पैदल मार्ग बनाउँदै वालिङका बरोजगार

समाधान संवाददाता २०७६ जेठ २३ गते १२:३४

अर्जुन काफ्ले
स्याङ्जा

वालिङ नगरपालिकाले प्रधानमन्त्री रोजागार कार्यक्रम अन्तर्गत सूचीकृत कामदारलाई रोजगारी दिन थालेको छ । वालिङका मेयर दिलीपप्रताप खाँणले वालिङ २ छप्राक–सिद्धबाबा पैदलमार्गबाट अभियान थालनी गरेका हुन् ।

विकास निर्माणलाई दिगो र प्रभावकारी बनाउन स्थानीयले अपनत्व लिनुपर्ने नगर प्रमुख खाँणले बताए । आफैंले पसिना काढेर काम गरियो भने त्यो कामप्रति अपनत्व महसुस हुने उनले बताए । स्मार्ट वालिङ निर्माणका लागि नगरबासीलाई सक्रिय भएर लाग्न मेयर खाँणले आग्रह गरे । उनले भने, ‘आफैं जागरुक नभएसम्म विकास हुँदैन । अर्काले दिएको पैसाले मात्रै विकास सम्भव छैन ।’

Advertisement

छप्राक गाउँका स्थानीयले थालेको अभियान नमुना र पहिलो भएकाले अभियानबाट अन्य वडाबासीले सिकेर फाइदा लिन सक्ने मेयर खाँणले सुनाए । सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वालिङ नगरपालिकामा २३ लाख रकम प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगारलाई सार्वजनिक क्षेत्रका काम तथा आयोजनामा सहभागी गराउने उद्देश्यले अभियान थालिएको सुवेदीले बताए ।

समुदायमा ससाना रोजगारमूलक आयोजना सञ्चालन गर्ने बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमका शाखा संयोजक सरस्वती लामिछानेले शाखामा सूचीकृत कामदारलाई रोजगारमा संलग्न गराउन थालिएको बताइन् । वालिङ नगरपालिका कार्यान्वयनका हिसाबले गण्डकी प्रदेशकै पहिलो भएको संयोजक लामिछानेले दाबी गरिन् । उनले वालिङ नगरपालिकाका १४ वटै वडाबाट १ हजार ७ सय ८२ जनाले बेरोजगारीको फाराम भरेका थिए ।

Advertisement

छप्राक–सिद्धबाबा पैदल मार्गका लागि पहिलो चरणमा ३ लाख रकम विनियोजन गरिएको छ । १ महिनामा झण्डै ४ सय मिटर गोरेटो बाटो निर्माण गरी ढुंगा टाँस्ने योजना रहेको निर्माण समिति अध्यक्ष गोविन्दबहादुर सार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया