ब्रिटिस गोर्खा भर्ती रोक्न माग गर्दै पोखरामा प्रदर्शन

पोखराको ब्रिटिस क्याम्प अगाडि बिहीबार धर्ना दिँदै ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सदस्य ।
सुजता गुरुङ, पोखरा
समान काममा असमान ज्याला भएको भन्दै ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले पोखरामा दबाबमूलक र्याली निकालेको छ । पोखराका विन्ध्यवासिनीबाट निकालिएको र्याली बुधबार पोखरा १६ दीपस्थित ब्रिटिस क्याम्पको गेटैमा धर्नामा परिणत भएको थियो ।
क्याम्पको गेटमा पुगेर उनीहरुले ब्रिटिश भर्ती स्थगन गर, मानव तस्कर बन्द गर, मानव अधिकार पालना गर, समान कामको समान दाम देऊ लगायत नारा लगाए ।
भूपू गोर्खाहरुमाथि २०४ वर्षदेखि ब्रिटिस सरकारले गर्दै आएको विभेद, अमानवीयताको अन्त्य गरी समानता एवं समान हैसियतको माग गर्दै शान्तिपूर्ण प्रदर्शन, धर्ना गरिएको समितिले जनाएको छ ।
कार्यक्रममा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके÷नेपालका प्रमुख संयोजक कृष्णबहादुर राईले आउँदो जुलाई १ तारेखसम्म नेपाल र ब्रिटिस सरकारले भूतपूर्व ब्रिटिस गौर्खा सैनिक समस्या सम्बोधन सम्बन्धी अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन २०७५, लागु गर्न संघर्ष समितिसँग वार्तामा आउन आग्रह गरे ।
पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले संयुक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरे । गोर्खाको माग पूरा नभए आन्दोलन सशक्त हुने चेतावनी दिँदै उनले दुवै सरकारले वार्ता समिति बनाउनुपर्ने माग गरे । वार्ता समिति गठन पनि नगर्ने, संयुक्त प्रतिवेदन कार्यान्वयनमा आनाकानी वा वेवास्ता गरे दुर्भाग्य निम्तन्छ भन्दै उक्त अवस्थामा गोर्खा भर्ती समेत बन्द हुने चेतावनी दिए ।
संघर्ष समितिका नेपाल संयोजक एलबी घिसिङले वार्ताबाट माग पूरा नगरे गोर्खा भर्ती स्थगत हुनुपर्ने भन्दै तुरुन्त संघर्ष समितिको न्यायोचित माग पूरा गर्न नेपाल र ब्रिटिस सरकारसँग आग्रह गरे ।
गोर्खा सत्याग्रह संघर्ष समितिका प्रवक्ता हिमाल राईले गोर्खा सैनिकको न्यायका लागि आन्दोलन सशक्त बनाइने चेतावनी दिँदै आगामी आन्दोलनलाई मानव अधिकारको आन्दोलनको रुपमा विकास गरिने बताए ।
गोर्खा मेजर चन्द्रबहादुर पुनले गोर्खाहरुले समनताको अधिकार मागेको हो भिख मागेको होइन भन्दै न्यायका लागि सबै आन्दोलित हुनुपर्ने बताए । विन्ध्यवासिनीबाट सुरु भएको शान्ति र्याली सहितको धर्ना एवं विरोध सभामा भूपू गोर्खा सैनिक लगायत नागरिक समाजको बृहत सहभागिता थियो ।
तपाईको प्रतिक्रिया