाट आयात हुने बताए । केन्द्रका प्रमुख नेपालले कास्कीमा फेवा, बेगनास र रुपामध्ये रुपातालमा सबैभन्दा बढी प्रतिहेक्टर ५ सय ५७ केजी माछा उत्पादन हुने जानकारी दिए ।

उनका अनुसार फेवामा प्रतिहेक्टर १ सय १९ केजी र बेगनासमा प्रतिहेक्टर ५० केजी माछा उत्पादन हुन्छ । यसवर्ष रुपामा माछाको उत्पादन बढेको छ । गतवर्ष रुपामा ४० टन माछा उत्पादन भएकोमा यस वर्ष ५६ टन उत्पादन भएको छ । फेवामा गत वर्ष ६० टन माछा उत्पादन भएकोमा यस वर्षमात्र साढे ५२ टन उत्पादन भएको केन्द्र प्रमुख नेपालले जानकारी दिए । बेगनासमा गत वर्ष १४ टन माछा उत्पादन भएको थियो । यस वर्ष बेगनासमा १६ टन माछा उत्पादन भएको छ ।

कुल क्षेत्रफलमध्ये ४ सय १३ हेक्टर पानीले ओगटेको फेवामा २३ स्थानीयसहित ३० प्रजातिका माछा पाइन्छ । कुल क्षेत्रफलमध्ये ३ सय २८ हेक्टर पानीले ओगटेको बेगनासमा २३ देखि २५ प्रजाती माछा पाइने केन्द्र प्रमुख नेपालले जानकारी दिए ।

उनले १ सय ३५ हेक्टर क्षेत्रफल पानीले ओगटेको रुपामा २३ देखि २५ प्रकारका माछा पाइने उल्लेख गरे ।
‘सामूहिक रुपमा सहकारीमार्फत गरिएको माछापालन व्यवसाय प्रभावकारी भएको छ,’ उनले भने, ‘सहकारीको मोडल अत्यन्तै उपयुक्त छ ।’ स्थानीय जातका माछाको संरक्षण र उत्पादनमा बढावा दिनुपर्ने उल्लेख गर्दै उनले वातावरणीय प्रभावको कारण वाम माछा हराउँदै गएको जानकारी दिए । पछिल्लो समय काँडे माछा रुपामा नभेटिएको उनको भनाइ थियो ।

जिल्ला मत्स्य व्यवसायी समिति कास्कीका अध्यक्ष दयाराम तिवारीले कास्कीमा ताल खोला बाहेक ५ सय व्यवसायीले माछा पालन गरेको जानकारी दिए । उनले कास्कीमा १ सय १ निजी माछा पोखरी रहेको बताए । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका पूर्व अध्यक्ष तथा प्रचार प्रसार संयोजक दामोदरभक्त थापाले पर्यटन प्रबद्र्धनका लागि गरिने महोत्सवमा माछाका अलावा मह, कफी र जडिबुटीको प्रदर्शनी र बिक्री गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया