मुस्ताङमा १ दिनमै ५ देखि १५ पटकसम्म अघोषित लोडसेडिङ

समाधान संवाददाता
जोमसोम
विद्युत ग्राहक ६ गुणाले वृद्धि र राष्ट्रिय प्रसारणमा प्राविधिक गडबडी भइरहँदा मुस्ताङमा चरम लोडसेडिङ हुन थालेको छ । लोडसेडिङ मुक्त देश भनिरहँदा यहाँका स्थानीयले भने दिनहुँ अघोषित लोडसेडिङ भोग्नुपरेको हो । यहाँ दैनिक ५ देखि १५ पटकसम्म अघोषित लोडसेडिङ हुने गरेको छ ।
मुस्ताङलाई साँझ ९ सय किलोवाट बिजुली चाहिन्छ । स्थानीय विद्युत वितरण केन्द्र नीलगिरी उपभोक्ता सहकारी संस्थाले यहाँ विभिन्न कारणले विद्युत नियमित गर्न सकेको छैन । स्थानीय चोखोपानी हाइड्रोमामा जम्मा २ सय १० किलोवाट उत्पादन हँुदा विद्युत अपुग भएको हो ।
चोखोपानी विद्युत गृहले २०३९ साल फागुनदेखि उत्पादन सुरु गरेको हो । पर्वतको मिलनचोकदेखि म्याग्दीको तातोपानी सम्म राष्ट्रिय विद्युत प्रसारण लाइन छ । तातोपानीदेखि मुस्ताङको कोबाङसम्म तातोपानी विद्युत वितरण केन्द्रले बिजुली सप्लाई गर्छ । कोबाङदेखि उपल्लो मुस्ताङको घमीसम्मको उत्तरी भेकमा जोमसोमको नीलगिरी उपभोक्ता सहकारी संस्थाले विद्युत बितरणको जिम्मा लिएको हो । मुस्ताङमा विद्युतीकरण सुरुआतपछि श्वेतभैरव पावर सप्लायर्सले विद्युत वितरणको जिम्मा लिएतापनि पछिल्लो समय नीलगिरि उपभोक्ता सहकारीले जिम्मा लिएको छ ।
२०३९ सालको सुरुआती चरणमा चोखोपानी विद्युत गृहबाट उत्पादन भएको विद्युत खपत कम हुन्थ्यो । त्यो बेला ४ सय ५० ग्राहक थिए । अहिले ग्राहक संख्या उक्त समयभन्दा ६ गुणाले वृद्धि भएको छ । हाल वितरण केन्द्रका करिब ३ हजार ग्राहक छन् । २०६० सालदेखि मुस्ताङमा यातायातको पहँुच विस्तार भयो । बस्ती विस्तारसँगै विद्युत ग्राहक तथा प्रसारण दायरा फराकिलो तुल्याइयो, तर, उत्पादन क्षमता भने बढेन ।
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको मुस्ताङको स्थानीय चोखोपानी हाइड्रोको उत्पादनले मुस्ताङलाई १ चौथाई पनि विद्युत थेग्न सक्ने अवस्था रहेन । वितरण केन्द्रले प्राधिकरणसँग नेसनल ग्रेडको विद्युत पनि खरिद गरेको छ । थासाङको टुकुचेमा १३. ६ मेगावाटको अर्को हाइड्रो पनि छ । यो हाइड्रोको उत्पादन २०७४ सालदेखि सुरु भयो । तर, पछिल्लो समय चोखोपानी विद्युत गृहको उत्पादन कम, केन्द्रीय प्रसारण लाइनमा व्यापक प्राविधिक समस्या र थापाखोला हाइड्रोको उत्पादन स्थानीय स्तरको पहुँचमा नपुग्दा मुस्ताङबासीले दिनहुँ लोडसेडिङ खेप्नुपरेको छ ।
मुस्ताङमा विद्युत सेवा भरपर्दो बन्न नसक्दा यहाँका होटल, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सर्वसाधारणले विद्युत सास्ती भोग्नुपरेको हो । विद्युत नियमित नहुँदा यसबाट हुने सबै काम प्रभावित बनेको स्थानीय छिरिङ गुरुङले बताइन् ।
नीलगिरि उपभोक्ता सहकारी संस्थाका प्राविधिक दिवाकर भुर्तेलले स्थानीय उत्पादनले विद्युत थेग्न मुस्किल परेको र राष्ट्रिय प्रसारण लाइनमा प्राविधिक समस्या उब्जिने गर्दा लोडसेडिङ गर्नुपरेको खुलाए । उनले स्थानीय वितरण केन्द्रले प्राधिकरणसँग विद्युत खरिद गरेको भएपनि प्रसारण लाइनमा प्राविधिक कठिनाइ आउँदा समस्या परेको बताए । प्राधिकरणले पर्वत मिलन चोकदेखि मुस्ताङको कोबाङसम्म ३३ केभिए विद्युत क्षमताको ट्रान्सफर्मर राखेको छ । मुस्ताङको कोबाङबदेखि उत्तरी माथिल्लो भेकमा ११ केभिएको सबट्रान्सफर्मर छन् ।
