थासाङकाे घाँसा प्रहरी चौकीलाई गाैचन परिवारद्वारा जग्गा दान

समाधान संवाददाता २०७६ जेठ २६ गते १३:३९

समाधान संवाददाता
जोमसोम

म्याग्दी र मुस्ताङबीचको सीमावर्ती क्षेत्र थासाङ गाउपालिका वडा ४ घासा बस्ने गौचन परिवारले यहाँको प्रहरी चौकीलाई जग्गादान गरेको छ । चौकी स्थापनाको २५ वर्षपछि उक्त परिवारले सरकार तथा सुरक्षाकर्मीलाई सहयोग पुर्‍याउने उद्देश्यले जग्गादान गरेको हो ।

भीमप्रसाद गौचनले आफ्नो स्वर्गीय जीवनसाथी भीमकुमारी गौचनको सम्झना स्वरुप आफ्नो नामको लाजपुर्जासहितको निजी १ रोपनी १२ आना जग्गा प्रहरी चौकी घाँसाको नाममा दर्ता गरी शुक्रबार पास गरे ।

Advertisement

भीमप्रसादसहित उनका छोरा विक्रम गौचन र बुहारी सुनीता गौचनले प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीलाई संयुक्त रुपमा लालपुर्जा हस्तान्तरण गरेको जिल्ला युवा समितिका अध्यक्ष सम्राट गौचनले जानकारी दिए ।

यसअघि जग्गादाताको परिवारसँग नाता सम्बन्ध रहेका प्रदेश सांसद चन्द्रमोहन गौचन, समाजसेवी कृष्ण गौचन र विनोद गौचनले प्रहरी चौकीलाई जग्गा उपलब्ध गराइदिन गौचन परिवारलाई सुझाएका थिए । चौकीको हालसम्म निजी जग्गा नभएको र लामो समयदेखि भाडामा बस्दै आइरहेकाले जग्गाप्राप्तिपछि प्रहरीलाई कार्यालय स्थापना गर्न बाटो खुलेको हो ।

Advertisement

जग्गादानपछि भीमप्रसाद गौचनले सरकारलाई सहयोग पुर्‍याउनु नागरिकको पनि दायित्व रहने भएकाले जग्गादान गरेको बताए । ‘प्रहरी चौकीले शान्ति सुरक्षा व्यवस्थित गर्ने र समाजलाई सुरक्षा प्रदान गर्ने भएकाले घरदैलोको चौकीलाई जग्गा दिएको हु,’ भीमप्रसादले भने ।

कार्यक्रममा थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, सुरक्षाकर्मी, नेपाली सेना, मालपोत कार्यालय लगायत अन्य सरोकारवालाको सहभागिता थियो । मुस्ताङका दर्जनौं प्रहरी चौकी अझै भाडामा बस्दै आइरहेका छन् । मुस्ताङमा प्रहरीको २ सय ५० दरबन्दी छ ।

तपाईको प्रतिक्रिया