तनहुँको शुक्लागण्डकीका किसानलाई वडाबाटै अनुदान

समाधान संवाददाता २०७६ जेठ १७ गते १३:०९

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका १२ को कार्यालयले किसानलाई प्रोत्साहन गर्न १ लाख रुपैयाँसम्म अनुदान प्रदान गरेको छ । फिरफिरेका ५० जना विपन्न तथा बाख्रापालक किसानलाई गणतन्त्र दिवसको अवसरमा बुधबार अनुदान प्रदान गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

उनीहरुलाई २० हजारदेखि १ लाख रुपैयाँसम्म दिइएको हो । लामागाउँका किसान तिलबहादुर गुरुङ र लिलाचोकका मीनबहादुर गुरुङलले १÷१ लाख रुपैयाँ अनुदान पाए । उनीहरुले आधुनिक खोरमा १५ वटा बढी माउ बाख्रा पालेका छन् ।

Advertisement

पशुपालन र कुखुरापालनका लागि ११ विपन्न परिवारलाई २० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको उनले उल्लेख गरे । २५ जना बाख्रापालक किसानलाई ३० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको छ । ३० हजार रुपैयाँ पाएका किसानले कम्तीमा ५ वटा माउ बाख्रा र व्यवस्थित खोर बनाएका छन् । १० भन्दा बढी माउ बाख्रा पालेका र व्यवस्थित खोर बनाएका ९ जना किसानले ५० हजार रुपैयाँ अनुदान पाएका हुन् ।

चालु आर्थिक वर्षमा विनियोजित २२ लाख रुपैयाँ बजेटबाट किसानको मुल्यांकन गरी अनुदान दिएको वडाध्यक्ष गुरुङले बताए । अनुदान दिइएको किसानलाई निरन्तर अनुगमन गरिने उनले जानकारी दिए । ‘हामीले दिएको अनुदानले व्यवसायिक फड्कोसँगै आर्थिकरुपमा सशक्त बन्नुहोला,’ उनले भने, ‘कृषि, पशुपालन र पर्यटनबाट नै वडालाई समृद्ध बनाउन सकिन्छ ।’

Advertisement

वडाका भैंसीपालक ७ किसानलाई समेत २५ प्रतिशत अनुदानमा ३५ हजार बढी मुल्य पर्ने घाँस काट्ने मेसिन वितरण गरिएको छ । शुक्लागण्डकी नगरपालिकाको १ वडा १ उत्पादन नीति अनुसार फिरफिरेमा बाख्रा पालन गरिएको छ । वडाको ११ टोलमा उन्नत जातको बोयर बोका अनुदानमा उपलब्ध गराएको छ ।

अनुदानको कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरतरता दिइने वडाले जनाएको छ । फिरफिरेलाई कृषि र पशुपालनमा आत्मानिर्भर बनाउँदै निर्यातमुखी बनाउने योजना रहेको गुरुङले सुनाए । अनुदान लिएपछि किसान मीनबहादुर गुरुङले वडाप्रति आभार व्यक्त गरे । ‘गाउँमै केही गर्ने हो भने प्रशस्त सम्भावना छ,’ उनले अगाडि थपे, ‘व्यावसायिक रुपमा अगाडि बढाउन सके युवा विदेशिनु पर्दैन ।’

तपाईको प्रतिक्रिया