हिमाल बेचेर समृद्धि

समाधान संवाददाता २०७६ जेठ २२ गते १२:४१

अन्नपूर्ण हिमालमा मानव पाइला परेको ७ दशक पुगेको छ । फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरो पुगेर सन् १९५० जुन ३ लाई ऐतिहासिक दिनको रुपमा स्थापित गरे । मारिसले अन्नपूर्ण आरोहण गरेकाले मात्र यो दिन चर्चित भएको होइन । विश्वमा रहेका ८ हजार मिटर अग्ला हिमालमा मानव पाइला परेकै पहिलो दिन थियो त्यो ।

त्यसको ३ वर्षपछि मात्र तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा चुमेका थिए । यसैले पनि अन्नपूर्णले हिमाल आरोहणको क्षेत्रमा इतिहास रच्न सफल भयो । मौरिसले आफू हिमालमात्र चढेनन्, पोखरा र सम्पूर्ण नेपालको पर्यटन प्रवद्र्धनका लागि अतुलनीय भूमिका निर्वाह गरे । हिमाल आरोहण गरेर फर्केपछि उनले पुस्तक लेखे ‘अन्नपूर्ण’ ।

विभिन्न भाषामा प्रकाशित उक्त पुस्तक १ करोड प्रतिभन्दा बढी बिक्री भयो । यही पुस्तकमार्फत् उनले विश्वमा अन्नपूर्ण चिनाए, पोखरा चिनाए अनि नेपाल चिनाए । ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको इतिहास रचिएको दिन जुन ३ लाई अन्नपूर्ण दिवसका रुपमा मनाउने गरिएको छ ।

Advertisement

मोरिसकै कारण नेपालमा आरोहण र पदयात्रा फस्टायो । नेपाल थाहा नपाएका विदेशी खोज्दै आउन थाले । अनि पोखरा र आसपासको क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा स्थापित पनि भयो । हो, अन्नपूर्ण आरोहण कठीन छ । त्यसैले यो यसको शिखर चुम्ने औंलामा गन्न सकिनेमात्र छन् । कतिपय आरोही खतरा मोल्न चाहन्छन् । उनीहरुलाई हौस्याएर आरोहण गर्ने बनाउन नेपालले त्यस्तै किसिमका प्याकेज बनाउनुपर्छ ।

हिमाल आरोहण भन्नेबित्तिकै सरकारी ध्यान सगरमाथामा केन्द्रित हुँदा नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला अरु हिमालले अवसर कम पाएका छन् । अर्थात् हामीले ती हिमाल बेच्न सकेका छैनौं । माल भएर पनि चाल नपाएको अवस्थामा छौं हामी । केही सीमित ठाउँको मात्र प्रचार गर्ने र त्यहींमात्रै सरकारी निकायको ध्यान केन्द्रित हुने गरेका छन् । अहिले अन्नपूर्ण आधार शिविर भनेर कास्कीतिरको ठाउँलाई प्रचार गरिएको छ ।

Advertisement

हो, यो पनि अन्नपूर्ण आधार शिविर हो । तर मोरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गर्दाको बेस क्याम्प म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका नारच्याङमा छ । जुन अन्नपूर्ण नर्थ बेस क्याम्पका रुपमा परिचित छ । प्रचारकै कमीले यो ठाउँ स्वदेशी र विदेशी पर्यटकमाझ भने त्यति धेरै चिनिन सकेको छैन ।

गण्डकी प्रदेशले समृद्धिको मुख्य आधार पर्यटनलाई मानेको छ । त्यसै अनुसार यो वर्ष सरकारले आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहेको छ । संघीय सरकारले पनि आगामी वर्षलाई पर्यटन वर्षका रुपमा घोषणा गरिसकेको छ । तर कसरी पर्यटक भिœयाउने र आएका पर्यटकलाई कसरी धेरै दिन टिकाउने भन्ने बारेमा गण्डकी सरकार आफंै स्पष्ट हुन सकेको छैन । अहिले आएका पर्यटक सरकारी तबरबाट चलाइएका अभियानका कारण आएका वा बढेका होइनन् ।

यी पर्यटकले आफ्नै साथीभाइले भनेको सुनेर वा आफ्नै कारण नेपालबारे थाहा पाएर वा सुनेर आएका हुन् । यसमा सरकारले गर्व गर्ने ठाउँ नै छैन । तसर्थ, संघीय वा प्रादेशिक सरकारले पर्यटन प्रवद्र्धनको खोक्रो नारा लगाउनुभन्दा हिमाल चिनाउनका लागि खास कार्यक्रम ल्याउन जरुरी छ । पर्यटकलाई हिमाल बेच्न सके समृद्धि टाढा छैन ।

तपाईको प्रतिक्रिया