नीलगिरि विद्युत वितरण केन्द्रका प्राविधिक भुर्तेलले ३३ केभिए प्रसारण लाइन स्थानीय स्तरमा हाइभोल्टेज भएकाले प्रसारणमा समस्या उब्जिने गरेको बताए । मुस्ताङलाई विद्युत सहज तुल्याउन म्याग्दी खण्डमा पनि ११ केभिए ट्रान्सफर्मरको आवश्यकता उनले औंल्याए । त्यसो त म्याग्दीको घरापमा तातोपानी साना जलविद्युत आयोजना पनि छ । त्यहाँका हाइड्रो उपकरण जीर्ण र केही थन्किएका छन् । पर्वतबाट आउने प्रशारण लाइन पनि भरपर्दो नभएको नीलगिरि उपभोक्ताको भनाइ छ ।
म्याग्दीको बेनीदेखि दानासम्म केही विद्युत हाइड्रो पावर निर्माणाधीन अवस्थामा छन् । मुस्ताङका जनता खुसी भएका थिए, जुनबेला थासाङको टुकुचेमा १३.६ मेगावाटको हाइड्रो बन्दै थियो । सम्पूर्ण मुस्ताङलाई पिक समयमा १ मेगावाट विद्युत आवश्यक पर्छ । तर, टुकुचेको थापाखोला हाइड्रोले १३ गुणा विद्युत उत्पादन गर्दा पनि दिनहुँ अन्धकारमा बस्नुपर्ने भएको छ । यहाँको विद्युत प्राधिकरणलाई बिक्री भइसकेको र प्रसारण लाइनमा समस्या आइरहँदा मुस्ताङको विद्युत समस्या ज्यूका त्यूँ छ ।
यसअघि मुस्ताङबासीले विद्युत नियमित गर्न जोमसोमको विद्युत केन्द्रमा तालाबन्दी गरे । प्रशासन कार्यालयमा विद्युत सरोकारवालासँग विभिन्न विकल्प खोजियो । स्थानीय जनप्रतिनिधि र सांसदले पटकपटक वार्ता पनि गरे । तर, मुस्ताङीले भोग्दै आइरहेको समस्या समाधान गर्नेतर्फ कुनै पहल भएन । जोमसोमका नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले चरम विद्युत लोडसेडिङको कटाक्ष गर्दै कविता पनि लेखे । उनले मुस्ताङमा विद्युत प्राधिकरणको कार्यालय नै बस्नुपर्ने उल्लेख गरे ।
सडकको पोल कसले हटाउने ?
कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक विस्तार गर्दा बिजुलीका पोल बीचबीचमा परेका छन् । करिडर कार्यालयले पोल हटाउन विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र लगायतमा पत्र बुझाएको धेरै भइसक्यो । तर, विद्युत पोल व्यवस्थापन गर्न सरोकारवालाले अटेरी गरेको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । ‘सडक छेउछाउका पोल हटाउनुहोस् भनेर लिखित ध्यानार्कषण गर्यौं ।
हटाउँदाको खर्च पनि दिन्छाैं भन्यौ । तर, पोल हटाउने काम भएन,’ उनले भने, ‘सडकको काम गर्नै पर्यो । काम गर्दा १–२ स्थानमा विद्युत पोल ढले होलान् । यसमा हाम्रो गल्ती छैन ।’ उनले करिडोरको हेलचेक्र्याइँले नभई प्राधिकरणकै ढिलासुस्ती भएको दाबी गरे ।
जोमसोमको निलगिरि विद्युत वितरण केन्द्रले करिडोरले जथाभावी सडक खन्दा विद्युत पोल ढल्ने, प्रसारण अवरुद्ध हुने भएको आरोप लगाएको छ । वितरण केन्द्रका प्रमुख सनप्रसाद थकालीले कोबाङको बोक्सी खोलामा करिडोरको डोजरले विद्युत पोल ढलाउँदा केही दिन विद्युत अनियमित भएको बताए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया