१५ महिनाभित्र सिर्जनाचोकमा आकाशे पुल

समाधान संवाददाता २०७६ जेठ १४ गते ८:४५

समाधान सम्वाददाता

सवारी चापका कारण व्यस्त रहेको सिर्जनाचोकमा पैदलयात्रीको आवागमनमा सहजता ल्याउन आकाशे पुल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष ०७५-०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

पुल निर्माणका लागि आवश्यक महानगरले २ करोड ६१ लाख लागत इस्टिमेट गरी टेन्डर आह्वान गरेको थियो । भ्याटसहित २ करोड ३० लाख ११ हजारमा केएम÷जेबिएन÷पोखरा जेभीले ठेक्का पाएको छ । जेठ ५ गते ठेकेदार कम्पनीले महानगरसँग सम्झौता गरिसकेको छ । पुल आगामी १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए ।

Advertisement

सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलका लागि संघीय सांसद एवं पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले संसद विकास बजेट कार्यक्रम अन्तर्गत ५० लाख सहयोग गरेका थिए । चालु आर्थिक वर्ष ०७५-०७६ मा ओभरहेड पुल, सबवे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड विनियोजन गरिएको थियो ।

चालु आवकै बजेटले नथेग्ने भएपछि बहुवर्षीय योजना अन्तर्गत आगामी वर्ष बजेट विनियोजन गरी सम्पन्न गर्ने लक्ष्य महानगरको छ । वर्कसपमै ड्रइङ गरी एकैपटकमा चोकमा ल्याई फ्रेबिकेसन सेट गर्नेगरी पुलको डिजाइन भएको सहरी पूर्वाधार महाशाखाले जनाएको छ ।

Advertisement

महानगरले विसं २०६६ सालदेखि पोखरामा आकाशे पुल निर्माणका लागि नगरपरिषद् बैठकद्वारा निर्णय गर्दै आएको भए पनि जनप्रतिनिधि चुनिएर आइसकेपछि मात्रै यस एजेन्डाले गति लिएको हो । पैदलयात्रीलाई बाटो काट्न बनाइएको जेब्राक्रस मौसमी प्रभावका कारण छिटै मेटिने भएकाले जथाभावी बाटो काट्न बाध्य बटुवालाई राहत मिल्ने भएको छ । ट्राफिक व्यवस्थापनमा पनि थप सहज हुने विश्वास लिएको मेयर मानबहादुर जिसीले सुनाए ।

पृथ्वीचोकमा आकाशे पुलको योजना सार्वजनिक गरेको महानगरले काम भने अघि बढाउन सकेन । आगामी वर्ष योजनागत रुपमै पृथ्वीचोकमा आकाशे पुल राख्नका लागि तयारी थालिएको महानगरले जनाएको छ । यसअघि सार्वजनिक भएको डिजाइनमा त्रुटि आएपछि योजना रोकिएको हो । ‘ठाउँ हेरेर आकाशे पुल डिजाइन गर्ने इन्जिनियर भएनन्,’ मेयर जिसीले भने ।

तपाईको प्रतिक्रिया