कसरी चिन्ने नक्कली नोट?

समाधान संवाददाता २०७६ जेठ २२ गते १३:०२

समाधान संवाददाता, काठमाडाैं

बेलाबेलामा बजारमा नेपाली रूपैयाँका नक्कली नोट फेला पर्छन् । केही दिनअघि पनि पाँच सय र एक हजार दरका नक्कली नोट बजारमा भेटिएको समाचार आए ।

 नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार गत वर्ष एक हजारका ६ सय वटा र पाँच सयका ४ सय ५० वटा नक्कली नोट भेटिएका थिए ।

Advertisement

यसपालि भने नक्कली नोट  नभेटिएको  बैंकको दाबी छ । नक्कली नोट  नभेटिए पनि त्यस्ता नोट कसरी चिन्नेबारे राष्ट्र बैंकले आफ्नो वेवसाइटमा जानकारी राखेको छ ।

झट्ट हेर्दा उस्तै देखिन्छ। नक्कली नोट भनेर कसरी चिन्ने त? भन्ने प्रश्नमा नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने- नक्कली नोट चिन्ने दुई वटा तरिका छन्, हेरेर र छामेर।

Advertisement

तपाईं एक हजारको नोटको दायाँ पुच्छर भागलाई उज्यालोतिर ठड्याएर हेर्दा, त्यहाँ लालीगुँरास देखिन्छ । जसलाई पानी छाप भनिन्छ ।

प्रवक्ता निरौलाले भने, ‘नक्कली नोट हेरेर पत्ता लगाउने यो एउटा तरिका हो। अरू पनि धेरै तरिका छन् ।’

नोटको बीच भागको तलपट्टी अङ्ग्रेजी अक्षरमा ‘एनआएबी’ लेखेको हुन्छ । नक्कली नोटमा यो कुरा ख्याल गर्नुपर्छ ।

यस्तै नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ । यसलाई सुरक्षण धागो भनिन्छ । सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ ।  

नोटको पछाडिको दायाँ भागमा गाढा सुनौलो रङ हुन्छ । नोट जति पुरानो र मैलो भए पनि यसको रङ बिग्रिदैन । नक्कली नोटहरूमा यस्तो गाढा रङ हुँदैन ।

यस्तै सक्कली नोटमा पानीको थोपा पर्‍यो भने केही हुँदैन। तर नक्कली नोटमा पानीको थोपा पर्‍यो भने रङहरू पोतिने हुन्छ ।

प्रवक्ता निरौलाले भने, ‘हेरेर नक्कली नोट थाहा पाउने तरिका यिनै हुन् ।’

नक्कली नोट चिन्ने अर्को तरिका हो छाम्ने । सक्कली नोट छाम्दा खस्रो हुन्छ । चाहे त्यो नयाँ होस वा पुरानो ।

‘नक्कली नोट चिल्लो हुन्छ,’ उनले भने, ‘मानिसहरूले नोट हातमा पर्दा सुरूमा यही कुरा ख्याल गर्नुपर्छ ।’

यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ । नक्कली नोटमा यस्तो आवाज आउँदैन ।

नोटको दाँया भागको पुच्छरमा १००० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महशुस हुन्छ । यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ । नक्कली नोटमा सो अक्षर उठेको हुँदैन ।

दृष्टिविहीनले पनि नक्कली नोट छामेर थाहा पाउन सक्छन् । नोटको बीच भागमा तीन वटा कालो गोलो आकारको ‘डट’ हुन्छन् । र ती डटहरू पनि थोरै उठेका हुन्छन् । नक्कली नोटमा यस्तो डट उठेको हुँदैन । यसैलाई छामेर दृष्टिविहीनहरूले नक्कली नोट पत्ता लगाउन सक्छन् ।

‘नक्कली नोट आउने भनेको हजार, पाँच सय र सयको हो । यी तीनवटै नोटमा यही तरिका लागु हुन्छ,’ प्रवक्ता निरौलाले भने, ‘कुनै व्यक्तिले नोटमा शंका लागेमा यी तरिकाबाट सजिलै नक्कली नोट पत्ता लगाउन सक्छन् ।’

तपाईको प्रतिक्रिया