ज्यानटाङमा सिप्लिगान स्रोत केन्द्र

समाधान संवाददाता २०७६ जेठ २३ गते १२:३७

कृष्ण न्यौपाने
दमौली

लोप हुँदै गएको सिप्लिगानको बीउ उत्पादन गर्न तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ स्थित ज्यानटाङ सामुदायिक वनमा सिप्लिगानको स्रोतकेन्द्र निर्माण गरिने भएको छ । डिभिजन वन कार्यालय तनहुँले ज्यानटाङ सामुदायिक वनको ३ हेक्टर क्षेत्रफलमा सिप्लिगानको स्रोत केन्द्र बनाउन लागेको हो ।

स्रोत केन्द्र बनाउनका लागि सामुदायिक वनको नांगेडाँडामा विश्व वातावरण दिवसको अवसरमा बुधबार सिप्लिगानका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, मनोज रानाभाट, वन समूहका अध्यक्ष ईश्वरबहादुर रानाभाट लगायतले विरुवा रोपेका हुन् ।

Advertisement

स्रोतकेन्द्र स्थापनाका लागि कार्यालयले ४ लाख लगानी गरेको बरालले जानकारी दिए । कार्यालयको आर्थिक, प्राविधिक सहयोग र उपभोक्ताको सहभागितामा सिप्लिगानको स्रोत केन्द्र निर्माण हुनेछ । स्रोत केन्द्र निर्माणका लागि नांगेडाँडामा ५ हजार सिप्लिगानका विरुवा रोप्ने योजना छ । ‘लोप हुँदै गएको सिप्लिगान संरक्षण गर्दै बीउ उत्पादन गर्ने उद्देश्यसहित स्रोतकेन्द्र स्थापना गर्न लागेका हौं,’ प्रमुख बरालले भने, ‘मध्य पहाडी भागमा पाइने सिप्लिगानको बजारमा निकै ठूलो माग छ ।’ सिप्लिगान उच्च रक्तचाप, चिनीरोग, पिसाबसम्बन्धी रोगको औषधिको रुपमा प्रयोग हुन्छ ।

बरालले भने, ‘पहिला पहिला बारीमा समेत प्रशस्त सिप्लिगान पाइन्थ्यो, तर अहिले विस्तारै यो लोप हुँदै गएको छ । औषधिको रुपमा यसलाई प्रयोग गर्न सकिने भएकाले यसको माग उच्च छ ।’ स्रोत केन्द्र स्थापना गर्ने वन क्षेत्रमा तारबार गरिएको छ ।

Advertisement

सिप्लिगानको स्रोत केन्द्र बनाउन ज्यानटाङ सामुदायिक वनलाई छनोट गरेकोमा स्थानीय उपभोक्ता खुसी भएको सामुदायिक वन समूहका अध्यक्ष ईश्वरबहादुर रानाभाटले बताए । उनले भने, ‘यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीयवासीको हो, यसलाई नमूनाको रुपमा विकास गर्न सबै लाग्नेछौं ।’

तपाईको प्रतिक्रिया