आरोहणको ७० वर्षमा पनि ओझेलमै छ अन्नपूर्ण हिमाल

समाधान संवाददाता २०७६ जेठ २१ गते ८:०२

अमृत सुवेदी

सन् १९५० जुन ३ मा हिमाल आरोहणको इतिहासको जग बस्यो । जुन दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरो चुमे । यो नै ८ हजार मिटर अग्लो हिमाल आरोहण भएको पहिलो कीर्तिमानी हो ।

हर्जोगले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछिमात्रै सगरमाथा चुचुरोमा मानव पाइला परेको थियो । हिमाल आरोहणको इतिहास रचिएको सोमबार ठिक ६९ वर्ष पुगेको छ ।

Advertisement

पोखरामा पर्यटन क्षेत्रमा काम गरिरहेका केही संस्थाले ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण थालिएको दिनको सम्झना गरेका छन् । हर्जोगले अन्नपूर्ण चुचुरो चुमेपछि यहाँको व्यावसायिक पर्यटनको जग बसेको व्यवसायी बताउँछन् । पोखराका पर्यटन व्यवसायीले आरोहणको इतिहास रचेर अन्नपूर्ण र पोखरालाई चिनाएका हर्जोगको सम्झना गरेका छन् ।
सन् १९५० मा नेपाल विदेशी पर्यटकलाई खुला भएको थियो । त्यसै साल हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम आरोहण ग¥यो । यही क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धवलागिरी र मनासलु गरी ३ हिमाल छन् । ६ हजार मिटरका झन्डै २ दर्जन हिमाल अन्नपूर्ण क्षेत्रमा पर्छ । नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत अन्नपूर्ण क्षेत्रमा आउने तथ्यांक छ ।

अन्नपूर्ण प्रथम आरोहण गरेपछि हर्जोगले अन्नपूर्ण नामक किताब नै लेखे । जुन किताबले अन्नपूर्ण क्षेत्र र पोखरा अझ बढी विश्वसामु चिनाउने काम ग¥यो । त्यसपछि पोखरामा पर्यटकीय गतिविधि बढेको इतिहास छ ।

Advertisement

८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको इतिहास रचिएको दिन जुन ३ लाई अन्नपूर्ण दिवसका रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा अन्नपूर्ण क्षेत्र आयोजनाभित्र पर्ने मादी गाउँपालिकाको याङ्जाकोट होमस्टे गाउँमा पुगेर पर्यटन क्षेत्रका व्यक्तिहरुले आरोहण, पर्यटन र पोखराको मन्थन गरे ।

झन्डै ७ दशकको बीचमा अन्नपूर्ण चुचुरामा पुग्ने पाइलाहरु किन बढेनन् ? ट्रेकिङ रुटको नयाँ खोज, विकास, बिस्तार किन व्यवस्थित हुन सकेन ? अन्नपूर्ण प्रचार गर्ने र पर्यटक बोलाउन कुरामा को चुक्यो ? सरोकारवालाले समीक्षासमेत गरेका छन् ।

‘हर्जोग यहाँको व्यवसायिक पर्यटनको जन्मदाता हो । उनले अन्नपूर्ण चढेपछिमात्रै पोखराको पर्यटनको इतिहास लेखियो,’ पर्यटन व्यवसायी टीकाराम सापकोटाले भने, ‘उनीपछि मात्र पदयात्राको विकास भएको हो ।’

हर्जोगको अन्नपूर्ण प्रथम आरोहणको सफलताको बलले सगरमाथा आरोहण सफल भएको व्यवसायी बताउँछन् । नेपालको पर्यटनको मेरुदण्ड भनेकै पदयात्रा भएको उनको दाबी छ । तर, अन्नपूर्ण हिमाल आरोहण गर्ने नगन्यमात्र छन् । ‘हामीले अन्नपूर्ण प्रचार गर्न सकनौं । ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको इतिहासलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम ल्याएन,’ सापकोटाले भने, ‘क्लाइमिङ गाइड कम छन् । तालिम छैन ।’

केही समयअघिमात्र अन्नपूर्ण प्रथम आरोहण गरेका निङ्माडेभिड शेर्पा जोखिमपूर्ण नै भए पनि प्रचार पुग्ने हो भने आरोही आकर्षित गर्न सकिने बताउँछन् । उनी अहिलेसम्म ८ हजारभन्दा अग्ला ९ वटा हिमाल चढिसकेका छन् । पोखराबाट २५ दिनसम्ममा अन्नपूर्ण आरोहण गरेर फर्किन सकिने शेर्पा बताउँछन् । अन्नपूर्णमा जोखिम रहे पनि केटु हिमालजत्तिको नरहेको उनको अनुभव छ । अन्नपूर्णमा आकर्षण बढाउन प्रचार र प्याकेजका कार्यक्रम चाहिने शेर्पा बताउँछन् ।

‘सगरमाथाको बढी प्रचार भयो । नेपाल थाहा नहुनेलाई पनि सगरमाथा थाहा भयो,’ शेर्पा भन्छन्, ‘पहिलेको अन्नपूर्ण र अहिले फरक छ । आइसका डिक्काहरु खसेर गएका छन् । अलि बढी जोखिम छ । तर, सगरमाथा चढ्नुअघि ट्रेनिङका लागि अन्नपूर्ण चढाउन सकिन्छ ।’

सरकारले २० लाख पर्यटक भिœयाउने नारा दिएको भए पनि अन्नपूर्णजस्ता क्षेत्रमा आकर्षण बढाउने र यसलाई ब्रान्डिङ गर्ने कार्यक्रम नल्याएको अर्का पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् । ‘पदयात्रासँग जोडिएका विभिन्न पक्षको विकास, अन्नपूर्णजस्ता उच्च हिमालको आरोहणको प्रचार र व्यावहारिक कार्यक्रम नल्याई २० लाख पर्यटक आउँदैनन्,’ भट्टराईले भने, ‘जिल्ला र गाउँ–गाउँ जोडेर नयाँ पदयात्राको खोजी, भइरहेका पदयात्राको व्यवस्थापन र यो क्षेत्रका साना–ठूला हिमाललाई जोडेर कार्यक्रम बनाऔं ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले देशकै मोतीलाई चिन्न नसकिरहेको बताउँछन् । पदयात्रा र समग्र पर्यटन क्षेत्रमै ९० प्रतिशत लगानी निजी क्षेत्रको हुँदा राज्यले पोलिसी बनाएर पर्यटक बोलाउने कुरामा कन्जुस्याइँ गरेको व्यवसायीको गुनासो छ ।
पूर्वका हिमालमा आरोहणको ओइरो लाग्दा अन्नपूर्णमा किन आकर्षण छैन ? नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले चर्चा गरे ।

‘पूर्वका स्थानीयहरु हिमाललाई महसुस गर्छन् । उनीहरु हिमालसँग लालायित छन्, न्यौपानेले भने, ‘हामीमा हिमाल सेल गर्ने र बुझाउने कुरा नै न्युन छ । हिमालका कुरा गर्‍यौं, हर्जोगका कुरा गर्‍यौं तर उनले दिन खाजेको सन्देश नै बुझेनौं ।’

तपाईको प्रतिक्रिया