आरन संरक्षण गर्न रु ४० हजार सहयोग

समाधान संवाददाता २०७६ जेठ २४ गते १३:३३

राजन उपाध्याय
दुलेगौंडा

खुला आकाशमुनि आरन चलाइरहेकी शुक्लागण्डकी ११, पाल्पालीछापकी एकल महिला नेत्रकुमारी सुनारलाई सहयोग गरिएको छ ।

उपेक्षित उत्पिडित दलित उत्थान विकास समिति शुक्लागण्डकीले पाल्पालीछापमा बुधबार आरनमा सहयोग पुग्ने सामग्री प्रदान गरेको हो । समितिले खुला आकासमुनि काम गर्दै आएकी सुनारलाई घामपानीबाट ओत लाग्नको लागि टिनको छाप्रोसमेत निर्माण गरिदिएको छ । सुरुमा स्याउलाले बारेर पुख्र्यौली पेसालाई निरन्तरता दिइकी उनले भत्किएपछि थाक्रा गाडेर काम गर्दै आएकी थिइन् ।

Advertisement

‘केहि हप्ता अघि हामी नगरका सबै वडामा अनुगमनका लागि गएका थियौं, नेत्रकुमारी खुला आकास मुनिनै काम गर्दै आएको देख्यौं,’ दलित उत्थान विकास समिति शुक्लागण्डकीका संयोजक भरत लाम्गादेले भने, ‘काम गर्दा घामपानीबाट त कमसेकम ओत लाग्नुपर्छ भन्ने उद्देश्यले हामीले कटेरो बनाउन सहयोग गरेका हौैं ।’ छाप्रो बनाउन समुदायलेसमेत श्रमदान गरेको लाम्गादेले जानकारी दिए । आरन पेसामा प्रयोग गरिने घन, भाडी, हावा निकाल्ने मेसिन प्रदान गरिएको हो । उनका अनुसार छाप्रो र सामग्रीमा करिव ४० हजार रुपैयाँ खर्च भएको छ ।

उनले पछिल्ला समयमा समुदायले गर्दै आएका पेसा लोप हुँदै गएको बताए । ‘आफ्नो पेसालाई संरक्षण गर्दै यहिनै केहि गर्ने हो भने हामी विदेश जानु पर्दैन उनले थपे, आधुनिक र व्यवस्थित तरिकाले पेसालाई अगाल्नुपर्छ ।’ उनले बाली प्रथाको सट्टा नगदमै काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement

शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले व्यवसायिकरुपमा पेसालाई लैजान सके आम्दानी राम्रो हुने बताए । पेसालाई निरन्तरता दिन आग्रह गर्दै स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यपालिका सदस्य सानुमाया महतले प्राय पुरुषले गर्ने काम महिलाले गर्नुपर्दा थुप्रै चुनौती व्यहोनुपर्ने बताइन् । ग्रामीण एकल दलित महिलालाई गरिएको सहयोगले पेसा संरक्षण हुनुका साथै गाउँलेले सेवा पाउने उल्लेख गरिन् ।

विगत १६ वर्षदेखि आरन चलाउँदै आएकी सुनारले परिवारको गुजारा गर्दै आएकी छिन् । डेढ दशक अघि श्रीमानको मृत्य भएपछि हिम्मत गरेर आफैले आरनलाई सञ्चालन गर्दै आएकी हुन् । उनले हसिँया, कुटो, कोदालो, बञ्चरो बनाउने र अर्चाप्ने गर्छिन् ।

शुक्लागण्डकी, भीमाद नगरपालिकाका विभिन्न क्षेत्रसँगै स्याङ्जाको हरिनासबाट समेत सेवा लिन आउने गरेको सुनारले बताइन् । करिव १ सय घरपरिवारले उनको आरनबाट सेवा लिने गरेका छन् । आरन चलाउने सामान र कटेरो बनेपछि धन्यवाद दिँदै प्राप्त सामग्रीको भरपुर उपयोग गर्ने बताइन् । यसमध्य अधिकांश बालिघरे प्रथा रहेको उल्लेख गरिन् । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा सुनारलाई सहयोग गरिएको हो ।

तपाईको प्रतिक्रिया