प्रधानमन्त्री ओलीले थापे चौथो विद्यावारिधि

समाधान संवाददाता, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।
आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको जनाएको छ ।
उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रूपमा लिएको बताए ।
‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए ।
‘कोरिया सही नीति, सही दृष्टिकोण र दृढ संकल्पबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल केही समयपछि पर्यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।’
केही समयअघि प्रधानमन्त्री ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले नेपालको लोकतन्त्रमा योगदान पुर्याएबापत मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।
प्रधानमन्त्री ओलीले त्यसअघि भारतको उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरिसकेको छ ।
सन् २०१० मा काठमाडौंमै ग्रिनफोर्ड विश्वविद्यालले उनलाई मानार्थ विद्यावारिधि दिएको थियो । अमेरिकामा रहेको भनिएको विश्वविद्यालयको विद्यावारिधि उपाधि विवादमा परेको थियो ।
औपचारिक शिक्षाका रूपमा प्रधानमन्त्री ओलीले एसएलसी पास गरेका छन् ।
तपाईको प्रतिक्रिया