भोलिको पोखराको परिकल्पना के हो ?

समाधान संवाददाता २०७६ जेठ १५ गते १५:५६

लक्ष्मी पाण्डे
कोषाध्यक्ष
नेपाली कांग्रेस, कास्की

पोखराको नाम लिनेबित्तिकै जो सुकैको पनि मन चंगा हुन्छ । यहाँको प्राकृतिक सम्पदा र हावापानीले धेरैको मन हर्छ । मान्छेहरुले राम्रो ठाउँलाई अहा स्वर्गजस्तो भन्छन् । स्वर्गमा केके हुन्छ ? कस्तो हुन्छ ? धेरैलाई थाहा छैन । सायद स्वर्ग पोखराजस्तै हुन्छ होला ।

पोखराले साच्चिकै स्वर्गको आभास दिलाउँछ । नेपालमा आउने पर्यटकमध्ये अधिकांशको रोजाइ पोखरा पर्छ । तर, यहाँनेर प्रश्न उठ्छ के हामीले पोखरालाई कुन बाटो लैजान खोजिरहेका छौं । प्राकृतिक र पर्यटकको महत्व बोकेको यस नगरीलाई संरक्षण गर्न सकिरहेका छैनौं । हिजो, आजको पोखराको संरक्षण र भोलिको पोखराको परिकल्पना महानगरको नेतृत्व सम्हालिरहेकाहरुले कसरी गरिरहेका छन् ? त्यसको खाका अहिलेसम्म बाहिर आएको छैन ।

Advertisement

धेरैको आशा र भरोसा थियो कि निर्वाचन पछाडि पोखरा एउटा नमुना सहर बन्छ । बनिनहाल्ला कम्तीमा सुरुआत हुन्छ । अहिलेसम्म यस्तो प्राकृतिक स्रोत र साधनले सम्पन्न पोखरालाई व्यवस्थित र विकसित गर्ने कुरामा किन मौन छ नेतृत्व ?

धेरैको मनमा प्रश्न उठ्न सक्छ किन यस्तो भएको होला ? नेपालका अन्य स्थानभन्दा पोखरालाइ प्रकृतिले पनि उत्तिकै साथ दिएको छ । हामीसँग रहेका मनोरम सम्पदा, फेवाताल, बेगनासताल, रुपाताल लगायत तालहरु किन जोडिएनन् । यसलाई ब्रान्डिङ गर्ने र पर्यटक तान्ने काममा जनप्रतिनिधि अग्रसर हुन सकेनन् भन्ने लाग्छ ।

Advertisement

पर्यटकीय पदमार्गहरु, विभिन्न गुफाहरु हरियाली जंगल, यहाँका जडिबुटीहरुको उचित व्यवस्थापन र संरक्षण गर्न सकेको खण्डमा मात्र पनि हाम्रो प्रदेश र पोखरालाई समृृद्धितर्फ बढाउने प्रमुख माध्यम बन्न सक्छ । अर्कोतर्फ नेपालका दक्ष जनशक्ति दैनिक रुपमा विदेश पलायन हुने क्रमलाइ रोक्नको प्राविधिक ज्ञान र गाउँमै उत्पादन बढाउने, स्वरोजगारमूलक कार्यक्रम पुर्‍याउने अभियान चलाउन सकिन्थ्यो ।

गाउँका खाली खेतीयोग्य जमिनको उचित संरक्षण गरी उत्पादन बढाउन यान्त्रिकरण र प्रविधिमैत्री बनाउने उद्घोष नारामै सीमित भइरहेको छ । कुन वडामा कस्ता खालको कृषि उत्पादन गर्न सकिन्छ र ती वडालाई ठूलो मात्रमा उत्पादन बढाउने गरी कार्यक्रम ल्याउन सके पनि धेरै राम्रो काम हुन सक्ने थियो । अध्ययन गरी फलानो वडा फलानो कृषि उत्पादनको हब भनेर विकास गराउन सकियो भने उत्पादन पनि बढ्ने, नयाँ पुस्ताको आकर्षण पनि रहने थियो ।

हाम्रामा एउटा रोग छ । घोषणा गरिहाल्ने, भाषणमा ठोकिहाल्ने तर आफैंले बोलेका कुरा कार्यान्वयन नगर्ने । घोषणा गर्नु ठूलो कुरा होइन, कार्यान्वयन के भयो र त्यसको रिजल्ट के आयो भन्ने मुख्य हुने होला ।

विकासलाई व्यवस्थित गर्ने सवालमा गुरुयोजना निर्माण गरेर आज हामीले यहाँबाट काम थाल्छौं, अबको १० वर्षमा पोखरा यस्तो हुन्छ भनेर जनतालाई बुझाउने गरी खै कार्यक्रम आएको ? नेतृत्वमा पुगेर काम गर्न साच्चिकै गाह्रो नै छ तर आफैंले घोषणा गरेका कार्यक्रमको कार्यान्वयन र कम्तिमा सकारात्मक प्रयास चाहिँ थालिएको छ है भन्ने छनकमात्रै पनि दिनसके पोखरेलीको धैर्यको बाँध टुट्ने थिएन । मेयर साबको ध्यान घोषणा र शिलान्यासतिर होइन, कार्यान्वयनतिर जाओस्, शुभकामना ।

तपाईको प्रतिक्रिया