इन्जोय जोन भन्नसाथ सेक्स नै हो र ?

समाधान संवाददाता २०७६ जेठ २३ गते १५:१२

माधव पराजुली

यतिबेला इन्जोय जोनको विषयले देशनै तताएको अवस्था छ । एक सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनमन्त्रीले दिएको अभिव्यक्तिले चोकचोकमा गफिने तथा वादविवाद गर्ने माध्यम बनेको छ । कतै राजनीति गर्नेहरुलाई विरोधको झ्याली पिट्ने रफतसमेत बन्न पुग्यो । प्रमुख प्रतिपक्ष दलले यही विषयलाई ठूलो इस्यू बनाएर संसद अवरोधसमेत गर्‍यो । मन्त्रीले एक कार्यक्रममा उठाएको इन्जोय जोनको विषयले राष्ट्रियदेखि स्थानीय मिडियामा समेत राम्रै स्थान पायो ।

मिडियाले हरेक दृष्टिकोणबाट समाचार प्रकाशन गरे । त्यसमाथि लेखक, साहित्यकारलाई समेत गतिलो मसला बन्न पुग्यो इन्जोय जोन । लेख्ने लेखनदासले यस विषयलाई लिएर नकारात्मक र सकारात्मक दृष्टिकोणबाट लेखेको पाइयो । सकारात्मकभन्दा पनि नकारात्क दृष्टिकोणबाट लेखेको र विश्लेषण गरेको अल्ली बढी नै बाहिर आयो । केही मिडियाले इन्जोय जोनलाई सेक्स, गाँजा, भाँग, रक्सी खाने थलोको रुपमा चित्रण गरे भने साहित्यकार सरस्वती प्रतीक्षाले ‘पोखरा, पटाया र इन्जोय जोन’ शीर्षकमा लामै लेख लेखे ।

Advertisement

एक सार्वजनिक पदधारण गरेको व्यक्तिले इन्जोय जोन बनाउने परिकल्पना त गरे होलान तर उनले कल्पना गरेको इन्जोय जोन त्यस्तो थिएन । जसलाई हामीले सेक्स, रक्सी, गाँजा खाने थलो भनी विश्लेषण गर्न हतार ग¥यौं । कानुनले वर्जित गरेको विषयवस्तु इन्जोय जोनमा कसरी पर्न सक्छ र ?

आखिर के हो इन्जोय जोन ?
इनजोय जोनलाई हामी सकारात्मक दृष्टिकोणबाट विश्लेषण गरौं । इन्जोयन जोन अर्थात आनन्द लिने ठाउँ । इन्जोय जोन भनेको नै आनन्दमय क्षेत्र हो । नेपाल यसै पनि आनन्द लिने देश हो । अझ पोखराको त कुरै नगारौं । पोखराको ऐतिहासिक, सांस्कृतिक, सामाजिक पृष्ठभूमिको जगमा उभिएर हेर्दा यो स्वच्छता र सौन्दर्यको एउटा ध्यान भूमिनै हो । पोखरा प्रकृति, संस्कृति तथा साहसिक खेलका लागि प्रसिद्ध मानिन्छ ।

Advertisement

गण्डकी प्रदेश सरकारको गठनसँगै प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । यस क्षेत्रका पर्यटकीय सम्भावनाको अध्ययन–अनुसान्धन, पूर्वाधार निर्माणमा पर्यटकलाई चाहिने न्युनतम आवश्यकताको खोजी गरिरहेकै होलान् ।

पोखरामा पर्यटन व्यवसायीलाई कसरी प्रतिस्पर्धात्मक रुपमा विकास गर्न सकिन्छ भन्ने विकासमा विभिन्न विज्ञसित परामर्श, छलफल पनि गर्दै आएको छ । यसका लागि सबैभन्दा पहिला दक्ष जनशक्ति, पूर्वाधार निर्माण, स्पेसल पर्यटन क्षेत्रको विकास गर्न यसको अध्ययन गर्नु, सम्भावनाको खोजी गर्नु आवश्यक छ । पर्यटनबाट समृद्धि हासिल कसरी गर्न सकिन्छ, त्यसतर्फ सोच्न आवश्यक छ ।

बन्दै गरेको पोखरा विमानस्थल सञ्चालनपछि अन्तर्राष्ट्रिय पर्यटन बजारबाट सिधंै गण्डकी प्रदेशको राजधानी पोखरामा पर्यटक आउँछन् । यहाँको ब्रान्ड गर्विलो गण्डकी एवं यहाँको नेचर, कल्चर र एडभेन्चर संसारकै उत्कृष्टमध्ये एक मानिन्छ । यस्तो सहरमा पर्यटकका लागि सुविधासम्पन्न एउटा पर्यटकीय क्षेत्र बनाउन आवश्यक छ ।

अहिले भएको लेकसाइडले यो मागलाई धान्न सक्छ कि सक्दैन ? त्यसतर्फ पनि सोच्न आवश्यक छ । लेकसाइडमा निजी आवासदेखि, मठमन्दिर, किराना पसल सबै चिज एकै ठाउँमा छन् । यसले पर्यटकमा स्पेसल पर्यटकीय एरियामा रहनुपर्ने सबै चिज उपलब्ध गराउन सकेको छैन ।

