विश्वकपमा आज भिड्ने टिमका २ उत्कृष्ट खेलाडी

समाधान संवाददाता २०७६ जेठ १७ गते ८:३०

एजेन्सी

क्रिस गेल (वेस्ट इन्डिज)
विश्व क्रिकेटमा क्रिस गेलको नाम शीर्ष स्थानमा आउँछ । आफ्नो जीवनको अन्तिम विश्वकप खेल्दै गरेका गेल वेस्ट इन्डिजका मुख्य हतियार हुन् । क्रिकेटका बादशाह गेलको विशेषता भनेकै आक्रामक ब्याटिङ हो । गेलको ब्याटिङलाई निस्तेज पार्न जस्तोसुकै बलरलाई हम्मेहम्मे गर्दछ । उनी बेला बखत बलिङ पनि गर्छन् ।

६ फिट चार इन्च अग्ला गेलको आक्रामक ब्याटिङ विपक्षी टोलीका बलरलाई सधैं चिन्ताको विषय हुने गर्छ । क्रिकेट जगत्का ‘युनिभर्सल बोस’ भनेर चिनिने गेलमा छक्का र चौका हान्ने क्षमता बेजोडको छ । उनी विश्वकै आक्रामक ब्याट्सम्यान हुन् ।

Advertisement

सन् २०१५ को विश्वकपमा पनि गेलले जिम्वाब्बेविरुद्ध दुई सय १५ रनको दोहोरो शतक बनाएका थिए । ३९ वर्षीय गेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ८९ खेल खेलेर १० हजार एक सय ५१ रन बनाएका छन् । जसमा गेलले २५ शतक र ५१ अर्धशतक बनाएका छन् । ९७ वटा एकदिवसीय खेलमा देशको प्रतिनिधित्व गरिसकेका गेलको औसत ब्याटिङ क्षमता १०० देखि ५० रनको छ ।

ढल्कँदो उमेरमा पनि उच्च लयमा देखिएका गेल यसपटक आफ्नो करिअरकै अन्तिम विश्वकपको उपाधि बेस्ट इन्डिजलाई दिलाएर बिदा हुन चाहन्छन् । शुक्रबार वेस्ट इन्डिजले जारी विश्वकपको पहिलो खेल खेल्दा गेल पाकिस्तानी बलरका लागि पनि टाउको दुखाइ बन्ने देखिन्छ ।

Advertisement

हसन अली (पाकिस्तान)

पाकिस्तानले विश्वकपको पहिलो खेलमा वेस्ट इन्डिजसँग खेल्दा उसको मुख्य हतियार बलिङ हो । बलरहरूको बाहुल्य रहेको पाकिस्तानले हसन अलीबाट यो विश्वकपमा ठूलो आशा गरेको छ ।

२४ वर्षीय हसनको बलिङ क्षमता बेजोडको छ । बायाँहाते मेडियम फास्ट बलर हसन अहिले पाकिस्तानका मुख्य हतियार हुन् । टोलीलाई आवश्यक पर्दा विकेट लिने हसनले विश्वकपअघि इङ्ल्यान्डसँग खेलिएको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । हसनले इङल्यान्डविरुद्धको खेलमा एक विकेट लिएका थिए ।

एकदिवसीयमा पाकिस्तानका लागि ४९ खेल खेलिसकेका हसनले ८० विकेट लिइसकेका छन् । हसनले एउटै खेलमा जम्मा ३४ रन दिएर पाँच विकेट लिएका छन् । अलराउन्डर प्रदर्शन क्षमता भएका हसनको ब्याटिङ पनि राम्रो छ । उनले एकदिवसीयमा ४९ खेलमै ब्याटिङ गरेका छन् । जसमा उनले १३।१६ रनको औसतमा रन बनाएका छन् । हसनको बलिङको सामना गर्न जस्तोसुकै ब्याट्सम्यानलाई पनि हम्मे पर्छ । उनी उमेर समूहअन्तर्गत यू–१६ देखि पाकिस्तानी टोलीमा छन् ।

उनले टीट्वेन्टी क्रिकेटमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् । सन् २०१५ को नेसनल टीट्वेन्टी क्रिकेटका हसनले चार खेलका आठ विकेट लिएर तहल्का मच्चाएका थिए । ब्याट्म्यानको बाहुल्य रहेको बेस्टइन्डिजलाई निस्तेज पार्न हसन पाकिस्तानका मुख्य हतियार बन्न सक्छन् ।

तपाईको प्रतिक्रिया