बागलुङकाे काठेखाेलामा ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा

समाधान संवाददाता २०७६ जेठ २१ गते ११:५४

ताराप्रसाद शर्मा
बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिविरबाट सेवा प्रदान गरिएको छ ।

गाउँपालिकाको आयोजनामा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकका लागि लक्षित निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

Advertisement

प्रदेश सरकारको ज्येष्ठ नागरिक लक्षित बजेटबाट हरेक जिल्लाका ज्येष्ठ नागरिकलाई उपचारमा केही सहज पुर्‍याउने उद्देश्यले मन्त्रालयबाट शिविर संचालन गरेको गाउँपालकाले जनाएको छ ।

शिविरमा नाक, कान, घाँटी, मुटु, आँखा र सामान्य चिकित्सक सेवा प्रदान गरिएको थियो । शिविरबाट ३ सय जना विरामीले सेवा लिएको काठेखोला गाउँपालिका १ का अध्यक्ष खड्क थापाले बताए ।

Advertisement

१ सय जनालाई चश्मा वितरण गरिएको शिविरमा प्रेसर, सुगर, नाक, कान र आँखाका विरामीको संख्या धेरै रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकालले जानकारी दिए । शिविरमा धौलागिरि अञ्चल अस्पतालका डाक्टर रञ्जित सापकोटा, डाक्टर शर्मिला ढकाल, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुजु जम्मरकट्टेल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर लक्ष्मी अर्याल लगायतको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

काठेखोला गाउँपालिका १, पाला करिनाकी ८२ वर्षीया नन्दकली किसानले आफ्नै घर आँगनमा शिविरबाट सेवा पाएकोमा खुसी व्यक्त गरिन् । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले उमेर ढल्कँदै जाँदा ज्येष्ठ नागरिकमा हरेक स्वास्थ्य समस्या आउने भन्दै ख्याल गर्नु गाउँपालिकाको दायित्व भएको बताए ।

गण्डकी प्रदेश सरकारले बागलुङको काठेखोला गाउँपालिकामा मात्र प्रदेश भित्रका १० जिल्लामा ज्येष्ठ नागरिकका लागि लक्षित निशुल्क स्वास्थ्य शिविर संचालन गरेको स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले जानकारी दिए ।

मन्त्रालयको आर्थिक सहयोग र ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश र हरेक जिल्लाका स्वास्थ्य कार्यालयको समन्वयमा शिविर संचालन गरिएको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुशीला आचार्यले जानकारी दिइन् । विभिन्न ७ जिल्लामा भएको शिविरबाट १ हजार ५ सय ४० ज्येष्ठ नागरिकले उपचार सेवा लिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया