जनतालाई सोच्ने कि कमरेड !

समाधान संवाददाता २०७६ जेठ १५ गते १२:२४

नेत्रविक्रम चन्द विप्लवब समूहले नेतृत्व गरेको नेकपाको आह्वानमा सोमबार नेपाल बन्द भयोे । बन्दका कारण जनताले कति सास्ती पाए र देशले के–कति आर्थिक हानि–नोक्सानी गर्‍यो, यसमा भिन्नभिन्न तथ्यांक आउलान् । तर त्यही बन्द सफल पार्ने नाममा अघिल्लो दिन संघीय राजधानीका विभिन्न ठाउँमा बम विष्फोट हुँदा ४ जनाले ज्यान गुमाए । त्यत्तिकै संख्यामा गम्भीर घाइते छन् र जीवन–मरणको दोसाँधमा छन् ।

नेत्रविक्रम चन्द अर्थात कमरेड विप्लव ! तपाईले बिर्सनु भएको छैन होला, ०५२ सालमा तपाईहरुका मिठासपूर्ण कुरा सुनेर नेपाली जनता जीवनको आहुति दिन लामबद्ध भएकै थिए । भलै त्यो बेला आन्दोलनको नेतृत्व अहिलेका नेकपाका अध्यक्ष तथा तत्कालीन नेकपा माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । तपाई त्यो बेला प्रचण्डको दाहिने हात जत्तिकै प्रभावशाली हुनुहुन्थ्यो । कमरेड प्रचण्डलाई सर्वहारा वर्गको महान नेताका रुपमा चित्रित गर्दै हजारौं नेपाली युवालाई हतियार बोकाउनुभयो ।

युद्धमा आफू पनि होमिनुभयो, जनतालाई पनि होम्नुभयो । ०५२ देखि ०६२ सालसम्मको युद्धको दौरानमा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए । सयौं बेपत्ता छन् । हजारौंका अंगभंग छन् । त्यत्रो बलिदानी संघर्षपछि तत्कालीन ७ दलसँगको सहकार्यमा यो देशबाट शाही शासन सदाका लागि उन्मूलन गर्नुभयो । देशमा संविधान सभाको निर्वाचन भयो । जनताबाट निर्वाचित प्रतिनिधिले संविधान बनाए ।

Advertisement

राजा फाले । अब देश शान्तिपूर्ण बाटोमा हिँड्ला भन्ने विश्वास आम जनतामा पलायो । अब शासकीय रुपमा परिवर्तन हुनुपर्ने कुरा के नै बाँकी छ र ? सिर्फ नेता परिवर्तन भए पुग्छ । देश र जनताको उन्नतिका खातिर राम्रा नेताले देशको नेतृत्व गरे भने देशले आर्थिक रुपमा फड्को मार्छ भन्ने विश्वास नेपालीमा छ ।

तर कमरेड विप्लव ! तपाई त फेरि ०६२÷०६३ सालको जनआन्दोलन र त्यस अघिको जनयुद्धबाट प्राप्त उपलब्धिको स्वामित्व आफूले लिएर अघि बढ्नु होला भनेको त देशलाई फेरि ०५२ कै स्थितिमा लैजाने बाटोमा हिँडन थाल्नुभयो । त्यो बाटोले देशको उन्नति भन्दा हानि गर्छ । हेर्नुस् त आइतबार राजधानीमा तपाईंकै पथमा हिँडेका ४ जना कमरेडले अनाहकमा ज्यान गुमाउनु पर्‍यो । १ जना कमरेडलाई प्रहरीले हत्या गर्‍यो भन्दै त्यसको विरोधमा आह्वान गरिएको बन्दलाई सफल बनाउने नाममा आफ्नै गल्तीले होनाहार ४ युवाले ज्यान गुमाए, अन्य ४ जना गम्भीर घाइते छन् । यो त सुरुआतमात्र हो ।

Advertisement

तपाईहरु यही बाटोमा हिँडिरहने हो भने यस्ता घटना दिनानुदिन भइरहनेछन् । राज्य भनेको सधैं निर्मम हुँदोरहेछ भन्ने अनुभूति गर्नुभएकै होला । हिजो तिनै ७ दलमध्येका नेता प्रधानमन्त्री बन्दा तपाईंहरुमाथि दमन गर्नेको नेतृत्व उनीहरुले गर्थे । त्यो बेला उनीहरुको विरुद्धमा मालिक अर्थात राजासित मात्रै संवाद गर्छौ भन्दै वक्तव्य जारी गर्नुहुन्थ्यो ।

त्यसैबाट महत्वकांक्षा बढाएका राजाले शासन सत्ता हातमा लिएर झन निर्मम बने, अनि तिनै ७ दलसँग सहकार्य गरेर राजा फाल्नुपर्‍यो । आज त्यही बेलाका सहयोद्धा सरकारमा छन् र तपाईहरुलाई प्रतिबन्ध लगाएका छन् ।

कमरेड विप्लव ! सायद तपाई सत्तामा भएको भए र रामबहादुर थापाले विद्रोह गरेको भए पनि अवस्था यस्तै हुन्थ्यो होला । त्यसैले सत्ताधारीका लागि नभए पनि, नेपाली जनताका खातिर यो रगतको खोलो बगाउने खेल बन्द गरौं ।

बलिदानभन्दा जीवनदान ठूलो कुरा हो । जे कुरा पुन बनाउन सकिँदैन, त्यो मास्नु हुँदैन । सशस्त्र विद्रोहभन्दा फरक बाटो हिँडेर देशको कायापलट भएका थुप्रै उदाहरण छन् । जनताको मन जित्नुभयो भने शान्तिपूर्ण बाटोबाट पनि देशको तरक्की सम्भव छ । सहयात्री नेतालाई बिर्सेर १ पटक जनताका लागि सोच्ने कि कमरेड ?

तपाईको प्रतिक्रिया