कोरला नाकाः मन्त्रालय टोली र स्थानीयबीच छलफल

समाधान संवाददाता २०७६ जेठ १४ गते १२:३७

समाधान संवाददाता
मुस्ताङ

कोरला नाका अवलोकनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोली र स्थानीय सरोकारवालाबीच छलफल भएकोे छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा कोरला नाकाको सम्भावना, निर्माणाधीन कोरला सडक र त्यहाँको भौतिक पूर्वाधार लगायतका विषयमा छलफल भएको हो ।

मन्त्रालयका उपसचिव पार्वती अर्याल, शाखा अधिकृत अम्बिका राई, लेखापाल युवराज कार्की र नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर कमलप्रसाद जोशीको टोली शनिबार कोरला पुगेका उनीहरुले नाकाको वस्तुगत अवस्था र व्यापारिक अवस्थाबारे राय संकलन गरेका छन् ।

Advertisement

मन्त्रालयकी उपसचिव पार्वती अर्यालले चीनसँग जोड्ने कोरला नाका सरकारको प्राथमिकतामा रहेको बताइन् । तातोपानी नाकाका पूर्वाधार निर्माण भइसकेका बताउँदै उपसचिव अर्यालले केरुङ नाकाको पूर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गरिन् ।

‘चीनतर्फ निर्माण भइरहेको संरचना हेर्‍यौं, हामीतर्फ पनि पूर्वाधार निर्माणका लागि उपयुक्त जग्गा देख्यौं,’ उनले भनिन् । उनले कोरला पूर्वाधार निर्माणका लागि चीन सरकारको सहयोग आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ पहल गर्ने प्रष्ट्याइन् ।

Advertisement

इन्जिनियर कमलप्रसाद जोशीले कोरला नाकामा नेपाल तर्फ संरचना निर्माणमा कुनै कठिनाई नभएको बताए । उनले राष्ट्रिय गौरवको आयोजना कोरला सडक स्तरोन्नति भइरहेको उल्लेख गर्दे सडक सहज हुने बित्तिकै पूर्वाधार निर्माणमा सरकारले पहल थाल्ने प्रतिबद्धता जनाए ।

घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले वर्षमा २ पटक अन्तरदेशीय मेला लाग्ने गरेको उल्लेख गर्दे नेपाली भूमिमा पनि व्यापारिक मेला सञ्चालन गर्ने वातावरण बनाउन सुझाइन् । उनले मुस्ताङ संरक्षित जिल्ला भएकाले उद्योग कलकारखाना स्थानपनामा समस्या परेको सुनाइन् ।

जिल्ला मालपोत कार्यालय मुस्ताङले उपल्लो मुस्ताङमा ९९ प्रतिशत सरकारी जग्गा व्यक्तिले उपयोग गरिरहेको जनाएको छ । जग्गा वैध रुपमा उपयोगका लागि सरकारले प्रक्रिया अघि बढाउनुपर्ने मन्त्रालयलाई मालपोतले जानकारी गराएको थियो ।

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र शेरचन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, घरेलु तथा उद्योग विकास समिति, नापी कार्यालय, मालपोत कार्यालय, प्रहरी र पत्रकार सहभागी थिए ।

तपाईको प्रतिक्रिया