आज गणतन्त्र दिवस, ठूलाबडाकाे शुभकामना

समाधान संवाददाता २०७६ जेठ १५ गते ८:२३

समाधान सम्वाददाता

आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी बाह्रौँ गणतन्त्र दिवस मनाइँदैछ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभकामना सन्देश जारी भएको छ ।

सन्देशमा लेखिएको छ, ‘विश्वमा लोकप्रिय तथा समृद्ध पद्दतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभई जीवनपद्धतिका रुपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो ।’

Advertisement

राष्ट्रपति भण्डारीले समृद्धिको अपेक्षा साकार पार्नु हामी सबैको उत्तरदायित्व भएको बताएकी छन् । सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै उनले समृद्धि हासिल हुनेमा आफू विश्वस्त रहेको पनि बताएकी छन् ।

त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै समाजवाद उन्मुख अर्थ व्यवस्थासहितको नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्न सरकार, सबै राजनीतिक दल तथा सबै पक्षको कर्तव्य भएको बताएका छन् ।

Advertisement

आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण सबैको साझा संकल्प भएको उनको भनाइ छ ।

जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको सफलताबाट नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता अग्रगामी राजनीतिक परिवर्तनहरु भएको उनले उल्लेख गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।। गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

“विकासका लागि हाम्रो प्रस्थानबिन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो” प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख छ । “जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले सन्देशमा यस दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्था प्रति गौरव गर्न झक्झक्याएको उल्लेख गरेका छन् । “गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रक्रियाको गर्न सिकाएको छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो” प्रधानमन्त्री ओलीको सन्देशमा समेटिएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम वि.सं. २०५९ साल जेठ ८ गते विघटन भएको संसद् ०६३ साल बैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै शासन अगाडि बढाए । ०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

२०६२ साल मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुबमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुबमा आएपछि आन्दोलनले गति लिन थाल्यो । २०६२ साल फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैत्रमा पिन गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले बैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । सोही दिनलाई लोकतन्त्र दिवसको रूपमा मनाए ।

तपाईको प्रतिक्रिया