स्थानीयकै सक्रियतामा राजमार्ग चौडा

समाधान संवाददाता २०७६ जेठ २० गते १२:४१

कृष्ण न्यौपाने
दमौली

राजमार्गमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउँदा विरोधका स्वर सुनिन्छ, आन्दोलन पनि हुन्छ । प्रहरी लगाएरै राजमार्ग विस्तार गर्नुपर्ने अवस्था पनि आउँछ । तर पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका २ मा राजमार्ग विस्तार गर्ने क्रममा न प्रहरी परिचालित भए, न स्थानीयवासीले आन्दोलन गरे ।

जामुने बजारमा स्थानीयकै सक्रियतामा राजमार्ग चौडा पारिएको छ । न्यु भिजन युवा क्लबको नेतृत्व र जामुने टोल विकास संस्था, न्यु भिजन दिदीबहिनी समूह र भीमसेन टोल आमा समूहको सहभागितामा राजमार्ग छेउमा घरहरु भत्काई राजमार्ग चौडा पारिएको हो ।

Advertisement

राजमार्ग छेउमा रहेका १२ वटा घर भत्काई राजमार्ग फराकिलो बनाइएको न्यु भिजन युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले बताए । पृथ्वी राजमार्गको करिब १ किमी खण्डमा सडक क्षेत्रभित्रका घर टहरा डोजर लगाएर हटाइएको छ । उनले भने, ‘सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन कुनै पनि निकायले सक्रियता नदेखाएकाले युवा क्लबले आफ्नै खर्चमा ती संरचना हटाई सडक चौडा पारेको हो ।’ घरटहरा हटाई सडक चौडा पार्न करिब ३ लाख खर्च भएको छ ।

सडक क्षेत्र मिचेर घर टहरा निर्माण हुँदा सडक साँघुरो भई जामुने क्षेत्रमा धेरै सवारी दुर्घटना हुने गरेकाले सडक चौडा पार्न लागिपरेको उनको भनाइ छ । उनले भने, ‘सडक साँघुरो हुँदा पैदलयात्रु पनि सडकमै हिँड्न बाध्य थिए । बेला–बेलामा सवारी दुर्घटना हुने गरेको थियो ।’

Advertisement

जामुने टोल विकास संस्थाका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले सरकारी निकायले नै सडक अतिक्रमित संरचना हटाउनुपर्नेमा युवाको सक्रियतामा भएको कामको प्रशंसा गरे । उनले भने, ‘यो काम त सरकारी निकायले गर्नुपर्ने थियो, तर युवाको नेतृत्वमा स्थानीयको समेत सहभागितामा राम्रो कामको थालनी भएको छ ।’

न्यु भिजन युवा क्लबले जामुनेमा यस अघिदेखि नै रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया