मुस्ताङमा १ दिनमै ५ देखि १५ पटकसम्म अघोषित लोडसेडिङ

समाधान संवाददाता २०७६ जेठ २४ गते १४:२८

समाधान संवाददाता
जोमसोम

विद्युत ग्राहक ६ गुणाले वृद्धि र राष्ट्रिय प्रसारणमा प्राविधिक गडबडी भइरहँदा मुस्ताङमा चरम लोडसेडिङ हुन थालेको छ । लोडसेडिङ मुक्त देश भनिरहँदा यहाँका स्थानीयले भने दिनहुँ अघोषित लोडसेडिङ भोग्नुपरेको हो । यहाँ दैनिक ५ देखि १५ पटकसम्म अघोषित लोडसेडिङ हुने गरेको छ ।

मुस्ताङलाई साँझ ९ सय किलोवाट बिजुली चाहिन्छ । स्थानीय विद्युत वितरण केन्द्र नीलगिरी उपभोक्ता सहकारी संस्थाले यहाँ विभिन्न कारणले विद्युत नियमित गर्न सकेको छैन । स्थानीय चोखोपानी हाइड्रोमामा जम्मा २ सय १० किलोवाट उत्पादन हँुदा विद्युत अपुग भएको हो ।

Advertisement

चोखोपानी विद्युत गृहले २०३९ साल फागुनदेखि उत्पादन सुरु गरेको हो । पर्वतको मिलनचोकदेखि म्याग्दीको तातोपानी सम्म राष्ट्रिय विद्युत प्रसारण लाइन छ । तातोपानीदेखि मुस्ताङको कोबाङसम्म तातोपानी विद्युत वितरण केन्द्रले बिजुली सप्लाई गर्छ । कोबाङदेखि उपल्लो मुस्ताङको घमीसम्मको उत्तरी भेकमा जोमसोमको नीलगिरी उपभोक्ता सहकारी संस्थाले विद्युत बितरणको जिम्मा लिएको हो । मुस्ताङमा विद्युतीकरण सुरुआतपछि श्वेतभैरव पावर सप्लायर्सले विद्युत वितरणको जिम्मा लिएतापनि पछिल्लो समय नीलगिरि उपभोक्ता सहकारीले जिम्मा लिएको छ ।

२०३९ सालको सुरुआती चरणमा चोखोपानी विद्युत गृहबाट उत्पादन भएको विद्युत खपत कम हुन्थ्यो । त्यो बेला ४ सय ५० ग्राहक थिए । अहिले ग्राहक संख्या उक्त समयभन्दा ६ गुणाले वृद्धि भएको छ । हाल वितरण केन्द्रका करिब ३ हजार ग्राहक छन् । २०६० सालदेखि मुस्ताङमा यातायातको पहँुच विस्तार भयो । बस्ती विस्तारसँगै विद्युत ग्राहक तथा प्रसारण दायरा फराकिलो तुल्याइयो, तर, उत्पादन क्षमता भने बढेन ।

Advertisement

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको मुस्ताङको स्थानीय चोखोपानी हाइड्रोको उत्पादनले मुस्ताङलाई १ चौथाई पनि विद्युत थेग्न सक्ने अवस्था रहेन । वितरण केन्द्रले प्राधिकरणसँग नेसनल ग्रेडको विद्युत पनि खरिद गरेको छ । थासाङको टुकुचेमा १३. ६ मेगावाटको अर्को हाइड्रो पनि छ । यो हाइड्रोको उत्पादन २०७४ सालदेखि सुरु भयो । तर, पछिल्लो समय चोखोपानी विद्युत गृहको उत्पादन कम, केन्द्रीय प्रसारण लाइनमा व्यापक प्राविधिक समस्या र थापाखोला हाइड्रोको उत्पादन स्थानीय स्तरको पहुँचमा नपुग्दा मुस्ताङबासीले दिनहुँ लोडसेडिङ खेप्नुपरेको छ ।

मुस्ताङमा विद्युत सेवा भरपर्दो बन्न नसक्दा यहाँका होटल, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सर्वसाधारणले विद्युत सास्ती भोग्नुपरेको हो । विद्युत नियमित नहुँदा यसबाट हुने सबै काम प्रभावित बनेको स्थानीय छिरिङ गुरुङले बताइन् ।

नीलगिरि उपभोक्ता सहकारी संस्थाका प्राविधिक दिवाकर भुर्तेलले स्थानीय उत्पादनले विद्युत थेग्न मुस्किल परेको र राष्ट्रिय प्रसारण लाइनमा प्राविधिक समस्या उब्जिने गर्दा लोडसेडिङ गर्नुपरेको खुलाए । उनले स्थानीय वितरण केन्द्रले प्राधिकरणसँग विद्युत खरिद गरेको भएपनि प्रसारण लाइनमा प्राविधिक कठिनाइ आउँदा समस्या परेको बताए । प्राधिकरणले पर्वत मिलन चोकदेखि मुस्ताङको कोबाङसम्म ३३ केभिए विद्युत क्षमताको ट्रान्सफर्मर राखेको छ । मुस्ताङको कोबाङबदेखि उत्तरी माथिल्लो भेकमा ११ केभिएको सबट्रान्सफर्मर छन् ।

नीलगिरि विद्युत वितरण केन्द्रका प्राविधिक भुर्तेलले ३३ केभिए प्रसारण लाइन स्थानीय स्तरमा हाइभोल्टेज भएकाले प्रसारणमा समस्या उब्जिने गरेको बताए । मुस्ताङलाई विद्युत सहज तुल्याउन म्याग्दी खण्डमा पनि ११ केभिए ट्रान्सफर्मरको आवश्यकता उनले औंल्याए । त्यसो त म्याग्दीको घरापमा तातोपानी साना जलविद्युत आयोजना पनि छ । त्यहाँका हाइड्रो उपकरण जीर्ण र केही थन्किएका छन् । पर्वतबाट आउने प्रशारण लाइन पनि भरपर्दो नभएको नीलगिरि उपभोक्ताको भनाइ छ ।

म्याग्दीको बेनीदेखि दानासम्म केही विद्युत हाइड्रो पावर निर्माणाधीन अवस्थामा छन् । मुस्ताङका जनता खुसी भएका थिए, जुनबेला थासाङको टुकुचेमा १३.६ मेगावाटको हाइड्रो बन्दै थियो । सम्पूर्ण मुस्ताङलाई पिक समयमा १ मेगावाट विद्युत आवश्यक पर्छ । तर, टुकुचेको थापाखोला हाइड्रोले १३ गुणा विद्युत उत्पादन गर्दा पनि दिनहुँ अन्धकारमा बस्नुपर्ने भएको छ । यहाँको विद्युत प्राधिकरणलाई बिक्री भइसकेको र प्रसारण लाइनमा समस्या आइरहँदा मुस्ताङको विद्युत समस्या ज्यूका त्यूँ छ ।

यसअघि मुस्ताङबासीले विद्युत नियमित गर्न जोमसोमको विद्युत केन्द्रमा तालाबन्दी गरे । प्रशासन कार्यालयमा विद्युत सरोकारवालासँग विभिन्न विकल्प खोजियो । स्थानीय जनप्रतिनिधि र सांसदले पटकपटक वार्ता पनि गरे । तर, मुस्ताङीले भोग्दै आइरहेको समस्या समाधान गर्नेतर्फ कुनै पहल भएन । जोमसोमका नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले चरम विद्युत लोडसेडिङको कटाक्ष गर्दै कविता पनि लेखे । उनले मुस्ताङमा विद्युत प्राधिकरणको कार्यालय नै बस्नुपर्ने उल्लेख गरे ।

सडकको पोल कसले हटाउने ?
कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक विस्तार गर्दा बिजुलीका पोल बीचबीचमा परेका छन् । करिडर कार्यालयले पोल हटाउन विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र लगायतमा पत्र बुझाएको धेरै भइसक्यो । तर, विद्युत पोल व्यवस्थापन गर्न सरोकारवालाले अटेरी गरेको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । ‘सडक छेउछाउका पोल हटाउनुहोस् भनेर लिखित ध्यानार्कषण गर्‍यौं ।

हटाउँदाको खर्च पनि दिन्छाैं भन्यौ । तर, पोल हटाउने काम भएन,’ उनले भने, ‘सडकको काम गर्नै पर्‍यो । काम गर्दा १–२ स्थानमा विद्युत पोल ढले होलान् । यसमा हाम्रो गल्ती छैन ।’ उनले करिडोरको हेलचेक्र्याइँले नभई प्राधिकरणकै ढिलासुस्ती भएको दाबी गरे ।

जोमसोमको निलगिरि विद्युत वितरण केन्द्रले करिडोरले जथाभावी सडक खन्दा विद्युत पोल ढल्ने, प्रसारण अवरुद्ध हुने भएको आरोप लगाएको छ । वितरण केन्द्रका प्रमुख सनप्रसाद थकालीले कोबाङको बोक्सी खोलामा करिडोरको डोजरले विद्युत पोल ढलाउँदा केही दिन विद्युत अनियमित भएको बताए ।

तपाईको प्रतिक्रिया