म्याग्दी खबरः पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयाेग

समाधान संवाददाता २०७६ जेठ १८ गते ९:३०

राकेश शर्मा

बेनी नगरपालिका ९ गलेश्वर रघुघाट नदीमा निमार्णधीन गलेश्वर पिप्ले मोटरेबल पुलको काममा रोक लगाइएको छ । निर्माण सामग्री गुणस्तरहीन भएको भन्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा रोक लगाएको हो ।

जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला पूर्वाधार विकास कार्यालयका डिभिजन इन्जिनियर ओमराज ढुंगाना, प्रहरी नायब उपरीक्षक लगायतको टोलीले पुल अनुगमन गरेको थियो ।

Advertisement

टोलीले निर्माणस्थल अनुगमनपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राविधिकले गुणस्तर निर्धारण नगर्दासम्म पुलका सबै काम स्थगित गर्न निर्र्देशन दिएको प्रजिअ अधिकारीले बताए ।

गुणस्तरहीन सामग्री प्रयोग भइरहेको गुनासो आएपछि जिल्लाबाट गएको प्राविधिकसहितको टोलीले धुलो बालुवा र धेरै साना गिट्टी प्रयोग गरी पुल निर्माण गरेको भेटेपछि तत्काल काम रोक्न निर्देशन दिएको प्रजिअ अधिकारीको भनाइ छ ।

Advertisement

पुलको फाउन्डेसनको काममा नै गुणस्तरहीन सामग्री प्रयोग भएको र यस्तै सामग्री प्रयोग गर्ने हो भने पुल कच्ची हुने रघुगंगा गाउँपालिका प्रमुख भण्डारीले प्रशासनलाई जानकारी गराएका थिए ।

पुल निर्माण गरिरहेको शर्मा गजुरमुखी युनाइटेडकी इन्जिनियर सोनारी क्षेत्रीले भने आफूहरुलाई आयोजनाले पुलमा कालीगण्डकी नदीको मसिनो बालुवा र गिटी नै प्रयोग गर्न मिक्स डिजाइन दिएको दाबी गरेकी छिन् । स्टमेटमा जे छ त्यही अनुसार नै काम गरेको उनले बताइन् ।

रघुुघाटको पिप्लेपट्टि पक्की पुलको फाउन्डेसन राख्न ढलानको काम भइहेको छ । ठेकेदारले समयमा काम नगर्दा बेनी–जोमसोम र उत्तरी भेग जोड्ने बेलिब्रिज पनि जोखिममा रहेको स्थानीयको भनाइ छ । २ वर्षदेखि फाउन्डेसनको काम अलपत्र हुँदा बेलीब्रिजमात्र होइन गलेश्वरतिरको बस्ती पनि बाढीको जोखिममा परेको छ । पुलको लम्बाइ ४० मिटर छ ।

तपाईको प्रतिक्रिया