विकासमा दीर्घकालीन सोच

समाधान संवाददाता २०७६ जेठ १६ गते १२:४३

भण्डै ५ दशकअघि पोखरालाई मुख्य २ राजमार्गले जोडे । राजधानी काठमाडौंसँग पृथ्वी राजमार्ग र भारतीय सहर सुनौलीसँग सिद्धार्थ राजमार्गले जोडेपछि पोखराको विकासले एक खालको गति लियो । त्यतिबेलाको जनसंख्या, सवारी चापका कारण ती सडक ‘चाक्ला’ थिए । तर अहिले आएर तिनै सडक हामीलाई साँघुरा भएका छन् ।

एसियाली विकास बैंकले पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड सडकलाई चाक्लो पार्न चासो देखाएको छ । गण्डकी सरकारले प्रदेशको ‘लाइफलाइन’ भनेको सडक चाक्लिएपछि पक्कै पनि पोखरा–काठमाडौंको यात्रा दूरी छोट्टिने छ । दूरी छोटिँदाको लाभ गाडीको आयुदेखि इन्धन बचतबाट उठाउन सकिन्छ ।

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको दीर्घकालीन सोच नभएकै कारण नेपालको विकास उल्टो गतिमा हुने गरेको तथ्य हामीसामु छिपेको छैन । राजमार्ग बनिसकेपछि धेरै ठाउँमा नयाँ बस्ती बसे । कतिले त सहरकै रुप पनि लिए । अहिले राजमार्ग विस्तारका लागि त्यस्ता बस्तीका सयौं घर बाधक बनेका छन् ।

मुग्लिन–पोखरा खण्डको ८८ किलोमिटरमध्ये आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८० किलोमिटरको सम्भाव्यता अध्ययन भइसकेको छ । बाँकी ८ किलोमिटरको अध्ययन भइरहेको छ । मुग्लिनदेखि आँबुखैरेनीसम्मको खण्डमा कडा पहाडी चट्टान भएकाले त्यसको विकल्प खोजिएको छ ।

मुग्लिनभन्दा पूर्व पुल बनाएर त्रिशुली पारीबाट २ लेनको बाटो बनाएर आँबुखैरेनी बजारभन्दा केही तल जोड्ने एडिबीको योजना छ । उक्त खण्डमा जलविद्युत आयोजना परेकाले पनि विकल्प खोजिएको हो । बाटो चक्ल्याउनका लागि एडिबी नेपाल सरकारसँग ऋण सम्झौताको तयारीमा छ । यो बाटो बनिसकेपछि ओहोरदोहोरका लागि जति सजिलो हुनेछ, त्योभन्दा पहिला निर्माण थाल्नु अघिका प्रक्रिया उत्तिकै झन्झटिला छन् ।

त्यसो त एडिबी र वल्र्ड बैंकको प्रशासनिक प्रक्रिया आफैंमा लम्बेतान छ । नेपाल सरकारमातहतका निकायको समन्वयको अभाव उस्तै छ । बाटोको बीचमा पर्ने घर हटाउन सरकारलाई फलामका चिउरा चपाए सरह हुनेछ । एडिबीको प्रावधान अनुसार मुआब्जाको प्रचलन छैन । उनीहरु सम्बन्धित ठाउँबाट हटेवापत क्षतिपूर्ति दिइन्छ । यसका लागि सरकारले बेलैमा पहल थाल्नुपर्छ ।

अर्को समस्या हो, रुख कटानको । एउटा रुख काटेवापत २५ वटा बिरुवा रोपेर हुर्काउनुपर्ने हुन्छ । यहाँ त रुख काट्ने प्रक्रिया पुर्‍याउनै समस्या छ । सडक विभागका कर्मचारीका अनुसार प्रक्रिया पूरा गरेर एउटा रुख काट्नै ६ महिना लाग्छ । अर्को समस्या निर्माण सामग्रीको हो । २७ लाख घनमिटरभन्दा बढी ढुंगा गिटी र बालुवा बिना अवरोध निकाल्नका लागि सरकारले माहोल बनाइदिनुपर्नेछ ।

बजार क्षेत्रमा ६ र अन्य क्षेत्रमा ४ लेन हुने गरी सडक विस्तार हुँदैछ । बीचमा पर्ने पुललाई पनि उसैगरी व्यवस्थापन गर्नुपर्ने छ । ससाना खोल्साखोल्सीमा कल्भर्ट र कजवेले पनि निर्माण खर्च बढाउँछ । दमौलीको पुल धेरै नै पुरानो भएकाले नयाँ बनाउनुपर्ने छ । त्यसैगरी अन्तिम बिन्दु पोखराको सेती नदीमा पनि थप २ लेनको पुल बनाउने गरी डिजाइन तयार भएको छ । पोखराको बस्ती पूर्वतिर विस्तार हुँदैछ ।

तसर्थ अब फेरि ४ लेनकै बाटोमा अल्झिँदा पोखरालाई धोका हुन सक्छ । त्यसैले पोखरादेखि कम्तीमा पनि खैरेनीटारसम्मको बाटो ६ लेनको बनाउनुपर्छ । अनि पृथ्वीचोकमा भएको पुलको तलमाथि १÷१ वटा थप पुल बनाएमात्र यहाँको यातायातको चाप थेग्न सक्ने हुन्छ । त्यसैले विकासमा दीर्घकालीन सोच राखौं, ताकी आउने पुस्ताले समेत सम्झिरहोस् ।

तपाईको प्रतिक्रिया