—सम्पादकीय— बाच्छी र पाडी हुर्काऊ

समाधान संवाददाता २०७६ जेठ २० गते ११:५८


प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन गण्डकी सरकारले प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेका विधेयक गत साउनमै पारित गरेको छ । बोर्ड गठन भइसकेपछि चिनियाँ सरकारको सहयोगमा दुधालु गाई ल्याउनका लागि सम्झौता पनि भयो । तर सम्झौतासँगै किसानले विरोध पनि थाले । यहाँको हावापानीमा अभ्यस्त नभएका गाई ल्याएर सरकारले अनुदानको रकम खर्चिन मात्र लागे भनेर किसान र डेरी व्यवसायीले नै विरोध गरे । केही दिनमा सरकारले बोली फेर्‍यो । चीनबाट गाई होइन कि गाईका बाच्छी ल्याउने हो ।

पहिलो पटकमा ४ सय बाच्छी परीक्षण स्वरुप ल्याउने तयारीमा प्रदेश सरकार छ । ती बाच्छीलाई यहाँ ल्याएको ६ महिनापछि ब्रिडिङ गराइन्छ । अर्थात् नेपाल ल्याएको डेढ वर्षपछि मात्रै त्यस्ता बाच्छीले उत्पादन दिन सुरु गर्नेछन् । नेपालमा परापूर्वकालदेखि नै गाईभैंसी पालन चल्दै आएको हो । आखिर अहिले आएर बाहिरी मुलुकबाट दूधालु गाई भैंसी ल्याउने दिन किन आयो भनेर सोच्नुपर्ने बेला आएको छ । अहिले फेरि गण्डकी प्रदेश सरकारले बाच्छी र पाडी हुर्काउने किसानलाई नगद अनुदान दिने बताएको छ । जुन कुरा निकै सकारात्मक छ ।

किसानहरु सिधैं नाफा मात्र खोज्ने, धेरै दुख गर्न नचाहने भएका कारण दूधालु गाईभैसीका लागि विदेशमै निभएर रहनुपरेको हो । अहिले किसानबीच एउटा भनाइ निकै चर्चित छ, ‘पाडीपाडी खाने, बाच्छाबाच्छी मार्ने ।’ पाडापाडी जन्मनेबित्तिकै खाने चलन छ ।

Advertisement

बाच्छाबाच्छीको हकमा भने कानुनले रोक लगाएका कारण दूध र पौष्टिक खाना नदिने, अनि सानै उमेरमा जंगल वा खुला ठाउँमा लगेर छाडिदिने चलन छ । स्थानीय जातका गाईका बाच्छा जोत्नका लागि प्रयोग हुने भए पनि जर्सी र होलिस्टेन जातका बाच्छा भने प्रयोग नहुने भएकाले जन्मने बित्तिकै माउबाट छुट्याइन्छ । त्यतिमात्र नभएर दूध दिन छाडेपछि गाईलाई छाडा रुपमा छाडिने भएकाले पनि सहर मात्र नभएर गाउँमा समेत समस्या थपिएको छ ।

सरकार किसानका लागि प्रेरणा दिने खालका कार्यक्रम नल्याउने, किसान पनि छोटा अवधिमा मनग्गे आम्दानी खोज्ने कारण अहिले मुलुक विस्तारै परनिर्भरताउन्मुख भइरहेको छ । भैंसी त बरु ब्याउन छाडेपछि या, दूध कम दिन थालेपछि मासुका लागि पनि प्रयोग हुन्छ तर गाई काट्न त कानुनी बन्देज छ । त्यसैले दूध नदिनासाथ कतिपय किसानले गाई छाडिदिने गरेका छन् । गाईवस्तु केबल दूधका लागि मात्र होइन । अब्बल मलका लागि पनि हो भन्ने कुरा किसानले नबुझेका कारण पनि समस्या थपिएको हो ।

Advertisement

किसानले प्रयोग गर्ने विकासे मलको २५ प्रतिशत हिस्सा पनि माटोले लिन पाउँदैन । कि पानीले बगाउँछ कि हावाले उडाउँछ । तर गोबर मलको धेरै हिस्सा माटोले लिन पाउँछ र दीर्घकालीन रुपमा उर्वरतासमेत बढाउँछ । एकातिर व्यावसायिकताको कुरा गर्ने अर्कोतिर धमाधम गाईंभैंसी बाहिरबाट ल्याउने गर्दा अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ ।

स्थानीयस्तरमै उन्नत जातको भालेको विर्य प्रयोग गरी त्यही अनुसारका पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्न सकिने प्रशस्त सम्भावना छ । यसले नेपालीको रकम बाहिरिनबाट जोगाउने मात्र होइन, यहाँको अर्थतन्त्रलाई समेत मजबुत बनाउँछ । गण्डकी सरकारले भनेजस्तै व्यवहारमा पनि गरेर देखाउने हो भने किसान पक्कै पनि बाच्छी र पार्डी हुर्काउने अभियानमा लाग्ने छन् ।

तपाईको प्रतिक्रिया