५ तले सिजाझोङ गुफामा मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ जेठ १९ गते १३:५९

सुन्दरकुमार थकाली
मुस्ताङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार ५ तले सिजाझोङ गुफा पुगे । उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिकाले आयोजना गरेको पहिलो लोमान्थाङ महोत्सव उद्घाटन गर्न छोसेर पुगेका मुख्यमन्त्री गुरुङसहितको टोलीले गुफामा करिब १५ मिनेट बितायो ।

३ हजार वर्ष पुरानो मानिएको गुफामा पुगेर मुख्यमन्त्रीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । करिब ७० वटा कोठा भएको गुफा हेर्न मुख्यमन्त्रीसहित सांसद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत लगायत पुगेका थिए । यो गुफा पूरापूर्व कालमा दुश्मनबाट सुरक्षित रहने मानव निर्मित दरबार मानिन्छ ।

Advertisement

मुख्यमन्त्रीले स्थानीय समुदायको सांस्कृतिक घोडा दौड र भेडा, च्याङ्ग्रालाई भारी बोकाएर मालसामान ढुवानी गर्ने परम्परा पनि अवलोकन गरे । कोरलानाका खोल्न, लोमान्थाङको कृषि र पर्यटन प्रर्वद्धन लोमान्थाङ गाउँपालिकाले महोत्सव गरेको हो । पोखराबाट हेलिकप्टर चढेर छोसेर पुगेको मुख्यमन्त्रीसहितको टोलीलाई स्थानीयले स्वागत गरे ।

हेलिप्याडबाट १ किलोमिटर घोडा चढेर कार्यक्रम स्थल पुगेका मुख्यमन्त्री गुरुङले मुस्ताङको भूगोलमा अदम्य शक्ति लुकेको बताए । मुस्ताङमा खनिज ,ग्यास, शालिग्राम, नून खनिजको भण्डार रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले त्यसको अन्वेषण गर्न केन्द्रीय सरकारले नीति ल्याउनुपर्ने बताए । पछिल्लो समय सरकारले नाकाकै लागि सडक विस्तार, भन्सार लगायतका पूर्वाधारका लागि जग्गा व्यवस्थापन तथा संरचना निर्माणका लागि बजेट बिनियोजन गरेकाले अब सबै काम एकैसाथ प्रक्रिया अघि बढ्ने दावी गरे ।

Advertisement

कोरलानाका खुला भएमा मानसरोबर जानका लागि भारतिय तीर्थालु उल्लेख्य रुपमा आउने उनको भनाइ छ । ४० प्रतिशत मुस्ताङी गरिबीको रेखामुनी रहेकाले विकासको ढोका खोल्न प्रदेशले अल्पकालीन तथा दीर्घकालीन योजनासहितको बजेट तयारी गरेको उनले जानकारी दिए ।

गण्डकी प्रदेशले हिमाली जिल्ला मुस्ताङलाई फिल्मी सिटीको रुपमा विकास गर्न करोड बजेट विनियोजन गरेको तर कर्मचारी अभावले प्रक्रिया अघि बढ्न नसकेको जनाए । उनले भने, ‘खानेपानीका लागि घरघरमा धारा, खेत खेतमा सिचाई र माइक्रो हाईड्रो सम्भावना अध्ययनका लागि गृहकार्य हुँदै छ ।’ प्रदेश सरकारले ७० प्रतिशत अनुदानमा १ लाख स्याउका बिरुवा वितरण गर्ने तयारी गरेको छ ।

सांसद प्रेमप्रसाद तुलाचनले कोरलानाका खोल्न चिनिया अधिकारीसँग कुरा उठाएको तर विगतमा हुने गरेका घटनाले चीन अझै विश्वस्त हुन नसकेको बताए । उनले छिट्टै चराङ विमानस्थलको डिपिआर हुने जानकारी दिए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले संघीयता गाउँको बिकासका लागि ल्याइएको र त्यसैको जगमा गण्डकी प्रदेशले काम गरिरहेको बताए ।

सो अवसरमा प्रदेश सांसद इन्द्रधारा विष्ट, अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, सुवर्णकुमार बिष्ट, उपाध्यक्षद्वय शमिला गुरुङ र पेमाडोल्मा बिष्ट, एक्याप मुस्ताङ प्रमुख तुलसी दाहाल लगायतले मुस्ताङको बृहत्तर विकासका लागि ३ सरकार नै समन्वय जरुरी भएको बताए । कार्यक्रम लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत सुशील अर्यालले सञ्चालन गरेका थिए ।

उपल्लो मुस्ताङको ४ हजार ३ सय मिटर उचाइमा लोमान्थाङ गाउपालिकाले महोत्सव गरेको हो । ‘कृषि, खेलकुद, संस्कृति गुफा अनि दरबार, प्रथम लोमान्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार’ भन्ने नारासहित भएको महोत्सवमा १७ वटा स्टल छन् ।

महोत्सवका आर्कषणमा प्राचीन गुफा अवलोकन, गुफा रेस्टुेन्ट एन्ड केभ, याकमा सवार, कोरलानाका भ्रमण, स्थानीय भेषभूषासहित परम्परागत घोडा दौड प्रतियोगिता, भलिबल, होर्तो(उन काट्ने), टेपकुरु प्रतियोगिता, तारो हान्ने, पाक बनाउने लगायत छन् । महोत्सव आइतबार सकिने महोत्सव मुल आयोजक समिति सचिव सुशील अर्यालले जानकारी दिए । गुफा हेर्नलाई विदेशी पर्यटकलाई प्रतिव्यक्ति १० डलर र नेपाली पर्यटकलाई सय रुपैयाँ शुल्क लाग्छ ।

तपाईको प्रतिक्रिया