क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा सकिने चिन्ता

समाधान संवाददाता २०७६ जेठ १४ गते १७:४२

आनन्दराज बतास

पोखरा भन्नेबित्तिकै जोडिएर आउने कुरा व्यक्तिअनुसार फरक हुन्छ । पोखरा बाहिरबाट हेर्दा, सुन्दा र भन्दा जति सुन्दर र मोहक छ, बेलैमा सोचिएर र बोल्ड निर्णय लिन सकिएन भने त्यति नै कुरुप र खोक्रो हुने बाटोमा छ । पोखराको भौतिक विकास र पूर्वाधारको क्षेत्र नेतृत्वको बोल्ड डिसिजनको पर्खाइमा छ । चाहे व्यवस्थित बसोबासको कुरा होस्, चाहे यातायात र ट्राफिक व्यवस्थापनको कुरा होस्, चाहे प्राकृतिक सम्पदा र त्यसको सदुपयोगको कुरा होस्, पोखरालाई दीर्घकालीनकालसम्म पोखरा बनाइराख्ने नेतृत्व चाहिएको छ । त्यो अवसर अहिलेकै नेतृत्वलाई अझ बढी छ ।

अब पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकै कुरा गरौं । विमानस्थल आउने कुरामा त रोक्न सकिएको थिएन तर यो विमानस्थल बनिसकेपछि पोखरा बिग्रन्छ भन्ने ठूलो चिन्ता छ । मैले यो कुरा धेरै नेतालाई पनि भनेको छु । पोखरामा विमानस्थल आउँदा सिधा फाइदा लिने थोरैमध्ये पनि परौंला । मेरो पनि घर, घडेरी र व्यवसाय पोखरामा छ । तर, वास्तवमा म पोखरामा विमानस्थल आउँदै गर्दा खुसी थिइनँ । त्यो बेला सक्ने स्थिति पनि थिएन ।

वास्तवमा पर्यटक पोखरा आउने यहाँ ठूला विमानस्थल, अग्ला घर र भव्य सुविधाका लागि होइन । ती कुराका लागि थुप्रै देशका थुप्रै ठाउँ होलान् । पर्यटक त यहाँको हरियाली, सफा र शान्त वातावरणमा रमाउन अनि प्राकृतिक सम्पदामा हराउन पो आउँछन् । पोखरा मन पराउने पनि त्यही कारण हो । म काठमाडौं बस्छु । एक दिन अलि सहज भयो कि म पोखरा आइहाल्छु । पोखरा आइपुग्नेबित्तिकै यति फ्रेस फिल गर्छु, म हराउँछु, रमाउँछु । अन्त यस्तो हुँदैन ।

आउँदा–जाँदा १०-१५ हजार रुपैयाँ खर्च होला तर म १ दिनमात्रै भए पनि आउँछु । त्यसको कारण यहाँ आउँदा पुनर्ताजगी मिल्छ । काठमाडौंमा यति प्रदुषण छ, मान्छेले सजिलो र नयाँ तर स्वच्छ ठाउँ खोजिरहेको छ । पोखरा पनि काठमाडौंकै बाटोमा हिँडे भोलि जाने ठाउँ कहाँ खोज्ने हो ? के हामीले पोखरालाई पनि काठमाडौंजस्तै बनाउन खोजेका हौं ? कि मुम्बईजस्तो बनाउन चाहेका हौं ? यो कुरा अहिले सोचेनौं भने अबको १०÷२० वर्षभित्रै पछुताउनु पर्ने छ ।

जग्गाको भाउ, दैलोमै सुविधा, २ पाइलामै प्रशासनिक काम खोज्दै मान्छेहरु विकास–विकास भनिरहेका छन् । खास त्यो त दीर्घकालीन विकास नै होइन, त्यो त विनासको सुरुआत हो । विकास त त्यो हो, जुन दीर्घकालीन हिसाबले धेरैपछि हेर्दा पनि तत्–तत् ठाउँमै व्यवस्थित सहर त्यसका आयामहरु फिँजिएका रहेछन् भन्न पाइयोस् ।

पोखरामा त खास विकास भएकै छैन । अहिले नै पोखरामा हिँडिसक्नु छैन । ट्राफिक जाम र अव्यस्थित यातायातले पोखरा बिग्रिइसकेको छ । म पोखरामै गाडी बेच्छु, त्यो मेरो व्यवसाय हो । तर, सभ्य र व्यवस्थित सहर निर्माण वा निर्माण र व्यवस्थापन गर्ने त सरकारी नीतिले गर्ने हो नि । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहुँदै त सडक र पार्किङको यत्रो समस्या पोखराले खेप्न थालिसक्यो भने यही पूर्वाधार र संरचनाले भोलिको पोखराको हालत के होला ? विमानस्थल सञ्चालनसँगै यही विकासमा अरु बेलगाम विकासका संरचना थपिए भने के हुन्छ हाम्रो हालत ? के अब सोच्नु पर्दैन ? त्यसका नयाँ नीति निर्माण गर्ने र भोलिको पोखराको जग बसाल्ने काम भइरहेको हुनुपर्ने होइन ? गम्भीर भएर सोच्ने बेला भएको छ ।

मैले यसअघि पनि भनेको थिएँ, प्रादेशिक कार्यालयहरु तनहुँको खैरेनीटार वा अन्य कुनै त्यस्तै अर्को उपत्यकातिर सारौं । कोत्रेदेखि पृथ्वीचोकसम्म ६ लेनको सडक बन्ने कुरा छ । त्यो भए १५-२० मिनेटमै खैरेनीटार पुग्न सकिन्छ । खैरेनीटारको विकास पनि भयो र पोखरालाई भार पनि कम भयो । पोखरामा अहिले ठूला–ठूला भवनहरु बनिरहेका छन् । त्यसमा पनि म खुसी छैन । यहाँ विदेशीहरुले पनि गगनचुम्बी घर हेर्न आउने होइन । बरु यहाँका सांस्कृतिक घर र सम्पदा हेर्न आउने हो ।

काठमाडौंमा भुइँचालो गएपछि सुरक्षित बस्ने खुला ठाउँ नै भएन । भोलि त्यस्तै भूकम्प पोखरामा गयो भने ठाउँ खै पोखरामा ? विपत् जुनसुकै बेला पनि जान सक्छ । त्यसैले पोखरालाई खुला गार्डेनका रुपमा विकास गरौं भन्ने हो मेरो प्रस्ताव त । वडा वडामा त्यस्ता खुला गार्डेनको कन्सेप्ट अघि सारौं । भएका खुला ठाउँ सरकारले नै ओगटेर व्यापारिक प्रयोजनका लागि लगाउने होइन ।

अहिले फेवातालको विषय जोडतोडका साथ उठिरहेको छ । महानगरले तालको ६५ मिटर कायम गर्ने सूचना जारी गरेको छ । यो सह्रानीय काम छ । ढिलो भयो तर अझै पनि राम्रो गर्न लाग्नुभयो भनेर मेयर साबलाई पनि भनें । मैले मेयरसाबलाई भनें, ‘तपाईंले यो काम गर्नुभयो भने पोलिटिकल्ली हिसाबले तपाईंलाई पनि फाइदा हुन्छ र सिंगो पोखरेलीलाई पनि फाइदा पुग्छ । जबकी त्यो मापदण्ड कायम गर्दा मेरो पनि २ रोपनी जग्गा जान्छ तर पनि म धेरै खुसी हुने छु ।

पोखरामा विमानस्थल आएपछि सडक, खानेपानी, पूर्वाधार, दक्ष जनशक्ति सबै कुराको समस्या आउने छ । यी कुरामा बेलैमा सचेत भएनौं भने काठमाडौंभन्दा छिटो अस्तव्यस्त हुन्छ । पोखरामा क्वालिटी म्यानपावर नै छैन । भोलि ठूला उद्योग, हस्पिटल, होटल अरु व्यवसाय आउलान् तर गुणस्तरीय जनशक्ति खै त ? त्यसको विकास गर्नुपर्दैन ?

सहरलाई व्यवस्थित गर्ने सवालमा दिल्लीलाई नै पनि हेर्न सकिन्छ । दिल्ली सडकका दायाँ–बायाँ पूरै रखविरुवा रोपेर हरियाली छ । अहिले पनि काठमाडौंभन्दा पोखराको सडक चाक्लो र हरियाली नै हो तर केही वर्षपछि हेर्दा त्यो रहने देखिँदैन । अमेरिका न्युयोर्कको म्यानहटनमा १ सय मिटरको बाटो चाक्लो बनाउँदा त्यो बेला इन्जिनियरलाई पागल भन्थे रे । पोखरा न्युरोडमा कुन गाडी हिँड्ने होला यति ठूलो सडकमा भन्ने थियो । अहिले त्यही सडक साँगुरो भयो । बागलुङ हाइवे पहिले फराकिलै लाग्थ्यो, अहिले साँगुरो भइसक्यो । त्यसकारण विकास भनेको तत्काल हेरेर गर्ने होइन ।

पोखराको सडक अझै चाक्लो बनाउनुपर्छ । दायाँ–बायाँ वृक्षरोपण गर्नुपर्छ । ठाउँ–ठाउँमा पार्किङ स्टेसन हुनुप¥यो । पार्किङको समस्या भनेको गाडी चलाउनेको मात्रै हो भन्ने मानसिकता छ, त्यो गलत मानसिकता हो । ठाउँ–ठाउँमा पार्किङको व्यवस्था गरेनौं, वडावडामा खुला चौर बनाएनौं वा जोगाएनौं, भएका सम्पदा बचाएनौं भने पोखराको नाम होइन, बद्नामी जोडिने छ ।

प्रस्तुतिः अमृत सुवेदी

तपाईको प्रतिक्रिया