नायक बन्ने अवसर

समाधान संवाददाता २०७६ जेठ १४ गते १३:२३

भरत कोइराला

नगरोन्मुख सहरलाई नगरपालिका बनाएर विकासको लहर फैलाउन तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सरकारले २०१६ सालमा पोखरालाई नगरपालिका घोषणा गर्‍यो । दिन, महिना, वर्ष मात्र होइन आधा शताब्दी गुज्रिँदा पनि पोखरा नगरले विकासमा गति लिन सकेन । त्यसो त मुलुकका अरु सहरको दाँजोमा पोखरा पछि छैन ।

पोखराले तीव्र विकास गरेर होइन कि अन्त विकास नभएका कारण यो सहर अगाडि देखिएको हो । यहाँको भूगोल अनि प्रकृतिले पनि पोखरालाई सुन्दर बनाइदिएको र सफा बनाइदिएको छ ।

पोखराको विकासक्रम पनि अचम्मको छ । राणा शासनको अन्त्यसँगै पोखरामा जहाज आउजाउ गर्न थाले । गणेशमान सिंह र बिपी कोइराला जहाजमा आउने तय भएपछि स्थानीयले घारिपाटनमा खनेर चौर सम्म्याए । त्यतिखेरै अर्थात् विसं २००८ पछि जहाजले बाहिरबाट सामान ल्याउन थालेपछि व्यापारीहरु संगठित भए ।

जहाजबाट आएका सामान कसरी घरघरमा पुर्‍याउने भन्ने समस्या व्यापारीलाई थियो । यसैको गाँठो फुकाउन जम्मा भएका व्यापारीको समूह पोखरा व्यापार संघ तयार भयो । ढुंगाले छापेको पोखराको बाटोमा गोरुगाडाबाट सामान ढुवानी थालियो । पोखराको विकासको सुरुआती अवस्था थियो यो ।

त्यसो त जंगबहादुर राणाले कास्की र लमजुङमा शासन गर्नेगरी श्री ३ को उपाधि पाएलगत्तै पोखरा आएर फेवातालको पश्चिमी किनारमा बसेका थिए । ठूला फाँट भए पनि सिंचाई नभएको देख्दा उपाय फुर्‍यो । बेलायती प्राविधिक बोलाएर लिफ्ट प्रविधिबाट पोखरेली फाँट सिंचित भएको देख्ने उनको रहर थियो ।

तर पण्डितहरु बेलायतीलाई पोखरामा भित्र्याउन तयार भएनन् । म्लेच्छहरुलाई ल्याएर यहाँको भूमि अपवित्र पार्न नहुने उनीहरुको तर्क थियो । जानकारहरु भन्छन्, ‘यसले पोखराको तीब्र विकासको सम्भावनालाई १ युग पछाडि धकेलिदियो ।’

भौगोलिक रुपमा वरदान पाए पनि पोखरेली भूमिले विकासप्रेमी पुत्र कमै जन्माएको छ । तर पनि पोखरा आफ्नै गतिमा लम्केको छ । विसं २०१३ सालमा पोखरामा पहिलोपटक जहाजबाट जीप पोखरामा उत्रियो । यहाँका चट्टानी बाटोमा विलिस कम्पनीको जीप धुवाँ उडाउँदै गुड्न थाल्यो ।

विदेश छाडेर नेपालका सहरको कुरा गर्ने हो, भने विकासमा पोखराले पछि फर्केर हेर्नु परेको छैन । २० को दसकको मध्यतिर खुलेका सिद्धार्थ र पृथ्वी राजमार्गले पोखरालाई राजधानी र भारती सहरसँग जोड्यो । यी राजमार्गले पोखरा मात्र हैन यो क्षेत्रकै आर्थिक उन्नतिमा फड्को मार्न सघाए ।

पोखराको विकासमा यहाँको सुन्दरताले काँध हालेको छ । वौद्ध धर्मको अध्ययन गर्न हिँडेका जापानी भिक्षु इकाइ कावागुची हुन् या हिमाल चढ्न आएका ब्रिटिस कवि बिलफ्रेड नोयस र जिमी रोबर्ट हुन् । उनीहरुले सुन्दरताको बखान गरिदिएकै कारण पोखरा विश्वमा चिनियो । त्यही प्रचारले विदेशी ताल र हिमाल हेर्न आए । उनीहरु आउँदा त्यताको सभ्यता र व्यवासायिक सिप पनि लिएर आए । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि त यो क्षेत्रको प्रचार विदेशमा अचम्मैसँग चुलियो ।

रेडक्रस प्रतिनिधि बनेर नेपाल आएका स्वीस नागरिकले विसं २०१८ सालमा फेवाताल पारी फिस्टेल लज सञ्चालनमा ल्याएर नेपाललाई युरोपमा चिनाउने काम गरे । स्वीस नागरिककै अग्रसरतामा तिब्बती शरणार्थीको सिप प्रयोग गर्दै पोखरामा गलैंचा उत्पादन सुरु भयो । ती सामग्री पनि त्यतिबेलै युरोप निर्यात हुन्थे ।

धेरै खालका राजनीतिक परिवर्तन भए । पोखरेलीले सोही अनुसारको आशा गर्नु स्वभाविक थियो । खै के मा तालमेल नमिलेर हो लय समात्न सकेन यो सहरले । ४ दसक अघि नै शंकरराज पाठकहरुले देखेको सपना अझै साकार हुन सकेको छैन । उतिबेलै विमानस्थलका लागि अधिग्रहण गरिएको छिनेडाँडामा रनवे निर्माण सकिएको छ ।

तर विडम्बना बसपार्कको जग्गा भने खुम्चिँदै गएको छ । जसको जिम्मेवारी यहींका राजनीतिक नेतृत्वले लिनुपर्छ । नगरमा २ वर्षको कार्यकाल पार गरेका मेयर मानबहादुर जिसी भन्छन्,‘दीर्घकालीन सोचका साथ योजना नबनेकै कारण यो अवस्था आएको हो ।’

अघिल्लो पुस्तालाई दोष लगाइरहँदा मेयर जिसीतिरै प्रश्न तेर्सिन्छ । पोखराको विकासका दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने योजना उनले पनि ल्याउन सकेका छैनन् । पहिलो वर्ष कानुन बनाउँदैमा बित्यो । दोस्रो वर्ष पनि गर्ने भन्दा भन्दै पूरा भइसक्यो । बाँकी ३ वर्षमा पक्कै केही गरेर देखाउँछु भन्ने लागेको छ उनलाई । भन्छन्,‘हाम्रो अवस्था, परिस्थिति अनि स्रोत र साधनलाई हेर्ने हो भने हामीले धेरै काम गरेको मान्नुपर्छ, तर यत्तिमा सन्तुष्ट भएर बस्ने अवस्था छैन, पोखरालाई सिस्टममा चलेको पोखरा बनाएर हामीले सुम्पने छौं ।

संघीयता अघि पनि स्थानीय निकाय थिए । तर ती निकायले सरकारको मान्यता पाएका थिएनन् । अहिले त कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ३ वटै अंगसहितको सरकार हो स्थानीय तह । केन्द्र र प्रदेशलाई भन्दा बढी अधिकार प्रत्याभूत गरेको संविधानले । तर के ती अधिकार प्रयोगका लागि महानगर क्रियाशील भए पनि कार्यप्रगतिको हिसावले स्थानीय सन्तुष्ट भने हुन सकेका छैनन् ।

व्यवसायी आनन्दराज बतास भन्छन्,‘पोखराको भौतिक विकास र पूर्वाधारको क्षेत्र नेतृत्वको बोल्ड डिसिजनको पर्खाइमा छ । चाहे व्यवस्थित बसोबासको कुरा होस्, चाहे यातायात र ट्राफिक व्यवस्थापनको कुरा होस्, चाहे प्राकृतिक सम्पदा र त्यसको सदुपयोगको कुरा होस्, पोखरालाई दीर्घकालीनकालसम्म पोखरा बनाइराख्ने नेतृत्व चाहिएको छ ।’

तत्कालीन लेखनाथ नगरपालिकाका मेयर शालिग्राम पौडेल विकासको लय समात्नुपर्ने महानगर नेतृत्व कतै रुमलिइरहेको बताउँछन् । सबैभन्दा पहिले परम्परागत नीति नै परिवर्तन गर्नुपर्नेमा उनी जोड दिन्छन् । उनका अनुसार कृषि, यतायात, खानेपानी, विकास र पूर्वाधार, निजी क्षेत्रसँग सम्बन्धित नीति नै थोत्रा भए । भन्छन्, ‘एउटा थिंक ट्यांक बनाओस्, विचार मन्थन गरोस् र परिवर्तनकारी, रुपान्तरणकारी भिजन आओस् । केही त क्रान्तिकारी योजना चाहिएको छ, पोखरालाई । क्रान्तिकारी योजनाको नायक बन्ने अवसर अहिलेको नेतृत्वलाई छ ।’

धेरै अगाडि बढ्नुपर्ने महानगर सानातिना उल्झनमा रुमल्लिएको छ । थालेका कामलाई टुंगोमा पुर्‍याउन नसक्दै विवादमा पर्छ । जसको कारण हो, साँघुरो घेराबीच मेयरको अलमल । कानुनले निषेध गरेको एकीकृत सम्पत्ति कर उठाएको महानगरले यो बारेमा अदालतमै मुद्दा खेप्नु पर्‍यो । अन्ततः उच्च अदालत पोखराको आदेशपछि महानगर नीति फेर्न वाध्य भयो ।

फिर्के अतिक्रमण हटाउने अभियानदेखि, बिजुलीका पोलमा झुण्डिएका अस्तव्यस्त तार व्यवस्थापनमा महानगर सफल हुन सकेको छैन । कांग्रेसबाट पोखराको मेयरका प्रत्यासी रामजी कुँवर चुनावका बेलामा चर्का नारा लगाउन जति सजिलो थियो, काम गरेर देखाउन त्यति नै गाह्रो हुने बताउँछन् ।

उनले भने, ‘उतिबेला स्मार्ट सिटीको नारा खुबै लगाइयो, यहाँ नगरवासी भने चर्को करको मारमा परेका छन् ।’ अहिले भइरहेका र मेयरले उपलब्धि भनेर औला भाँचेका काम त स्वभाविक प्रक्रिया अन्तर्गत भएको उनको प्रतिक्रिया छ । ‘जे नगरे पनि हुन्छ, त्यो गर्ने, तर जे गर्नुपर्ने हो, त्यतातिर ध्यानै नदिएर कसरी नगर अगाडि बढ्छ ?,’ उनको प्रतिक्रिया थियो ।

तपाईको प्रतिक्रिया