कमाई फुत्किने डरले वकिल नै मेलमिलापको वाधक

समाधान संवाददाता २०७६ जेठ २० गते ८:३४

समाधान संवाददाता

तमु धिं नेपालका सदस्य जुमकाजी गुरुङसँग जोडिएको एउटा मुद्दा थियो । जिल्ला अदालत कास्कीको इजलाशले उक्त मुद्दा मेलमिलापका लागि पठायो । लामो प्रयासपछि दुवै पक्ष मेलमिलापका लागि तयार भए । दुवै पक्ष खुसी भए । तर उक्त खुसी लामो समय टिकेन । कारण थियो, कानुन व्यवसायीको व्यवहार ।

मेलमिलाप कक्षमा छिर्ने बित्तिकै ती कानुन व्यवसायीले आफ्नो पक्षलाई भने,‘कहाँ मेलमिलाप गरेर घाटामा पर्नुहुन्छ, यो मुद्दामा तपाईंको जीत पक्का छ, मिलेर किन घाटामा पर्नुहुन्छ । मेलमिलाप परिषदले आइतबार पोखरामा गरेको अभिुखीकरणमा जुमकाजीले भने, ‘यहाँ त वकिल नै मेलमिलापकर्ता हुँदा रहेछन्, कमाइ फुत्किने डरले मिल्नै नदिने ।’

Advertisement

जुमकाजीले प्रस्तुत गरेको यो प्रतिनिधि उदाहरण मात्र हो । मेलमिलापमा कानुन व्यवसायी नै वाधक बनेका प्रशस्त दृष्टान्त छन् । मेलमिलाप परिषद विज्ञ समूह संयोजक केशरीराज पण्डित भन्छन्, ‘कानुन व्यवसायीकै कारण मेलमिलाप असफल भएको गुनासा धेरै आएका छन् । आफूले मुद्दा नपाएकै कारण कानुन व्यवसायीहरु पक्षलाई भड्काउन उद्दत रहेको गुनासो बढेको छ ।’

उच्च अदालतका पूर्व मुख्य न्यायाधीश समेतल रहेका पण्डितले कानुन व्यवसायीको यो व्यवहारलाई रिङरोडको ड्राइभरको संज्ञा दिए । ‘गाडी रोकेमात्र यात्रु आउँछन् भनेर अगाडि नबढ्ने ड्राइभरकोजस्तै व्यवहार देखाउनु भएन नि,’ उनले थपे, ‘जति अगाडि बढ्यो, उति यात्रु थपिन्छन् ।’

Advertisement

जिल्ला अदालत कास्कीका न्यायाधीश दीपेन्द्र अधिकारीले सुरुका दिनमा त मेलमिलापलाई कानुन व्यवसायीले ‘सौता’ जस्तै ठानेको बताए । पछि कानुन व्यवसायीलाई पनि मेलमिलाकर्ताको रुपमा समावेश गरेपछि केही मथ्थर भएको उनको भनाइ थियो । अहिले कतिपय कानुन व्यवसायीले मेलमिलापमा निकै राम्रो काम गरेको भन्दै उनले प्रशंसा समेत गरे ।

नेपाल बार एसोसिएसन पूर्व उपाध्यक्ष अधिवक्ता अनिता गुरुङ अरुले जे भने पनि आफूलाई भने मेलमिलाप गर्दा निकै आनन्द आउने बताइन् । उनले भनिन्,‘मुद्दा लेखेर बहस गर्दा टन्न पैसा आउँछ, तर मेलमिलापबाट मैले त्यो भन्दा बढी आनन्द लिन्छु । वैशाखमा मात्र ३ वटा मुद्दामा मेलमिलाप गराएको उनले सुनाइन् । पोखरा महानगरका मेयर, उपमेयर, गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न जातीय संस्था, व्यवसायिक संगठनका प्रतिनिधि कार्यक्रममा सहभागी थिए ।

मुद्दा वा विवादका पक्षबीचको विवादमा मान्य सहमतिमा पुग्न निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजकर्ताको रुपमा कार्य गर्ने र वार्ताको स्वेच्छिक र गोपनीय प्रक्रिया नै मेलमिलाप हो । नेपालमा २०४७ सालपछि गैरसरकारी संस्थाहरुले स्थानीय स्तरमा सामुदायिक मेलमिलाप प्रक्रिया भिœयाएका हुन् । अहिले स्थानीय तहमा न्यायिक अधिकार प्रत्यायोजन भएपछि यसले अझ व्यापकता पाएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सहजकर्ता कुनै स्वार्थबाट प्रेरित हुनेबित्तिकै मेलमिलाप प्रभावित हुने बताए । उपमेयर मञ्जुदेवी गुरुङले न्यायिक समितिले सकेम्म मेलमिलापबाटै विवाद समाधान गर्दै आएको सुनाइन् । कसैले समस्या लिएर आयो भने, आरोपितलाई समेत बोलाएर छलफल गर्दा विवाद मिलाउन सजिलो भएको उनको भनाइ थियो ।’

मेलमिलाप कर्ताले दुवै पक्षको भावना बुझेर कुरोको चुरो बुझी त्यही अनुसार उपाय अवलम्बन गरी कसैले पनि नहार्ने गरी विवाद समाधान गर्नुपर्छ । संयोजक पण्डितले भने,‘तर मेलमिलापकर्ता न्यायाधीश होइनन्, न्यायाधीशले मिसिल र कागजको आधारमा मुद्दा किनार लगाउँछन्, सहजकर्ताले त दुवैको जीत हुने गरी मिलाउनुपर्छ ।

माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले २ वटा वडामा मात्र भर्खर तालिम गरिएकोले मेलमिलापकर्ता छनोट गर्न बाँकी रहेको बताइन् । मादी गाउँपालिका उपाध्यक्ष विष्णु आचार्य पौडेलले कानुनको विज्ञ नहुँदा न्यायिक समितिको काम प्रभावित हुन नसकेको भन्दै कतिपय मुद्दामा यसरी मिलाइदेऊ भनेर दबाब समेत आउने गरेको बताइन् ।

थकाली सेवा समिति पोखराका उपाध्यक्ष गोविन्द गौचनले थकाली समुदायमा परापूर्व कालदेखि नै समाजभित्रै विवाद मिलाउने चलन रहेकाले अदालतमा कमै मुद्दा जाने बताए । उनले भने,‘पहिला परिवारभित्रै मिलाउँछौं, त्यहाँ नमिले समाजमा आउँछ, समाजले नसके बल्ल न्यायका लागि अदालत जाने हो, तर हाम्रो समुदायका सदस्य मुद्दा लिएक कमै अदालत जान्छन् ।’

वैदाम सामुदायिक केन्द्र अध्यक्ष मीना भट्टराईले अदालती र प्रहरीको प्रक्रिया झन्झटिलो हुने भएकाले अहिले पनि आफूहरुले स्थानीयस्तरमा विवाद मिलाउँदै आएको बताइन् । ‘जनप्रतिनिधि नभएका बेला त धेरै विवाद लिएर सामुदायिकमा आउने चलन थियो, अहिले केही घटेको छ, आएका विवाद सकेसम्म मिलाएरै पठाएका छौं,’ उनले भनिन् ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुलीले मेलमिलापकर्ताले अदालतबाट मिसिल नपाएको गुनासो गर्नु उपयुक्त नहुने भनाइ राखे । विवादको बिन्दुमा पुगेर मिलाउने काम मेलमिलाकर्ताको भएकाले कागज अध्ययन गर्न जरुरी नभएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया