माथ्लो मुस्ताङमा पर्यटनका सम्भावना खोज्दै नाट्टा

समाधान संवाददाता
पोखरा
अनौठो भूस्वरुप भएको मुस्ताङ घुम्न स्वदेशी र विदेशीको लर्काे लाग्न थालेको छ । पोखरा मुस्ताङ जाने मुख्य मार्ग हो । यहाँका पर्यटन व्यवसायीले दशकौंदेखि पर्यटकलाई मुस्ताङ र अपर मुस्ताङ पठाउँदै आएका छन् ।
अरुलाई मुस्ताङ सिफारिस गर्ने पर्यटन व्यवसायीहरु आफैं यो साता मुस्ताङ यात्रामा निस्किए । नाट्टा गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, टान, रेबान, एनएमए, नारा, ना लगायत संस्थाका प्रतिनिधिसहितलाई मुस्ताङ यात्राको चाँजोपाँजो मिलाएको हो । ४२ सदस्यीय टोलीलाई जेठ ११ गते कास्कीबाट निर्वाचित प्रदेश सांसद राजीव पहारी र मुस्ताङबाट निर्वाचित सांसद इन्द्रधारा विष्टले बिदाइ गरेका थिए ।
पहिलो दिन म्याग्दी पुगेर टोलीले पर्यटन प्रवद्र्धनबारे त्यहाँका होटल व्यवसायीसँग छलफल गर्यो । म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले म्याग्दीमा पर्यटकको बसाइ निकै छोटो हुने भएकाले व्यवसाय धराशायी बन्दै गएको चिन्ता जनाए । उनले भने, ‘तातोपानी, मालिका, टोड्केको धुरी, मल्लाज, गलेश्वरधाम जस्ता आकर्षण भए पनि हामीले यी सम्पदा प्रचार गर्न सकेनौं । पर्यटन यहाँ रोकिएनन् ।’
दोस्रो दिन जोमसोम हुँदै टोलीले कागबेनी र मुक्तिनाथ भ्रमण गरेको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि भारतीय पर्यटक उल्लेख्य मात्रामा मुक्तिनाथ आउन थालेको बताए । उनले मुक्तिनाथ गण्डकी प्रदेशकै परिचय भएको विचार राखे ।
१३ गते पर्यटन व्यवसायीको टोली कोरला नाका पुग्यो । चीनतर्फको सिमानामा भन्सार कार्यालय लगायतको निर्माण भए पनि नेपालतर्फ काम भएको छैन । नाट्टा गण्डकी अध्यक्ष सन्तोष पोखरेल कोरला नाका खोल्ने भाषण निकै सुने पनि नेपालको तयारी नभएको देख्दा चिन्तित भएको बताए । उनले भने, ‘सरकारले पूर्वाधार तयार गरी चाँडै नाका खोल्नुपर्छ । नेपाली चीन व्यापारसँगै पर्यटनका लागि पनि यो ठाउँ अनुपम छ ।’
कोरालाबाट फर्केको टोलीले छोसेरमा रहेको ऐतिहासिक झोङ गुफा अवलोकन गर्यो । १०८ झोङ गुफा ५ तले छ । यहाँ कुनै बेला खम्पा विद्रोही बस्ने गरेको स्थानीय बताउँछन् । सोमबार लोमान्थाङका होटल व्यवसायीसँग पर्यटन प्रवद्र्धनबारे अन्तक्र्रिया गर्यो ।
होटल व्यवसायी संघ लोमान्थाङ अध्यक्ष छेबाङजिग्मे विष्टले विदेशीलाई माथिल्लो मुस्ताङ प्रवेशमा लिइने शुल्क घटाउन माग गरे । विदेशी पर्यटकले अपर मुस्ताङ प्रवेशका लागि सरकारलाई ५ सय डलर र एक्यापलाई २ हजार २ सय शुल्क तिर्नुपर्छ ।
सरकारले लिएको ५ सय डलर १० दिनका लागि हो । थप समय बस्दा हरेक दिन ५० डलर तिर्नुपर्छ । अध्यक्ष विष्ट भन्छन्, ‘प्रवेश शुल्क चर्काे लिएर पर्यटक नआएपछि पर्यटन प्रवद्र्धनको अर्थ हुँदैन । प्रवेश शुल्क लिएर संस्कृति जोगिने होइन, युवालाई सचेत र रोजगारी बनाऔं ।’
कार्यक्रममा टान पोखरा अध्यक्ष हरि भुजेलले प्रवेश शुल्क घटाउने भन्दा गुणस्तरीय पर्यटनमा जोड दिन सुझाव दिए । सोमबारै टोलीलाई चराङमा गाउँपालिकाले स्वागत गरेको थियो । मंगलबार म्याग्दीको तातोपानी, गलेश्वरधाम हुँदै बागलुङको पञ्चकोट पुगेर टोलीले बागुलङ कालिका परिसरमा त्यहाँका व्यवसायीसँग छलफल गर्यो । भ्रमण कार्यक्रम संयोजक कुलचन्द्र शर्माले मुस्ताङ र आसपासका क्षेत्रको भ्रमण फलदायी भएको बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया