मुख्यमन्त्री भन्छन्ः इन्जोय जोनमा कानुनले बर्जित कुरा हुँदैन

समाधान संवाददाता २०७६ जेठ २१ गते ८:०८

समाधान संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट जवाफ पाएपछि गण्डकी प्रदेश सभाको बैठक सोमबार चालु भयो । कांग्रेसले आइतबार बैठक अवरोध गरेको थियो ।

बैठक प्रारम्भ हुनासाथ सभामुख नेत्रनाथ अधिकारीले प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई आफ्ना कुरा राख्न समय दिए । मुख्यमन्त्री गुरुङले पोखरेलले राखेका सवालको जवाफ दिएका थिए । सोमबार पनि आइतबार जस्तै बैठकको सुरुमा प्रतिपक्ष सांसद उठेपछि पोखरेललाई आफ्ना कुरा राख्न सभामुख अधिकारीले समय दिएका हुन् । आइतबार उनले त्यसो नगरी सिधै बैठक स्थगित गरिदिएका थिए ।

Advertisement

प्रतिपक्ष दलका नेता पोखरेलले सोमबार उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले इन्जोय जोनमा कानुन बर्जित कुनै पनि कुरा नहुने प्रष्ट पारे । उनले इन्जोय जोनका लागि ९ करोड रुपैयाँ प्रदेश सरकारले नछुट्याएको पनि बताए । उक्त रकम प्रदेशका मुख्य प्राथमिकताका योजना विशेषज्ञ अस्पताल, विश्वविद्यालय, सम्मेलन केन्द्र लगायतको सम्भाव्यता अध्ययन र डिपिआरका लागि भएको जनाए ।

मुख्यमन्त्री गुरुङले कानुनले बर्जित गरेका काम नहुने गरी पर्यटकीय केन्द्र बनाउने योजना रहेकोचाहिँ खुलाए । ‘इन्जोय जोन भन्नेबित्तिकै हामी नकारात्मक पाटोलाई मात्रै हेर्दाेरहेछौं, के फनपार्क बनाउनु इन्जोय जोन होइन ? स्तरीय रेस्टुरेन्ट बनाउनु इन्जोय जोन होइन ?’ उनले भने, ‘पर्यटकलाई चाहिने सुविधा दिनु इन्जोय जोन होइन ?’

Advertisement

उनले पोखराकै आसपासमा पर्यटकलाई चाहिने र उनीहरुले खोज्ने सुविधाहरु एकैठाउँमा निर्माण गर्ने सुनाए । ‘तर कानुनले बर्जित गरेको कुरा त्यहाँ हुँदैन, गाँजाचरेसमात्रै होइन, अरु कुनै पनि कानुनविपरीत कुरा हुँदैन,’ मुख्यमन्त्रीले भने । इन्जोय जोनका नाममा यौन व्यवसाय खुला हुन्छ कि भन्ने शंका उनले मेटाइदिए ।

पर्यटकीय केन्द्र पोखरा लेकसाइडको हल्लनचोकदेखि पामेतिर, सराङकोटदेखि कास्कीकोटसम्म, कुभिन्डेदेखि मट्टिखानसम्म, ढिकीडाँडादेखि गल्र्याङसम्म वा रुपादेखि बेगनाससम्म बनाउन सकिने उनको भनाइ थियो ।

बास्केट बजेटलाई पोके बजेट भन्नु संसदीय शब्द नहुने मुख्यमन्त्रीले बताए । यद्यपि प्रतिपक्षको आलोचना र टिकाटिप्पणीलाई आफूले स्वागत गर्ने उनको भनाइ थियो । ‘जस्तासुकै टिप्पणी आए पनि त्यसलाई ग्रहण गर्ने, आलोचनालाई मनन गर्ने, सुझावहरुलाई ग्रहण गर्ने गर्छु,’ उनले भने, ‘आलोचना नसुन्ने अधिनायकवादी हुन्छ ।’

मुख्यमन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनको विपक्षमा सिंगो गण्डकी प्रदेश रहेको प्रष्ट्याए । ‘केन्द्रीकृत सरकारको पालाको योजना गण्डकी प्रदेशलाई नसोधी बजेटमा राखिएको रहेछ, त्यसलाई हामी कार्यान्वयन हुन दिँदैनौं,’ उनले भने, ‘कुनै नेताको अहम् पूरा गर्न हामी सहादत हुनुपरेको छैन ।’ नदी डाइभर्सन गरिए कालीगण्डकी किनारको अहिलेको हरियाली पनि हराउने मुख्यमन्त्रीले बताए । देवघाट जस्तो पवित्र धार्मिकस्थलको अस्तित्व संकटमा पर्ने उनको भनाइ थियो ।

‘रुपन्देही र कपिलवस्तु सुख्खा भएर नेपालमा अनिकाल पर्छ भने छाडौंला, तर त्यस्तो हुँदैन,’ उनले भने, ‘प्रदेश ५ कै तिनाउ व्यवस्थापन गरे हुन्छ, आफ्नै प्रदेशको राप्ती नदी डाइभर्सन गरे हुन्छ, अर्काको सम्पतिमा किन आँखा लगाउने ?’

मुख्यमन्त्री गुरुङले गुडफेथ राखेर काम गर्दा केही गल्ती कमजोरी भएको भए सच्च्याउन आफू तयारै रहेको सुनाए । ‘काम गर्नेबाटै गल्ती हुने हो, गल्ती गरेका हुन सक्छौं, हाम्रो गणतन्त्रविरुद्ध, हाम्रो संघीयताविरुद्ध गल्ती गरेका छौं भने सच्च्याउन प्रतिबद्ध छौं’, उनले भने, ‘ब्रह्मा, विष्णु, महेश्वरबाट त गल्ती हुन्छ, यो पृथ्वीसुब्बा गुरुङबाट पनि हुनसक्छ तर इन्टेन्सनल्ली गल्ती भएको छैन ।’

कृषि अनुदान वितरणमा प्रक्रिया पूरा गरेरै कार्यविधि अनुसार काम गरेको उनको भनाइ थियो । कृषि अनुदानमा १८ देखि ४५ वर्ष उमेर समूहका युवालाई दिनुको उद्देश्य वैदेशिक रोजगारीमा पलायन रोक्नु रहेको उनले बताए । कर्मचारी सरुवामा आस्था नहेरिएको मुख्यमन्त्रीले प्रष्ट्याए । उनले ज्येष्ठता, अपांगता भएका, गर्भवती, श्रीमानश्रीमती लगायत जस्ता प्रक्रिया बनाएर पदस्थापन गरेको सुनाए ।

बजेट कार्यान्वयनका लागि गृहकार्य नपुगेको मुख्यमन्त्रीको भनाइ थियो । ‘हामीले भन्याथ्यौं संघीय सरकारलाई २४ अर्बको बजेट थोरै भयो, तर त्यही जाबो २४ अर्ब खर्च नसक्ने स्थितिमा हामी पुग्यौं । कहिलेकाहिँ आफ्नै बोलीले तीर बनेर आफ्नै छातीमा हान्ने स्थिति बन्यो,’ उनले भने, ‘तर व्यवस्थित रुपमा कार्यविधि बनाएर पारदर्शी बनाएर खर्च गर्ने एउटै प्रदेश गण्डकी हो ।’

तपाईको प्रतिक्रिया