पर्यटक भनेको आनन्द लिनका लागि, घुम्नका लागि, खर्च गर्नका लागि र सबै सेवा एउटै छातामुनिबाट लिनका लागि लालयित हुन्छन् । हामीसँग पर्यटकको माग अनुसारको सबै पूर्वाधार निर्माण गर्न त्यस्तो जमीन लेकसाइडमा उपलब्ध नहुन सक्छ । सन् २०२० को नेपाल भ्रमण वर्ष र सन् २०२२ को प्रदेश भ्रमण वर्ष सफल बनाउन र पर्यटकलाई सहज रुपमा स्तरीय सेवा उपलब्ध गराउन एउटा नयाँ क्षेत्रको विकास गर्नु अहिलेको अनिवार्य आवश्यकता भएकोले नयाँ पर्यटकीय गन्तव्य बनाउनका लागि इन्जोय जोनको कुरा आएको हो । यसलाई यसरी पनि बुझ्न सक्छौं ।

प्रकृतिसँग रमाउँदै ताल, हिमाल, डाँडाकाँडा हेरर पनि इन्जोय गर्न सकिन्छ । पर्यटकलाई जतिसक्दो लामो ‘होल्ड’ गराउन र खर्च बढाउन प्याराग्लाइडिङ, बन्जी जम्प, ¥याफटिङ, क्यानोनिङ, माउन्टेन बाइकिङ, वाटर बलिङ, ट्युबिङ, हाइकिङ जस्ता अनेकन साहसिक खेल फेवाताल वरिपरिका भागमा राखी इन्जोय जोन बनाउने सरकारको कुरा हुन सक्छ । यिनै माध्यमबाट पर्यटकलाई आकर्षित गर्न इन्जोय जोन नामाकरण गर्न पनि मिल्यो ।

हल्लनचोकदेखि पामेसम्म, सरागंकोटदेखि कास्कीकोटसम्म, कुभिन्डेदेखि मट्टीखानसम्म, ढिकीडाँडादेखि गल्याङसम्म, रुपादेखि बेगनाससम्मका ठाँउको अध्ययन गरी यी ठाँउमा पर्यटनको मात्र पूर्वाधार निर्माण गर्ने वातावरण बनाउने । जस्तै विभिन्न देशको खानाको स्वाद प्रदान गर्ने एउटै रेस्टुरेन्ट, लाइब्रेरी, नेपाली म्युजिक कल्चर, बहुसांस्कृतिक ग्राम, चिल्डेन पार्क, डिम गार्डेन, जिम हल, एडभेन्चर स्पोर्टस, जल क्रियाकलाप, सन बाथ, मेडिटेसन सेन्टर, फिस मसाज, योगा, सौभेनियर सप, फन पार्क, आइटि पार्क, गुफा, प्राणी उद्यान, हिल स्टेसन, स्मारक, आर्ट ग्यालरी, पर्यटक सूचना केन्द्र, तातोपानी इत्यादि एकै ठाउँमा बनाउने र त्यसलाई इन्जोय जोन बनाउने सरकारको योजना पनि हुन सक्छ ।

यस जोनको नाम जे राख्न पनि सकिन्छ, जस्तै इन्जोय जोन, रिक्रियसन सेन्टर, रिफ्रेस सेन्टर, पर्यटकीय केन्द्र । यस्तो एउटा सकारात्मक कामलाई सञ्चार, समुदाय र सामाजिक सञ्जालले नकारात्मक विषयसँग जोडेर बहस गर्नु समाजको नकारात्मक परिणामको उपज हो । हामी सजिलै बुझ्न सक्छौं पोखरालाई पटयाको रुपमा विकास गर्न हामीलाई फलामको चिउरा चपाउनु सरह हुन पुग्छ । कानुनले वर्जित गरेका कुरा कसरी नै गर्न मिल्छ ?

सरकारको एक सकारात्मक कदमलाई हामी नकारात्मक दृष्टिकोणबाट टिप्पणी गरेर इन्जोय जोन भनेको रेडलाइट एरिया हो भन्नु वा सेक्स, रक्सी, गाँजा खाने थलो हो भन्नुको गलत अर्थ लगाउनु हो ।

प्रकृतिसँगै हातेमालो गर्दै सबै प्रकारका खेल्न पाइने, मनोरञ्जनका लागि आवश्यक सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउनु नै ‘इन्जोय जोन’ हो भनेर हामीले किन नबुझ्ने ? इन्जोय जोनको बहसलाई पुरै थाइल्यान्डको पटायासम्म लगेर बहस चलाउनेले इन्जोय जोनलाई हिमाल, ताल, प्रकृति, संस्कृति एकै ठाउँमा पाइने त्यस्तो अलौकिक आनन्द प्राप्त गर्ने ठाउँको रुपमा कलम र आवाज किन नउठाउने ?

प्रकृति र संस्कृति एउटै प्याकेजमा पाउने एकै ठाउँ भनेकोे इन्जोय जोन हो । इन्जोय जोनको बहस पूरै रेड लाइटमा केन्द्रित गरिरहँदा हामीले लेखेको आलेखले कतै यौन क्रियाकलाप, लागुपदार्थलाई प्रश्रय दिइरहेको त छैन ? हामीले लेखेका त्यस्ता आलेखले समाजका नागरिकलाई रेडलाइट एरियाको आवश्यकता महसुस गराउन बाध्य पार्न सक्छ । त्यसैले हामीले हरेक कुरालाई सकारात्मक दृष्टिकोणबाट हेर्नु र बुझ्नुपर्छ ।

तपाईको प्रतिक्रिया