शिक्षामा फड्को

समाधान संवाददाता २०७६ जेठ २२ गते १२:५१

पूर्णसिंह सार्की

अबको शिक्षा भनेको सबै प्रदेशमा सीपमूलक शिक्षासँगै स्वारोजगार बन्ने वातावरण बनाउनु हो । किन कि अशिक्षाले गर्दा युवाशक्ति विदेश पलायनको क्रम बढ्दो छ । प्राथमिक तहदेखि नै विद्यार्थीलाई सीपमूलक र प्रयोगात्मकशिक्षातिर जोड दिन जरुरी छ । सीपमूलक कार्यको सहकार्यबाट नै विद्यार्थीको भविष्य र देशको विकास जोडिएको हुनाले यसमा हामी सबैले मनबाटै प्रतिबद्ध भई एकसाथ लाग्नु पर्छ ।

सीप अनुसारको काम र दक्षताका आधारमा रोजगारी सिर्जना गर्नका लागि विद्यार्थी दिनमा ४ घन्टा पढाई र बाँकी ४ घन्टा प्रयाक्टिकल गराउनु पर्छ । उनीहरुले प्रयाक्टिकल क्लासबाट उत्पादन गरेका सामान बजारमा बेच्दा उनीहरुलाई नै आम्दानी हुन्छ । त्यो पैसा तिनीहरुकै निम्ती खर्च गर्ने । यसले बालबालिकालाई शिक्षासँगै व्यवहारिक ज्ञान र सीप मिल्छ । फलतः बालबालिकामा मेहनत गर्ने बानीको विकास हुन्छ ।

Advertisement

विद्यालयबाट नै व्यवहारिक र आयमूलक शिक्षा दिन सकियो भनी घरमा बाआमालाई आफ्नो बालबालिकाका लागि पढाइ खर्च कहाँबाट जुटाउने भन्ने समस्या हुँदैन । पढाइ खर्चका लागि विद्यालयमा नै रोजगारी मिलेपछि समस्या समाधान हुने भयो र बच्चाको भविष्य उज्जवल हुने भयो । बालबालिकाको पालनपोषण र उनीहरुको भविष्य उज्जवल बनाउन उनीहरुको उमेर र क्षमता अनुसारको काम गर्न लगाउनु पर्छ ।

आजभोलिका बालबालिकामा एक किसिमको विकराल आएको छ । पहिले हामी बालापनमा बिहान उठेपछि गोठभकारो गर्नुपथ्र्यो अहिलेका केटाकटीको भने बिहाननै टिभी र मोबाइल बित्छ । आमाबाले खाना खान आउँ भनेर बोलाउँदा, रिसाउने–झोक्किने गर्छन् । प्रविधिको एकहोरोपनले केटाकेटीलाई न काम गर्न जोस लाग्छ न पढाइमा नै । अब्बल हुने त कुरै भएन झन् । अहिलेको केटाकेटीको उठ्ने समय भनेकै बिहानको ८÷९ बजे हो । उनीहरुबाट मजस्तो ६० वर्ष नाघेकोले के के अपेक्षा गर्ने ?

Advertisement

शिक्षा भनेको ज्ञान हो र सीप भनेको कला हो । कर्म भनेको काम गर्नु जागर चलाउनु, मेहनत गर्नु ऊर्जाशील हुनु हो । हामी सधैं हाम्रा नानीबाबुलाई धेरै माया गर्छौं र गर्नु पनि पर्छ तर हाम्रो त्यो माया हाम्रा सन्ततिलाई अभिसाप त बन्न पुगेको छैन ? त्यसैले गर्दा अब हाम्रा सन्तानलाई मायासँगै हरेक किसिमको सीप सिकाऔं । दक्ष जनशक्ति उत्पादन गर्नका लागि हामी सबै सधैं प्रयन्त हौं । ५ वर्षभित्र नेपालको हरेक ठाँउमा डेकुरेसन गर्न सक्ने मेनपावर हामीसँग छ तर यसलाई सदुपयोग गर्न भने सबै ठाँउबाट नागरिकले प्रयत्न गर्नुपर्छ ।

नेपालबाट धेरै रकम बाहिरी देशमा गइरहेको छ त्यसलाई रोक्न आफ्नै देशमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि विद्यालय र कलेजस्तरबाट नै सम्पूर्ण व्यावहारिक सीप सिकाउने सिस्टममा जानुपर्ने छ । विद्यार्थीलाई समूहगत रुपमा विभाजन गरी सामाजिक कार्यमा लगाउन सकिन्छ । २४ घन्टामा ८ घन्टाका दरले रुटिन मिलाउने, अनि ६ सय जना भएमा २ सय जनाको दरले भाग लगाउने र २४ सौं घन्टा काम गर्ने, कम्पनी कहिले बन्द नराख्ने, सर्कुलेसन गरिराख्ने त्यसपछि बल्ल देश विकास हुने छ ।

यसका लागि अब के गर्ने ?
– बालबालिकालाई क्याममा राख्ने बेलामा आफ्नो फ्याकेल्टी अनुसार काम गराउनु पर्ने, जसको कारण कसैलाई बाधा नहोस्
– बिहान उठने बित्तिकै ५ बजे कक्षामा जानुपर्ने, ४ घन्टा पढेपछि १ घन्टा खाना र आरामका लागि छुट्याउने
– काम गर्न जाने क्रममा विशेष कमान्डर त्यसपछि सम्बन्धित कार्यको शिक्षक सबैलाई मिलाएर काममा लगाउने
– शिक्षाका लागि छुट्टाएको बजेट बालुवामा पानी हाले जस्तै भएको छ । त्यसैले त्यो बजेटलाई एक पटक लगानी गरिसकेपछि त्यसलाई विद्यार्थीबाट नै नाफामुलक बनाउने
– जुनसुकै ठाउँमा विद्यार्थीका लागी क्याम्प खडा गर्ने । अति दुर्गम ठाउँमा पनि प्लस–टुदेखि ब्याचलरसम्मका विद्यार्थीलाई त्यस ठाउँमा लगी विकास र सामाजिक कार्यमा लगाउने
– अहिले बेरोजगार र शिक्षाका लागि भनी आएको बजेट यही कार्यका लागि सम्पूर्ण सामुदायिक विद्यालयमा व्यवस्थापन गरी सबै विद्यर्थीलाई निशुल्क शिक्षा गराउन सहर, गाँउ, टोलमा कार्यान्वयन गर्ने
– विदेशका लागि कामदार पठाउनु पर्‍यो भने सम्पूर्ण सरकारी निकायबाट प्रबन्ध मिलाउने ताकी त्यहाँ गएपछि यो भएन त्यो भएन भन्न नपरोस् । सम्पूर्ण सीप यहाँबाट सिकेर दक्ष भएपछी मात्र विदेश पठाउने र त्यो पनि पहिला आफ्नो देश बनाउने र बल्ल अरुको देश जाने ।

तपाईको प्रतिक्रिया