उपल्लो मुस्ताङमा मोबाइल सेवा

समाधान संवाददाता २०७६ जेठ १५ गते ११:५४

सुन्दरकुमार थकाली
जोमसोम

१ वर्षअघिसम्म उपल्लो मुस्ताङमा सञ्चार सुविधा थिएन । नेपाल दूरसञ्चार कार्यालय मुस्ताङले लोमान्थाङमा अहिले सञ्चार सेवा पुर्‍याएको छ । त्यसअघि रहेको प्रविधि सबैको पहुँचमा थिएन ।

गाउँपालिकाका १, २ र ४ वडा सञ्चार सम्पर्कबाट बिमुख थिए । यी वडाका चुङजुङ, न्याम्डो, गर्फु, भाची, न्हेचुङ लगायत कोरला नाकासम्म सञ्चार सम्पर्कको माध्यम थिएन । यस वर्ष परेको भारी हिमपातले सीमा क्षेत्रका कयौं याक, चौरी र भेडा, च्याङ्ग्रा खर्कमै पुरिए । कोही आहार अभावमा मरे ।

Advertisement

चौरी गोठालासमेत हिमपातको सास्तीले हैरान भए । सञ्चार सम्पर्क नहुँदा विपत्तिले उनीहरुलाई थप डस्यो । दैनिकी कष्टकर बन्यो । अहिले गाउँसम्म सञ्चार सुविधा भएपछि यस्तो घटना र सास्ती नदोहोरिनेमा उपल्लो मुस्ताङबासी आशावादी छन् ।

नेपाल दूरसञ्चार कार्यालय जोमसोमले कोरला नाका तथा सीमावर्ती क्षेत्रका गाउँलाई जोड्ने गरी सोमबार छोसेरको नेचुङ भन्सार माथिको डाँडामा ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन)जिएसएम टावरसहित ३ वटा एन्टिना जडान गर्‍यो । प्राविधिक महेन्द्र गुरुङसहितको टोलीले यो प्रविधि जडान गरेको हो । अब त्यहाका करिब १ सय ५० घरधुरी लाभान्वित हुने छन् । सेवा सुरु भएपछि गाउँले दूरसञ्चारका प्राविधिकलाई सम्मानसमेत गरे ।

Advertisement

टावरको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले उद्घाटन गरे । भौगोलिक रुपमा विकट उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अब सञ्चार सुविधायुक्त भएको उनले बताए । टावर व्यवस्थापनमा चाहिने आवश्यक पूर्वाधार गाउँपालिकाले नै निर्माण गरेको हो ।

उत्साहित न्याम्डोका स्थानीय राजु गुरुङले अब उपल्लो मुस्ताङीका लागि सुनौला दिन आएको बताए । ‘सदियौदेखि हाम्रो गाउँघर अन्धकार थियो, फोन गर्नुपरे घण्टौं हिडेर डाँडाकाँडा उक्लनु पथ्र्यो,’ उनले भने, ‘अहिले त घरभित्रै टावर टिप्न थाल्यो, इन्टरनेट थ्रिजी पनि चल्यो । अब गाउँघरबाटै संसार हेर्न सक्ने भयौं ।’ चुङजुङका नर्चुङ गुरुङ पनि फोन चलेपछि मख्ख छन् । उनी भन्छन्, ‘स्थानीय सरकारले गाउँलाई अन्धकारबाट मुक्ति दिलायो ।’

चुमजुङ घर भई पोखरा बस्दै आएकी पेमा गुरुङ पनि दङ छिन् । गाउँघरको हालखबर सजिलैसित जान्ने सुविधा पुगेकोमा उनले खुसी प्रकट गरिन् । पछिल्लो समय कोरला नाका घुम्न उल्लेख्य आन्तरिक पर्यटक आउन थालेका छन् । त्यहाँ पुगेका पर्यटकले फोटो खिचेर सामाजिक सञ्जालमा तुरुन्तै राख्न र त्यहीबाटै आफन्तसँग खुसी साट्न थालेका छन् । लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत सुशील अर्याल सीमावर्ती क्षेत्रमा सञ्चार सुविधाले पर्यटन प्रर्वद्धनमा सघाउने बताउँछन् ।

जिल्लाका ५ वटै स्थानीय तहमा १९ वटा बिटिएस टावर राखिएको छ । कार्यालयले कोरलानाका र नाका आसपासका गाउँलाई जोड्ने गरी टावर विस्तार गरेको कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षमा उपल्लो मुस्ताङको चराङ, घमी र स्याङवचेमा टावर विस्तार गरेको हो भ । थासाङ गाउँपालिकाको झिप्रा देउरालीमा पनि टावर बनिरहेको छ ।

दूरसञ्चारले लोमान्थाङमा २ वटा, लोघेकर दामोदरकुण्डमा ३ वटा, वारागुङ मुक्तिक्षेत्रमा ५ वटा, घरपझोङमा ४ वटा र थासाङ गाउँपालिकाका २ स्थानमा टावर विस्तार गरिसकेको छ । टावर विस्तारसँगै मुस्ताङका अधिकांंश गाउँमा टेलिकमको मोबाइलस सेवा सुरु भएको छ । मोबाइल पहुँच पुगेका स्थानमा टु जि र थ्रिजी इन्टरनेटसमेत उपलब्ध हुने कार्यालय प्रमुख श्रेष्ठ बताउँछन् ।

उपल्लो मुस्ताङका कतिपय बस्ती अहिले पनि अन्धकारमै छन् । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद इन्द्रधारा विष्ट निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्ने प्रयास भइरहेको बताउँछन् । उनले सीमावर्ती गाउँहरुमा आगामी २ वर्षभित्रै बिजुली पु¥याउने लक्ष्य सुनाए । ‘गाउँ गाउँ जोड्ने मोटर बाटो र सञ्चार सेवा विस्तार भएको छ । अब बिजुली पु¥याएर विकासको ढोका खोल्नुपर्छ,’ उनले भने । उनले उपल्लो मुस्ताङलाई लोडसेटिङ मुक्त बनाउन सौर्य ऊर्जा प्रयोग गरिने बताए ।

तपाईको प्रतिक्रिया