३० गतेसम्म पृथ्वी राजमार्ग अवरुद्ध

समाधान संवाददाता २०७६ जेठ १६ गते ११:५०

कृष्ण न्यौपाने
दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि निर्माण भएको आर्च ब्रिजमा सतह मिलाउनका लागि बिहीबारदेखि राजमार्ग अवरुद्ध हुने भएको छ । तनहुँको भागमा पुलभन्दा सडक २ मिटर अग्लो भएपछि राजमार्ग अवरुद्ध गरेर सतह मिलाउन लागिएको हो ।

सडक कटिङ गरी आवश्यक सतह मिलाउनुपर्ने भएकाले ३० गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र राति ९ बजेदेखि बिहान २ बजेसम्म सडक अवरुद्ध हुने सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पुल योजना मध्य क्षेत्र सेक्टर नं २ ले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले सडक अवरुद्ध हुनेबारे जिल्लाका यातायात व्यवसायीलाई जानकारी गराइएको बताए । उनले भने, ‘सर्वसाधारणले दुःख नपाऊन् भन्नका लागि यसबारेमा पूर्व जानकारी गराउन यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।’

Advertisement

करिबसय मिटर परसम्म सडक गहिरो बनाएर पुलसँग जोड्ने तयारी छ । सबै काम सकेर असार पहिलो साताबाट पुल सञ्चालनमा ल्याइनेछ । हाल सञ्चालनमा रहेको पुल जीर्ण बनेपछि विसं २०६९ फागुन २३ गते नयाँ पुल निर्माण सुरु भएको थियो ।

एलाइट एड्भेञ्चर लोहनी जेभीले १२ करोडमा पुल बनाएको हो । २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीले नक्सांकन लगायतका विविध कारण देखाउँदै थप समय मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदै छ । १ सय ६० मिटर लामो सो पुलको आर्चको भाग १ सय २० मिटर छ । पुल फुटपाथसहित ११ मिटर चौडा छ । यो पुल बनेपछि चिनियाँ प्राविधिक झिकाएर पुरानो पुल मर्मत गरी दुबै पुल प्रयोग गर्ने योजना छ ।

Advertisement

तपाईको प्रतिक्रिया