महानगरको योजनाः नीति तथा कार्यक्रम एकातिर बजेट अर्कोतिर

समाधान संवाददाता २०७६ जेठ १९ गते ८:४३

समाधान संवाददाता

पोखरा महानगरपालिकमा योजना तर्जुमा परम्परागत ढंगले हुँदै आएका कारण विकासको गति लिन नसकेको १ अध्ययनले देखाएको छ । सयपत्री समाजका लागि अमृतकुमार भण्डारीले गरेको अध्ययन प्रतिवेदनमा योजना तर्जुमा प्रक्रियामै महानगर अलमलिएको उल्लेख छ ।

पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत भण्डारीले ६ महिना लामो अध्ययन गरेका थिए । अध्ययनको निश्कर्ष सार्वजनिक गर्दै भण्डारीले भने,‘महानगरले परम्परागत किसिमकै योजना तर्जुमा प्रक्रिया जारी राख्दा नेतृत्वको सिर्जनशील क्षमता तथा कल्पनाशीलतताको प्रयोग हुन नसकेको पाइयो ।’

Advertisement

योजना तर्जुमामा अझै पनि टोल विकास संस्था र स्थानीय अगुवाको हालिमुहाली रहेको भन्दै भण्डारीले यसम जनप्रतिनिधिको पूर्ण नियन्त्रण नहुँदासम्म पोखरा र पोखरेलीले सममयानुकुल समृद्धि हासिल गर्न कठीन देखिएको निश्कर्ष सुनाए । महानगर नेतृत्वका प्रमुख २ काममध्ये प्रशासनिक जिम्मेबारी विकास योजनाको निर्माण तथा कार्यान्वयन गर्ने जिम्मेबारीमाथि हाबी रहेको उनले बताए ।

प्रतिवेदनमा महानगरको पाश्वचित्र र आवधिक योजना सकेसम्म छिटो बनाएर अगाडि बढ्न सुझाव दिइएको छ । नीति योजना तथा कार्यक्रमबीचको तादत्म्यता प्रभावकारी बनाउँदा राम्रो हुने सुझाव महानगरलाई दिएको अध्येता भण्डारीले बताए । उनले भने,‘वार्षिक कार्यक्रमहरु महानगरले लिँदै आएको नीतिमा आधारित गरी तर्जुमा गर्दा राम्रो हुने थियो ।

Advertisement

नीति योजना तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा विभिन्न विषयका विज्ञहरुको राय सुझाव, तथा ज्ञानको पनि सदुपयोग गर्न समाजले सुझाव दिएको छ । ‘परम्परागत योजना तर्जुमा प्रक्रियाबाट बाहिर निस्की नगरवासीले समायानुकुल र समान रुपमा सहभागी हुन सक्ने योजना तर्जुमा प्रक्रिया अपलम्बन गर्दा राम्रो हुनेथियो,’ सुझावमा उल्लेख छ ।

महानगरमा आवधिक योजना नै नबन्दा विकास कसरी गर्ने भन्ने बारेमा नेतृत्व अलमलमा परेको पाइएको छ । विभिन्न खाले सीप भएका प्राविधिक जनशक्ति नहुँदा पनि महानगरले गति लिन नसकेको भण्डारीले बताए । विद्यमान नियम तथा मापदण्डको उल्लंघन, स्थानीय जनताका आकांक्षाका चाङ बढ्दै जानु, नेतृत्वको दृष्टि वार्षिक कार्यक्रमहरुमा प्रभावकारी रुपमा प्रतिविम्बित नहुन मुख्य चुनौती रहेको अध्येता भण्डारीले सुनाए ।

पोखराका गौरव शीर्षकमा १२ वटा योजना संलग्न गरिए पनि ती योजनाका लागि बजेट भने विनियोजन नगरिएको पाइएको भण्डारीले खुलाए । नीति, योजना, कार्यक्रम तथा बजेट बीचमा प्रष्टसँग सम्बन्ध नदेखिएको अध्ययनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया